Shikhar Insurance
National Life

कैलालीका स्वास्थ्यकर्मी चार महिनादेखि तलबविहीन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २२, मंगलवार ११:५१
Hyundai
NCELL
NIMB

भजनी । कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएको र त्यसपछिको तलब नपाएको भन्दै गुनासो पोखेका हुन् ।

तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरुको भनाइ छ । गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी प्रमोद कठरियाले भने,“आएको तलबभत्ताबाटै घर खर्चदेखि बालबालिकाको विद्यालयको शुल्कलगायत आधारभूत खर्चको जोहो गर्नुपर्ने बाध्यता छ । त्यो भन्दा अरु आयस्रोत हामीसँग छैन । समयमा पैसा नआएपछि जनजीवन चलाउन समस्या हुन थालेको छ । घर–व्यवहार चलाउन मुस्किल हुँदै गएको छ भने बैंकको ब्याज तिर्न सकिएको छैन ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाउँदै आएको तलबभत्ता गाउँपालिकाले बजेटको अभाव देखाउँदै रोकिदिएको छ । सङ्घीय सरकारबाट आर्थिक वर्षको सुरुमै आउनुपर्ने पर्याप्त बजेट नआएपछि समस्या भएको गाउँपालिकाले जनाएको छ । सङ्घीय तहबाट आउनुपर्ने बजेट समयमा आउन नसकेका कारण समस्या देखिएको गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले जानकारी दिए । “गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका लागि वार्षिक ३ करोडभन्दा बढी बजेट चाहिन्छ । यस वर्ष १ करोड १४ लाख बजेटमात्रै आएको हुँदा त्यस बजेटले असोजसम्मलाई भयो । अन्य शीर्षकबाट पनि खर्च गर्न नपाइने भएपछि कार्यरत स्वास्थ्यकर्मीको चार महिनाको तलब रकम भुक्तानी गर्न सकिएको छैन ।” माझीले भने ।

हाल गाउँपालिकामा सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका ४९ स्वास्थ्यकर्मी कार्यरत छन् । स्थानीय तहले करार तथा ज्यालादारीमा व्यवस्थापन गरिएका अन्य कर्मचारीले भने नियमित तलबभत्ता पाइरहेका छन् । “मन्त्रालयबाट तलबभत्ता शीर्षकमा आएको रकम तीन महिनामा सकिएपछि बाँकी आउने रकम समयमा नआउँदा समस्या आएको हो ।” स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए । गाउँपालिकाले पटक–पटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई स्वास्थ्यकर्मीको तलबभत्ताका लागि लिखित तथा मौखिक आग्रह गर्दै आएको गाउँपालिकाका अध्यक्ष गणेश चौधरी बताए । “हामीले हाम्रो तर्फबाट गर्ने प्रयास गरिरहेका छौँ । मन्त्रालयले जतिसक्दो चाँडो कर्मचारीको तलबभत्ता व्यवस्थापन गरोस् भन्ने हो”, उनले भने ।

गत वर्ष यस्तै समस्या भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा पनि देखिएको थियो । सङ्घबाट समायोजन भएर स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको तलबभत्ता नआएपछि स्वास्थ्यकर्मीले आन्दोलन नै गर्नुपरेको थियो । स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि केही महिनाको तलबभत्ता स्थानीय तहले आन्तरिक स्रोतबाट व्यवस्थापन गरेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्