काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताएका छन् । उनले माओवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पारेका हुन् ।
सहिद सप्ताहअन्तर्गत सहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ प्रधानमन्त्री दाहालले माओवादीको आफ्नै गतिशील पहिचान रहेको स्पष्ट पारेका छन् ।
साँचो कुरा हो, माओवादी सिद्धान्त र विचारका दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन, गड्गडाउँदो नदीजस्तो बग्छ, प्रधानमन्त्री दाहालले भने निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । निरन्तरतामा क्रमभङ्ग गर्दै नयाँ परिस्थिति सिर्जना गर्दै अगाडि बढ्ने शक्ति हो ।
सहिद सप्ताहको अन्तिम दिन अर्थात् सुखानीमा सहादात भएको दिन निरन्तरतामा क्रमभङ्ग भएको उल्लेख गर्दै प्रधामन्त्री दाहालले भने माओवादी नेपाली जनताको घोडा हो, अरु कसैको घोडा होइन । आजको दिनमा जे कुरा भएको त्यो सानो कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो परिवर्तनलाई राम्रोसँग बुझ्नुपर्ने बताए ।
उनले भने सबै क्रान्तिकारी एकताबद्ध हुनुपर्ने आवश्यकता छ, खिइँदै, सुक्दै जानु भएन, यो हुँदैन । प्रक्रियावादीले आफूलाई घेरा हाल्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निरन्तर परिवर्तनका पक्षमा लाग्ने स्पष्ट पारेका हुन् ।
सहिद सप्ताहको अन्तिम दिन सबैले एकताबद्ध हुने अठोट गर्नुपर्नेमा जोड दिँदै उनले भने क्रान्तिकारीले ठूला कुरा गर्नेभन्दा सबै एक ठाउँमा हुने बाटो खोजौँ, त्यो वैज्ञानिक हुन्छ, त्यो क्रान्तिकारी हुन्छ । आफूले समाजवादी मोर्चामात्र नभएर बृहत्तर कम्युनिष्ट एकताको पहल गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सहिदका सपना पूरा गर्नका लागि दुष्मनका घेराबन्दी तोड्दै अगाडि बढ्ने अठोट व्यक्त गरे ।
क्रान्तिको बाटो सोझो नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने मानिस दुई खुट्टाले हिँड्नुपर्छ, कहिले दायाँ र कहिले बायाँ खुट्टा अगाडि जान्छ, माक्र्सवाद भनेको गन्तव्यमा पुग्नका लागि दुई खुट्टाले हिँड्नुपर्छ । नेपालले वैज्ञानिक र सन्तुलित भू–राजनीतिक परराष्ट्र नीति अपनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले दाहालले त्यसका लागि ध्यान दिनुपर्ने बताए । उनले राष्ट्र र जनताप्रति आफू जिम्मेवार भएर अगाडि बढ्ने स्पष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्