भरतपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका हुन् ।
नेपालको नीति तीनखम्बे अर्थनीति भएकाले पर्यटन प्रवर्द्धनमा सङ्घ, प्रदेश, स्थानीय तहका साथै सरोकारवाला निकायको एकआपसमा सहकार्य आवश्यक रहेको सभापति देउवाले बताए । कोरोनाका कारण नेपालको अर्थतन्त्रमा परेको असर पर्यटन क्षेत्रको चलायमान अवस्थाले परिपूर्ति गर्दै जाने उनको भनाइ रहेको छ ।
“भरतपुर भ्रमण वर्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारसँगै पर्यटक वृद्धि गरी मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउनेछ”, सभापति देउवाले भने । उनले गठबन्धनको सरकारले निरन्तरता पाउने भन्दै वर्तमान सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने बताएका छन् ।
सभापति देउवाले भरतपुर देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको भन्दै महानगरपालिकामा पर्यटकीय विकासका लागि प्रयाप्त पूर्वाधार रहेको बताए । “जैविक विविधता, पर्या–पर्यटन, वन्यजन्तुसम्बन्धी खेल, स्वास्थ्य, कृषि, पर्यटनको विकासलगायत विषयले भरतपर मुलुकको प्रमुख आर्थिक केन्द्रका रुपमा स्थापित भएको छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस्