Shikhar Insurance
National Life

अन्तिम परीक्षाअघि नै विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै भक्तपुरका निजी विद्यालय

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार १४:३७
Hyundai
NCELL
NIMB

भक्तपुर । सरकारले वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ । चैतमा कक्षागत अन्तिम परीक्षा र त्यसको नतिजा सार्वजनिक गरेपछि बल्ल वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर नयाँ भर्ना गर्नुपर्ने हो ।

सरकारले हरेक वर्ष वैशाख १ देखि नै सरकारी र निजी विद्यालयका लागि विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि आह्वान गर्दैछ । विद्यालयले अन्तिम परीक्षाको अन्तिम नतिजा सार्वजनिक नगरेसम्म विद्यार्थी भर्ना गर्न पाइँदैन । यहाँका निजी विद्यालयले भने सो अन्तिम परीक्षा सञ्चालन हुनु एक महिनाअगाडि नै विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मध्यपुरथिमि नगरपालिका–२ सानोठिमी जातिगालस्थित मातृभूमि माध्यमिक विद्यालयले कक्षा नर्सरीदेखि कक्षा ८ सम्म भर्ना खोलेको छ । सीमित सिटमा केही दिनका लागि भन्दै विद्यालयको पेज, सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट विद्यार्थी भर्नाका लागि आह्वान गरेको छ । विद्यार्थीसँग चर्को शुल्क असुल्ने गरेको भन्दै विवादमा पर्दै आएको यो विद्यालयले फागुन १० गतेदेखि नै भर्ना खुल्ला गरेको छ । आलोक विद्याश्रम काठमाडौंदेखि भक्तपुर, ललितपुर र काठमाडौंका सयौँ संस्थागत विद्यालयले यतिखेर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका छन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले फागुनमै विद्यार्थी भर्ना गरेर गलत गरेको बताए । उनले सङ्घीयताको मर्मअनुसार शिक्षाको सम्पूर्ण जिम्मेवारी विद्यालय दर्ता गर्ने, व्यवस्थापन गर्ने, कक्षा सञ्चालन अनुमति दिने, अनुगमन गर्नेदेखि कारबाही गर्नेसम्मको अधिकार स्थानीय सरकारलाई दिएकाले स्थानीय सरकार सक्रिय हुनुपर्ने बताए । प्रवक्ता सापकोटाले भने,“शिक्षाका सबै विषय स्थानीय सरकारको अधिकारभित्र पर्छ, त्यसको नियमन स्थानीय सरकारले गर्नुपर्ने हो । चैत त नियमित र जिल्लास्तरीय पुराना कक्षाको परीक्षा सञ्चालन र नतिजा प्रकाशनमै बित्छ । परीक्षाको नतिजा नआई नयाँ भर्ना लिन पाइँदैन । यसमा स्थानीय तहले कडाइ गर्नुप¥यो अन्यथा सङ्घीय सरकार बाध्य भएर अगाडि बढ्नुपर्ने हुन्छ ।”

निजी तथा आवासीय माध्यमिक विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले सरस्वती पूजादेखि विद्यालयहरुले विद्यार्थी भर्ना अभियान सुरु गरेको बताए । उनले भने, “सरस्वती पूजादेखि कक्षा प्ले ग्रुप, नर्सरीदेखि कक्षा १ सम्म विद्यार्थी भर्ना लिनु सामान्य हो तर कक्षा २ देखि भर्ना लिनु चाहिँ गलत हो । केही विद्यालयले अहिले नै नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुल्ला गरेको पाइएको छ । त्यसो नगर्न हामी तत्कालै प्याब्सनबाट आधिकारिक रुपमा पत्राचार तथा आह्वान गर्छौं ।”

एन प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले केही ठूला र नाम चलेका विद्यालयले जथाभावी रुपमा नियम विपरीत फागुन पहिलो सातादेखि नै माथिल्लो कक्षामा विद्यार्थी भर्नाको आह्वान गरेको बताए । उनले आफ्ना मातहतका विद्यालयलाई त्यसो नगर्न भनेको बताउँदै स्थानीयदेखि केन्द्रीय सरकारसम्मले यस्ता विषयमा ध्यान दिन नसकेको जिकिर गरे । एनप्याब्सन अध्यक्ष खड्काले भने, “केही नाम चलेका र ठूला भनिने विद्यालयले जे गरे पनि सरकारले देख्दैन । उनीहरुले परीक्षा सञ्चालन नहुदै माथिल्लो कक्षामा भर्ना खोल्न थालिसके । मनोमानी चर्को शुल्क निर्धारण गरिसके तर हाम्राजस्ता साना विद्यालयमाथि भने शुल्कदेखि हरेक कार्यमा सरकार अङ्कुश लगाउन खोज्छ । सरकार नै विभेद गर्छ ।”

अभिभावक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले सरकार मौन बस्दा जे गरे पनि हुन्छ भन्ने मान्यता संस्थागत विद्यालय सञ्चालकहरुलाई पर्दा मनोमानी बढेको बताए । उनले भने, “कक्षा ९ सम्म विद्यार्थी भर्ना खुलेको पोष्टर, ब्यानर र विज्ञापनहरु जताततै देखिन थालेका छन् । परीक्षा नसकिँदै नतिजा नआउँदै विद्यार्थी भर्ना गर्ने अधिकार उनीहरुलाई कसले दियो ? विद्यार्थी भर्नाको सरकारी शैक्षिक तालिका उल्लङ्घन गर्दा सरकार किन मौन छ ? अधिकारप्राप्त स्थानीय तह किन नियमन गर्दैन ? सरकारी निकायका कमजोरीको मारमा अभिभावक र विद्यार्थी पर्नु परेको छ ।”

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्