काठमाडौं । पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्न गिरोह सक्रिय रहेको पाइएको छ । गत १ महिनाको अवधिमा मात्र प्रहरीले करिव २ हजार किलो गाँजा बरामद गरेपछि गाँजा ओसारपसारमा ठूलो गिरोह रहेको निष्कर्षमा प्रहरी पुगेको हो ।
ओसारपसार, बेचबिखन र प्रयोगमा पूर्ण रूपमा प्रतिवन्ध लगाइएको गाँजा धनकुटा, उदयपुर, तेह्रथुम, भोजपुर लगायतका जिल्लामा उत्पादन गरी भारत पु¥याउने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पहाडी क्षेत्रमा उत्पादन भएको गाँजा एम्बुलेन्स तथा तरकारी बोक्ने सवारीमार्फत ओसारपसार गरी भारततर्फ पु¥याउने गिरोह पछिल्लो सयम सक्रिय रहेको प्रहरीको भनाइ रहेको छ ।
पूर्वी पहाडी जिल्लामा गाँजाको खेती नै गरेर सेवनका लागि तयारी भएको गाँजा सीमावर्ती क्षेत्रसम्म आइपुग्दा सुरक्षा निकायको भुमिकामाथि नै प्रश्न उठ्ने गरेको छ । तर प्रहरी भने वर्षेनी गाँजा खेती फँडानी गर्ने, उत्पादन तथा ओसारपसार गर्ने गिरोहको सञ्जाल भत्काउने अभियानमा सक्रिय रहेको दाबी गर्छ । लागुऔषध दुव्र्यसनलाई निरुत्साहन गर्न विभिन्न सचेतनामुलक अभियान सञ्चालन गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार गत माघ महिनायता एक हजार ९ सय १९ किलो गाँजा बरामद गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यो प्रदेशमा ५ हजार ८ सय १५ किलो गाँजा बरामद भएको थियो । प्रहरीले गाँजालगायत लागुऔषध सहित चालु आर्थिक वर्षको माघसम्ममा ७५८ जनालाई पक्राउ गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रहरीले १ हजार १ सय ५१ जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको थियो ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्