नारायणगढ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा फार्मेसी सेवालाई व्यवस्थित बनाइएको छ । अस्पतालमा औषधि पाइएन भन्ने बिरामी तथा सेवाग्राहीको गुनासो बढेपछि फार्मेसी सेवालाई व्यवस्थित बनाइएको हो ।
फार्मेसी सेवालाई व्यवस्थित गर्न क्यान्सर उपचारमा अत्यावश्यक मानिएको किमो (क्यान्सर कोषलाई नष्ट गर्न प्रयोग गरिने औषधि) लगायत विभिन्न छ सयभन्दा बढी औषधिसहित थप फार्मेसी सञ्चालनको तयारीमा अस्पताल रहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार हाल अस्पतालभित्र दुई ठाउँबाट फार्मेसी सेवा दिइँदै आइएको छ । उनले ‘डे कियर’ बिरामीका लागि थप फार्मेसी सञ्चालनको तयारी भइरहेको जानकारी दिए ।
“डे कियरमा दैनिक किमोथेरापी गर्नका लागि मात्रै एक सयभन्दा बढी बिरामी आउनुहुन्छ । उहाँहरुको उपचार सहज गर्नका लागि किमोथेरापी गर्ने स्थानमा नै फार्मेसी सञ्चालन गर्न सकियो भने बिरामीलाई थप सुविधा हुन्छ” पौडेलले बताए । जनशक्तिको अभावलाई पूर्ति गरेर छिट्टै थप फार्मेसी सञ्चालन गरिने पौडेलले बताए । उनले भने, “अस्पतालको गुनासो पेटीकामा हेर्दैगर्दा बिरामीका विभिन्न समस्यामध्ये औषधि पाइएन भन्ने गुनासो धेरै थियो । फार्मेसीमा औषधिको अभाव हुन दिएका छैनौँ ।”
आवश्यक किमोथेरापीका सम्पूर्ण औषधि, जनरल औषधि, एन्टिबायोटिक, दुखाइ कम गर्ने र सर्जिकल सामग्रीसहितका करिब छ सय भन्दाबढी औषधि फार्मेसीमा हाल उपलब्ध रहेका रहेको पौडेलले जानकारी दिए । उनका अनुसार अस्पतालमा सर्जिकल अङकोलोजी, मेडिकल कङकोलोजी, रेडियसन अङकोलोजी, प्याथोलोजी, रेडियोडायग्नोसिस, इमेजिङ, न्युक्लियर मेडिसिन, एनेस्थेसियोलोजी, प्यालिएटिभलगायत सेवा उपलब्ध छन् ।
प्रतिक्रिया दिनुहोस्