सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले वडा नं ११ बजार क्षेत्रमा सडक पेटी मिचेर बनाइएका संरचना तथा सामग्री हटाउन सुरु गरेको छ । नगरपालिकाले डोजर तथा जनशक्तिको सहायताले सडकपेटी मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको हो ।
पैँतिस दिने सूचना जारी गरेर हटाउन भनिएपनि नहटाएपछि डोजर लगाएर हटाइएको नगरपालिकाका इञ्जिनियर जीतबहादुर कार्कीले जानकारी दिए । मेलम्ची बजारमा एक सय भन्दाबढी घरले सडकपेटी अतिक्रमण गरी संरचना बनाएपछि ती संरचना हटाउन नगरपालिकाले सूचना जारी गरेको नगरप्रमुख आइतमान तामाङले बताए । बजारलाई व्यवस्थित बनाउनका लागि मेलम्ची–११ का वडध्यक्ष चन्द्रबहादुर तामाङको अध्यक्षतामा बजार व्यवस्थापन समिति बनाइएको थियो । सोही समितिको निर्णय अनुसार ३५ दिने सूचना नगरपालिकाले जारी गरेको थियो ।
सूचनाको बेवास्ता गरी नहटाइएका एक दर्जनबढी संरचनामाथि नगरपालिकाले डोजर चलाएको इञ्जिनियर कार्कीले बताए । मेलम्ची बजार क्षेत्रको मात्र नभइ तालामाराङ, बाहुनेपाटी, दुवाचौर, भोटेचौरलगायत क्षेत्रको पनि उचित व्यवस्थापन हुनुपर्ने व्यवसायी रामकृष्ण चालिसेले बताए । नगरपालिकाको उक्त अभियानमा नगर उद्योग वाणिज्य सङ्घले पूर्ण समर्थन जनाएको सङ्घका महासचिव ताराबहादुर बानियाँले जानकारी दिए । संरचना भत्काउने मात्रै नभइ उचित व्यवस्थापन समेत गर्नुपर्ने उनको माग छ । अतिक्रमित संरचना हटाउँदा सडक फराकिलो हुनुका साथै बजार सुन्दर देखिएको स्थानीयले बताएका छन् । मेलम्ची क्षेत्रमा पार्किङको समस्या रहेको भन्दै यसको उचित व्यवस्थापन हुनुपर्ने स्थानीय विष्णुप्रसाद दुलालले बताए ।
प्रतिक्रिया दिनुहोस्