Shikhar Insurance
National Life

शैक्षिक क्यालेण्डर बनाइ कार्यान्वयन गर्छु : त्रिवि उपकुलपति बराल

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ११, शुक्रबार १४:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताएका छन् । विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएपछि  कुरा गर्दै उनले भने  विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो । यो मेरो पहिलो प्राथमिकतामा हुनेछ ।”

उनले त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था भएको र यसको सुधारका असङ्ख्य काम भएको भन्दै समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि पनि आफूले काम गर्नेसमेत उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विश्वविद्यालयले परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्नु निकै आवश्यक छ उनले भने,यसका अलवा विश्वविद्यालयको पाठयक्रम अद्यावधिक पनि मेरो प्राथमिकतामा हुनेछ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा नियुक्त गरेका थिए । नवनियुक्त उपकुलपति प्रा डा बरालले आज नियुक्तिपत्र बुझेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले आजै कीर्तिपुरस्थित कार्यालय पुगी पदबहाली गर्ने कार्यक्रम छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री दाहालले अध्ययन गरेका थिए । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहालसमक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो ।

उनलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्री दाहालले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उनको ‘करिअर’का विषयमा जानकारीसमेत लिएका थिए । उपकुलपति पदका लागि दर्खास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्