Shikhar Insurance
National Life

लुम्बिनीको फोहर व्यवस्थापनमा जोड

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ११, शुक्रबार १२:४२
Hyundai
NCELL
NIMB

लुम्बिनी । बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहरको समस्या निकै जटिल बन्दै गएको छ । बुद्ध जन्मस्थल तथा अन्तराष्ट्रिय पर्यटकीय नगरी लुम्बिनीमा जथाभावी फालिएका फोहरको थुप्रो हप्तौँसम्म पनि नउठ्दा यहाँ भ्रमण गर्न आउने पर्यटकमा नकारात्मक प्रभाव परेको छ ।

सडेगलेका वस्तुमात्र नभई नसडेका र त्यही स्वरुपमा काम नलाग्ने अन्य वस्तुहरु जताततै अव्यवस्थित रुपमा फालिएकाले जनस्वास्थ्य, पर्यावरण र सौन्दर्यमा असर परेको छ । बुद्ध दर्शनका लागि लुम्बिनी पुगेका भारतीय पर्यटक सञ्जय कुमारले भने, लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिरको पूर्वी बगैंचा र मुख्य प्रवेशद्वारमा फोहरको दुर्गन्ध सहीसक्नु छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लुम्बिनीलाई सफा र स्वच्छ राख्न स्थानीयसँगै लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष, विश्व वन्यजन्तु कोष, युनेस्को, एडिबी र विश्व बैंकलगायतका सङ्घसंस्था लामो समयदेखि कार्यरत रहे पनि फोहरको ब्यवस्थापन हुन सकेको छैन । नागरिक सहकार्य मञ्च लुम्बिनीका अध्यक्ष अब्दुल जुबेर भन्नुहुन्छ, त्यहाँ फोहर सङ्कलन, ढुवानी, विसर्जन र व्यवस्थापनका लागि विद्यमान प्रणाली नै अव्यवस्थित छ ।

अहिले लुम्बिनीको प्रवेशद्वार तथा मुख्य बजार र बस्ती छेउमा जताततै फोहर फ्याकिएका छन् । फोहर नपुरेकाले दुर्गन्ध फैलिएको छ । घरको फोहर घरमै तह लगाउन सके फोहरको सकस कम हुने पर्यटन व्यवसायी वीरेन्द्र मिश्रले बताए । वातावरणमैत्री विकासको जिम्मेवारी नागरिकको पनि हुन्छ उनले भने नागरिक आफैँले फोहर व्यवस्थापन गर्नुको विकल्प छैन । वातावरणमैत्री ऐन, कानुन र नियमहरूले फोहरमैलाको प्रभावकारी व्यवस्थापनमा स्थानीय जिम्मेवारीलाई जोड दिँदै आवश्यक पूर्वाधार निर्माण र सञ्चालन गर्न सामूहिक प्रयासमा जोड दिएको छ ।

सर्वसाधारणमा चेतनाको कमी र कमजोर कार्यान्वयनका कारण सोचे अनुसारको उद्देश्य हासिल हुन नसकेको सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय संजाल नेपालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीको भनाइ रहेको छ । फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन फोहरको प्रभाव, पर्यावरण संरक्षण, र स्वच्छताको महत्व बुझाउनका लागि प्रशिक्षण र जागरूकता गराउन आवश्यक भएको अध्यक्ष कुर्मीको भनाइ छ । सामुदायिक सङ्गठन, अनुसन्धानमूलक सङ्घ–संस्थाहरू र सरकार समेत मिलेर सामुदायिक सहभागितामा फोहरमैलाको प्रभावकारी व्यवस्थापन र उपयोगका लागि काम गरेमा त्यसले पर्यावरण, स्वास्थ्य र समृद्धिमा अभिवृद्धि गर्नपर्नेमा उनको जोड गरे ।

फोहर सङ्कलनमा मात्रै केन्द्रित हुँदा लुम्बिनीमा फोहरको विर्सजन चुनौतीपूर्ण बनेको बताउनुहुन्छ, वातावरणका जानकार डा.सतीश उपाध्याय । उनका अनुसार फोहर सङ्कलनमा बढी केन्द्रित हुने तर त्यसलाई राम्रोसँग तह लगाउनेबारे अध्ययन र नीतिगत निर्णय नहुँदा यसको समस्या लुम्बिनीमा मात्र होइन, नेपालभरि देखिएको छ । सहरको फोहर तेलार नदी र सडक किनारको जङ्गलमा फाल्ने गरेकाले त्यसले पर्यावरणमा असर पारेको छ । नदी र जङ्गलको बीचमा फोहर फालेर समस्याको दिगो समाधान हुँदैन” उनले भने, ‘‘जबसम्म उपभोक्तालाई फोहरमा मोहोर छ भन्ने बुझाउन सकिँदैन, तबसम्म यो समस्या चुनौतीपूर्ण रहिरहन्छ ।

समान्यतया घरेलु फोहरमैला, व्यावसायिक फोहरमैला, कृषिजन्य फोहरमैला र निर्माणजन्य फोहरमैला हुन्छन् । यी फोहरलाई जैविक फोहर (खाना र भान्साको फोहर), निष्क्रिय र गैर जैविक फोहर (निर्माण र भत्काउने फोहर) र पुनः प्रयोग गर्न मिल्ने फोहर (प्लाष्टिक, कागज, बोतल, गिलास आदि) गरी तीन भागमा बाँड्न सकिन्छ ।

फोहरको विकल्प दिदै डा.उपाध्याय भन्नुहुन्छ, ‘माटाका भाँडा, नरिवल, पुरैनी र केराको पातहरु प्रयोग गर्नु प्लाष्टिकको लागि उत्तम विकल्प मानिन्छ । यसले स्थानीयलाई रोजगारीको अवसर समेत प्राप्त हुन्छ । कतिपय रेस्टुरेन्टहरूमा माटाको भाँडामा चिया र टपरीमा खाना दिने गरिएको छ । केहीले माटोबाटै बनाइएका सजावट सामाग्रीको प्रयोग गरेका छन् । यस्ता व्यवसायीहरूलाई सरकारले प्रोत्साहित गर्नुपर्ने उनको सुझव रहेको छ ।

डा.उपाध्याय भने, नेपालका सिमेन्ट उद्योग तथा हरेक सपिङ्ग सेन्टरहरूलाई प्लास्टिकको झोला र बोराको सट्टामा नेपालमै बनेको जुटको झोला र बोराहरू मात्र प्रयोग गर्नुपर्ने नियम बनाएर दशकौंदेखि बन्द भएको उद्योगलाई पुनर्जीवन दिन सकिन्छ । फोहरबाट विभिन्न वस्तुहरु निर्माण गर्न, ऊर्जामा उत्पादन गर्न र प्राङ्गारिक मल उत्पादन गरी आर्थिक समृद्धि गर्न सकिने उनको भनाइ रहेको छ ।

लुम्बिनीमा फोहर व्यवस्थापनका लागि सरसफाइ अध्ययन केन्द्र तथा हरित पार्क निर्माणको प्रक्रियामा छ । नगरपालिकाले पाँच जना सफाइकर्मीबाट दैनिक सरसफाइको कार्य गरिरहेको र ‘ग्रीन लुम्बिनी, क्लीन लुम्बिनी’ भन्ने अभियान लिएर प्रत्येक सोमबारलाई ‘ग्रीन डे, क्लीन डे’का रुपमा नियमित सरसफाइ अभियान सञ्चालन गरेको छ ।

नगरपालिकाका सरसफाइ संयोजक शेषराम यादवका अनुसार लुम्बिनीमा उत्पादित फोहर ढुवानीका लागि एउटा टिप्पर तथा’ डोर टु डोर‘ फोहर सङ्कलनका लागि दुईवटा विद्युतीय रिक्साको व्यवस्था छ । यहाँ फोहर ढुवानीका लागि यसै आर्थिक।वर्षमा एउटा टेक्टर पनि खरिद गर्ने नगरपालिकाको योजना रहेको यादवको भनाइ छ । नगरपालिकाको सरसफाई शाखाका अनुसार लुम्बिनीमा प्रतिदिन २० देखि २५ क्विन्टल बढी फोहर उत्पादन हुने गरेको छ । त्यहाँ ८० बढी होटेल तथा रेष्टुरेन्ट, एक हजार बढी थोक तथा खुद्रा पसल र वर्षेनी १० लाख पर्यटकका चापका कारण फोहर व्यवस्थापनमा समस्या आएको उनको भनाइ रहेको छ ।

नगरपालिकाले सरसफाइ र फोहर व्यवस्थापनका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा ११ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ भने अघिल्लो आवमा ८० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा लुम्बिनीमा सरसफाई अध्ययन केन्द्र तथा हरित पार्क निर्माण गर्ने सम्झौता भएको छ । सो निर्माण परियोजना सम्पन्न गर्न लुम्बिनी सांस्कृतिक नगरपालिकाले पहिलो चरणको निर्माण कार्यका लागि २ करोड रुपैयाँ छुट्याएको सरसफाइ शाखा संयोजक यादवको भनाइ छ ।

वडा नं.५ मा निर्माणाधीन अध्ययन केन्द्रमा कुहिने र नहुकिने फोहर छुट्याएर त्यसको व्यवस्थापन गर्ने नगर प्रमुख सजरुद्दीन मुसलमानको योजना छ । यसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको भन्दै फोहरलाई स्थायीरूपमा तह लगाउन र त्यसबाट स्थानीयलाई लाभ पु¥याउने गरी काम भइरहेको उनको भनाइ रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्