काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताएका छन् ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै उनले दुई तिहाईको पार्टी फोडेकोमा पश्चताप नगर्ने, माधव नेपाललक्षित पार्टी कमजोर बनाएकोमा, दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चताप नगर्नेहरुलाई एमालेमा प्रवेश नगराउने बताए । उनले अहिले पार्टी प्रवेशको लहर तिब्र गतिमा बढिरहेको जिकिर गरे ।
उनले भने, ‘कुनै हिसावले कुनै समयमा गल्ती भयो भने त्यसमा महशुस गरेर अघि बढ्ने हो । कतिपय तत्वहरुसँग हाम्रो एकता हुँदैन र उनीहरुले प्रवेश पाउँदैनन् । किनभने उनीहरुलाई दुई तिहाईको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन । गल्ती महशुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ । अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, तिब्रताका साथ रहेको छ ।’
पार्टी प्रवेश गर्नेहरुमा पूर्व प्रदेशसभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुसवाहा, आम जनता पार्टीका केन्द्रिय सदस्य अरविन्दकुमार यादव, केन्द्रिय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी लगायतका नेताहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्