Shikhar Insurance
National Life

घरेलु मदिरालाई वैध बनाउँन गण्डकी सरकारले थाल्यो कानुन निर्माण प्रक्रिया

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १०, बिहीबार १६:३९
Hyundai
NCELL
NIMB

गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई वैध बनाउँन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया थालेको छ । सो सम्बन्धी विधेयकको मस्यौदालाई प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा पेस गर्ने प्रदेश सरकारको तयारी छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दिनेशप्रकाश अर्यालले घरेलु मदिराको ‘ब्रान्डिङ’का लागि कानुन ल्याउन लागिएको बताए । अर्यालले भने, “विधेयक प्रस्तावका लागि आर्थिक मामिला मन्त्रालयले स्वीकृत दिइसकेको छ । कानुन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सैद्धान्तिक सहमति आएपछि मस्यौदाको काम अगाडि बढ्छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

मापदण्ड र गुणस्तर तय गरेर घरेलु मदिराको व्यावसायिक उत्पादनलाई खुला गर्न कानुनी प्रबन्ध गर्न लागिएको प्रवक्ता अर्यालले बताए । सङ्घीय कानुनसँग नबाझिने गरी विधेयक ल्याउन आर्थिक मामिला मन्त्रालयले स्वीकृति प्रदान गरेको उनको भनाइ छ । “घरेलु मदिरालाई वैधानिकता दिने विषय प्रदेश सरकारको प्राथमिकतामा छ । उद्योगका रूपमा लैजाने कि र घरघरै बनाउन अनुमति दिने भन्नेमा अझै मतैक्य भने हुनसकेको छैन, मुख्यमन्त्री र मन्त्री सबैतिर खुला गर्ने सोचमा हुनुहुन्छ, कतिपयको उद्योग खोलेर व्यवस्थित गर्नुपर्ने धारणा छ ।” उनले जानकारी दिए ।

परम्परागत रूपमा घरघरमा बनाइँदै आएको मदिरालाई एकसाथ वैध घोषणा गर्दा गुणस्तर सुनिश्चितताको समस्या आउन सक्ने उनको भनाइ छ । प्रदेश सरकारले घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणलाई आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पनि समेटेको छ । मुख्यमन्त्रीलगायत विभागीय मन्त्रीले पटकपटक घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरेर कानुनी मान्यता दिने बताउँदै आएको छ । पछिल्लो समय प्रदेश र स्थानीय तहले घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने आवाज उठाउँदै आएका छन् ।

सर्वोच्च अदालतले केही वर्षअघि संस्कारजन्य कार्यका लागि एक परिवारले वर्षमा ३० लिटरसम्म उत्पादन गर्न पाउने फैसला गरे पनि व्यावसायिक उत्पादन र बिक्री वितरणका लागि घरेलु मदिरा बर्जित छ । मदिरा ऐन, २०३१ ले पनि घरेलु मदिरालाई वैधानिक मान्यता दिएको छैन । सोही ऐनमा टेकेर प्रहरीले बेलाबेला घरेलु मदिरा नष्ट गर्ने अभियान नै चलाउँछ । जनजाति समुदायको संस्कृतिसँग गाँसिएको र कतिपयको आयआर्जनको माध्यम बनेको घरेलु मदिरा जफत गरेको भन्दै प्रहरीकै आलोचना हुने गर्छ ।

वैज्ञानिक विधिबाट गुणस्तरीय घरेलु मदिरा उत्पादन र बजारीकरण गर्न सके राज्यलाई ठूलो आर्थिक लाभ मिल्ने गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटाले बताए । विश्वविद्यालयले गरेको घरेलु मदिरा बनाउँन प्रयोग हुने मर्चाको गुणस्तर निर्धारण अनुसन्धान सफल भएको उनको भनाइ छ । प्रदेशका ११ वटै जिल्लाबाट रक्सी बनाउने विधिको अध्ययनसहित मर्चा सङ्कलन गरेर रासायनिक विश्लेषण गरिएको उपकुलपति प्रा डा देवकोटाले बताए । मर्चाको मापदण्ड र गुणस्तर कायम गरेर घरेलु मदिरालाई सुरक्षित बनाउँन सकिने आधार अनुसन्धानबाट देखिएको उनको भनाइ छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्