म्याग्दी । मुस्ताङका किसानले चिस्यान केन्द्रमा भण्डारण गरेर बेसिजन पनि स्याउ बेच्न थालेका छन् । स्याउको याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न बेसिजनमा बिक्रीका लागि चिस्यान केन्द्र बनाएर स्याउ भण्डारण गरेका थिए ।
चिस्यान केन्द्रमा भण्डारण गर्ने सुविधा भएपछि लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति व्यहोर्नुपर्ने समस्या हटेको किसानहरूले बताएका छन् । घरपझोङ गाउँपालिका–२ मार्फाका विश्व लालचनले बेसिजनमा बिक्री गर्न ८ हजार किलो स्याउ चिस्यान केन्द्रमा भण्डारण गरेको बताए । “असोज–कात्तिकमा व्यापारीले जति भन्यो त्यति मूल्यमा स्याउ बेच्नुपर्छ”, किसान लालचनले भने, “चिस्यान केन्द्रमा कात्तिकमा राखेको स्याउ बेसिजनमा बिक्री गर्न थालेका छौँ ।”
“गुणस्तर, आकार र तौलमा कुनै फरक छैन”, चिसो घटेर मुस्ताङमा पर्यटक आगमन हुन थालेसँगै स्याउ बेच्न थालिएको हो । केही वर्षअघिसम्म चिस्यान केन्द्रको सुविधा नहुँदा मुस्ताङका किसानले घरको कोठा, चिसो ठाउँमा स्याउ भण्डारण गर्दै आएका थिए । त्यसरी राख्दा तापक्रम नमिलेर कुहिने गरेको थियो । बिक्री नहुने स्याउ घोडा, खच्चर, गाईगोरुलाई खुवाउने गरेका थिए । चिस्यान केन्द्रमा भण्डारणको सुविधा भएपछि किसानले भनेको मूल्य र बजार दुवै पाउन सहज भएको मार्फाका किसान राजु लालचनले बताए ।
“पहिले बोटबाट टिपेको स्याउ आफ्नै तरिकाले भण्डारण गरेर राख्दा ७० प्रतिशतभन्दा बढी कुहिएर फाल्नुपर्ने समस्या थियो”, उनले भने, “सिजनमा प्रतिकिलो ९० देखि १ सय रुपैयाँ पर्ने स्याउ चिस्यान गृहमा राख्दा बेसिजनमा प्रतिकिलो १ सय ८० देखि दुई सय सम्ममा बिक्री हुने गरेको छ ।”
राजु र विश्वले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन कार्यक्रमको ८५ प्रतिशत अनुदानमा १०–१० मेट्रिक टन क्षमताको चिस्यान गृह बताएका थियो । परियोजनामार्फत मुस्ताङमा पाँचवटा चिस्यान गृह निर्माण भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त प्रमुख नेत्र भट्टले बताए ।
“वातावरण अनुकूल बनाउने उपकरण जडान भएको चिस्यान गृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका छन्”, उनले भने, “मुस्ताङमा प्रभावकारी भएकाले चिस्यान गृहको माग बढी छ ।” उनका अनुसार परियोजनाको सहयोगमा निर्माण भएको चिस्यानगृहमा यसपालि पाँच हजार किलो स्याउ भण्डारण गरेर राखिएको छ ।
मुस्ताङको एक हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा स्याउखेती भएकामा ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । स्याउ जोन मुस्ताङका प्रमुख भट्टले जिल्लाभर ४ हजार ९ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएकोमध्ये ४९ करोड रुपैयाँ मूल्य बराबरको ४ हजार ४ सय ७७.५ मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको बताए । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो ।
म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौं लगायतका सहरका व्यापारी बगैँचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्छन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीका रूपमा स्याउ किनेर लैजाने गर्छन् । मुस्ताङमा ‘रेडडेलिसिएस, रोयल डेलिसिएस, रिचारेड डेलिसिएस र गोल्डेन डेलिसिएस’ जातका स्याउखेती भएको छ ।
सडक यातायातको सुविधासँगै सहज बजार र राम्रो मूल्य पाउन थालेपछि मुस्ताङका किसान स्याउखेतीमा आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङका अनुसार गत वर्षसम्म कुल १ हजार चार सय ७५ हेक्टर जमिनमा स्याउखेती भएको थियो ।
यस वर्ष २० हेक्टर क्षेत्रफलमा स्याउखेती विस्तार भएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र स्थानीय तहको कृषि शाखाले अनुदानमा स्याउका बिरुवा वितरण, सिँचाइ, चिस्यानगृह निर्माणलगायत काममा किसानलाई सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्