फुङ्लिङ । पछिल्लो समयमा ताप्लेजुङमा धुपीपात सङ्कलन क्रमिक रुपमा घट्दै गएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार प्रत्येक वर्ष धुपीपात सङ्कलन घट्दै गएसँगै राजस्व समेत घट्दै गएको हो ।
चालु आर्थिक वर्षमा जिल्लाको राष्ट्रिय वनबाट १७ हजार पाँच सय किलोग्राम धुपीपात सङ्कलन भएको छ । हिमाली क्षेत्रमा पाइने धुपीपात प्रत्येक वर्ष सङ्कलन हुँदै आएको छ। गत वर्ष २२ हजार पाँच सय किलोग्राम धुपीपात सङ्कलन हुँदा ४५ हजार राजस्व जम्मा भएको थियो । आव २०७८/७९ मा ३५ हजार केजी धुपीपात सङ्कलन भएको र सो बापत ७० हजार राजस्व सङ्कलन भएको थियो
पूजापाठमा धुपीपात प्रयोग हुँदै आएको छ । धुपीपातबाट औषधिका लागि प्रयोग हुने तेल निकालेर राम्रो मूल्यमा बिक्री गरिन्छ । समुद्र सतहदेखि २५ मिटरसम्मका राष्ट्रिय वनमा प्रशस्त धुपी पाइने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा धुपीतेल उद्योग अहिले बेवारिसे अवस्थामा छ । दुई वर्षसम्म सञ्चालन भएपछि दर्ता प्रक्रिया पूरा हुन नसकेपछि बन्द गर्नुपरेको त्यसका सञ्चालक पेमा शेर्पाले बताईन् । घुन्सामा उत्पादन भएको धुपीको तेल काठमाडौंमा प्रतिलिटर ३ हजार ५ सयका दरले बिक्री हुने गरेको उनले जानकारी दिईन् ।
राष्ट्रिय वनमा सङ्कलित धुपीपात व्यापारीले प्रतिकिलो ६० का दरले खरिद गर्दै आएको मिक्वाखोला गाउँपालिका–५ का धुपीपात व्यापारी रिङ शेर्पाले बताए । हिमाली क्षेत्रमा पाइने धुपीपात ताप्लेजुङबाट इलामको पशुपतिनगर हुँदै भारत निकासी हुने उनको भनाइ थियो । नेपाल र भारतको नाका पशुपतिनगरमा प्रतिकिलो १ सय ६० का दरले धुपीपात खरिद बिक्री हुने व्यापारी शेर्पाले बताए । उनले भने,“हामीले ताप्लेजुङदेखि इलामको पशुपति नाकाको बजारसम्म पु¥याएर त्यहीँका व्यापारीलाई बिक्री गर्छौं । त्यहाँका व्यापारीले भारतका विभिन्न बजारमा बिक्री गर्छन् ।”
प्रतिक्रिया दिनुहोस्