महोत्तरी । बिहान बेलुकाको घुमफिर होस् या कुनै बजारका काममा, यात्रीलाई ढेसा (घच्चा) लगाउँदै हिँड्ने छाडा पशुले यहाँका सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबैजसो बजार क्षेत्रमा छाडा चौपायाको जगजगी छ । बजारतिर निस्केपछि छाडा पशुलाई छिचोलेर निस्कन हम्मेहम्मे पर्ने सर्वसाधारणको गुनसो छ ।
जलेश्वर–२ की होटल व्यवसायी कमला कोइराला भन्छिन्,“बजारतिर निस्केपछि छाडा पशुले सिङ चलाइदिने हुन् कि भन्ने डर हुन्छ । निर्धक्क भएर बजारमा डुल्न कहिल्यै पाइएन ।” घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितलाई नगर क्षेत्रका चोक, बजारक्षेत्रमा छाडा छोड्दा सर्वसाधारण आजित भएका हुन् । “सडकको माझमै गाईले गजधम्म बसेर बाटो छेकेका हुन्छन्, पेटी वरपर पाठापाठीपछि लगाएर हिँड्ने सुगुँर देखिन्छन् । मान्छेकै लागि चाहिँ बाटो छैन कि भन्ने भान हुन्छ ।” जलेश्वर–८ का रामनन्दन यादवले बताए ।
बजारमा हिँड्दा हिँड्दै गाई वा साँढेले पुच्छर चलाएर मलमूत्र छर्किदा बेरुप भएर घर फर्कन बाध्य हुनुपरेको जलेश्वर–४ की शिवानी राय बताउछिन्,“हिँडदा त्राहीत्राहीजस्तै परिन्छ, छाडा पशुले सिङ चलाएर नहानेको, ढेस्सा नलगाएको र पुच्छर चलाएर मलमूत्र लुगामा नलागेको कुनै दिन नै छैन ।” जलेश्वरका साथै बर्दिवास, गौशाला, रामगोपालपुर, मटिहानी, मनरा र बलवासहित बजारक्षेत्रमा घरपालुवा पशु छाडा छाडेको पाइन्छ । छाडा देखिने पशुमा धेरैजसो गाई र सुँगुर देखिन्छन् । बथानमै देखिने गाईलाई पछ्याउने साढे पनि दर्जनौँ सङ्ख्यामा देखिन्छन् ।
छाडा पशुले दैनिक सहरी र बजार क्षेत्रमा फोहर बढाउनाका साथै ट्राफिक समस्या पनि बढाएका छन् । सबैजसो बजार क्षेत्र र भित्री बस्तीमा पनि फोहरको डुङ्गुरमा सुँगुरले खोस्रेर जताततै दुर्गन्ध बढाएको छ । यसैगरी सुँगुरका कारण त नगर क्षेत्रका बासिन्दा आजित नै भएका छन् । गाई–गोरु, बाख्रापाठा आँगनमै आइपुग्दा लाठो देखाएर धपाउन सकिन्छ तर परम्परादेखि सुँगुर भने छुन नहुने भन्ने केही समुदायका लागि भने साह्रै समस्या भएको छ ।
जलेश्वर–६ की लक्ष्मी मिश्र भन्छिन्,“परापूर्वदेखि नै सुँगुर छोइएन । हामी त आजित भएका छौँ ।” मुस्लिम (इस्लाम) धर्मावलम्बीको बसोबास भएका बस्तीमा छाडा सुँगुरले गर्दा सर्वसाधारणलाई यस्तो हैरानी भएको हो । व्यस्त बजारमा छाडा चौपायाले सडक ढाकेर गजधम्म बस्दा ससाना सवारी साधन चलाउन र पैदलयात्रुलाई हिँड्नसमेत सकस पर्ने गरेको छ । बिगतमा छाडा पशु नियन्त्रणका लागि बस्तीबस्तीमा काञ्जीहाउस (छाडापशु समातेर राख्ने घर) बनाएर छाडा पशु राख्ने र पशुधनी सम्पर्कमा पुगेपछि कारबाहीस्वरुप जरिवाना गर्ने चलन रहेको भङ्गाहा–४ का शेष जब्बार बताउँछन् ।
उनले भने, “हामी २०÷२२ वर्षको हुँदा बाली नोक्सान गर्ने, छाडा छोडिएका पशुबस्तु काञ्जीहाउस पु¥याइन्थ्यो । त्यतिखेर पशु छाड्ने धनीलाई जरिवाना गर्ने र सम्पर्कमा कोही नआए लिलामसम्म गर्ने व्यवस्था थियो तर अहिले यस्तो व्यवस्था नहुँदा यस्तो समस्या बढेको हो ।”यो समस्या समाधानका लागि स्थानीय निकाय नै अग्रसर हुुनुपर्नेमा जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण जोड दिन्छन् । “छाडा चौपायाका कारण हुने ट्राफिक समस्या हटाउन ट्राफिक प्रहरीको पनि तत्परता त हुनपर्छ । तर पशु छाडा छोड्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय तहले नै ठोस निर्णय गरेर निश्चित विधि अघि बढाउनुपर्छ ।” उनले बताए ।
जब्बारले भने,“छाडा पशु नियन्त्रणका लागि जिल्लाभरमै एकरुपता ल्याउन आवश्यक भएकाले अब जिल्लाका १५ वटै स्थानीयतहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच अन्तक्र्रिया गरेर साझा नीति अख्तियार गर्न पहल गर्नेछु । नगरका सर्वसाधारणले पनि छाडा पशु नियन्त्रणको उपाय सम्बन्धित निकायले चाँडै अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।”
प्रतिक्रिया दिनुहोस्