Shikhar Insurance
National Life

४२ प्रतिशत महिलाहरु यौन रोगको सिकार

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १५:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनमा पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशत महिलाहरुमा यौन रोगको लक्षण देखिएको पाइएको हो ।

अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रतिमा दवाडीले एचआइभी/एड्स, हेपाटाइटिस ‘बी’, हेपाटाइटिस ‘सी’ र भिरङ्गीजस्ता रोग ती महिलामा देखिएको बताईन् । उनका अनुसार एचआइभी तथा एड्स चार जनामा, हेपाटाइटिस ‘बी’ चार जनामा, हेपाटाइटिस ‘सी’ छ जनामा र भिरङ्गी ५४ जनामा देखिएको बताएकी छन् । अध्ययनमा यौन रोग लागेका ३४ प्रतिशतले मात्र औषधि सेवन गरिरहेको पाइएको छ । यौन व्यवसायमा लागेका ५५ प्रतिशत महिलाले एचआइभी परीक्षण पनि नगरेको पाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

परिषद्ले पोखरामा गत वैशाखदेखि असोजसम्म ३६४ जना यौन व्यवसायमा संलग्न महिलामा अध्ययन गरेको थियो । तीमध्ये विवाहित १६९, अविवाहित ८१, सम्बन्धविच्छेद भएका ९९ र विधवा १५ जना थिए । अध्ययनमा १८ वर्षदेखि ५८ वर्ष उमेरसमूहका महिला थिए । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले धेरै महिलामा एचआइभी एड्स र शारीरिक सम्बन्धबाट लाग्ने रोगबारे कम जानकारी रहेको पाएको बताए ।

उनले यौन व्यवसायमा २१ वर्षदेखि ३० वर्ष उमेरसमूहका महिला बढी रहेका, ६० प्रतिशत महिलाले १६ देखि २० वर्षभित्रमा विवाह गरिसकेका र ३५ प्रतिशत महिलाले गर्भपतन गराएको पाइएको जानकारी दिए । “धेरैजसोले परिवारमा पैसाको अभावकै कारण यौन व्यवसायमा लाग्नुपरेको बताएका थिए । यसैगरी लकडाउन, श्रीमानको मृत्यु, श्रीमान्ले छोडेर गएकाले पनि यौन व्यवसायमा संलग्न भएको पाइयो”, उनले भने ।

लागुऔषधको दुव्र्यसनी

अध्ययनमा यौन व्यवसायमा संलग्नले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेको पनि पाइएको छ । अधिकृत डा धिमालका अनुसार ६० प्रतिशतभन्दा बढीले मादकपदार्थ सेवन गर्ने गरेको र ११ दशमलव आठ प्रतिशतले दैनिक मादक पदार्थ खाने गरेको पाइएको छ ।

यस्तै यौन व्यवसायमा संलग्नमध्ये १० दशमलव चार प्रतिशत लागुऔषध प्रयोगकर्ता रहेको पाइयो । लागुऔषध सुईमार्फत प्रयोग गर्ने गरेको अनुसन्धानकर्ता दवाडीले बताए । यसैगरी दुई दशमलव सात प्रतिशतले लागुऔषधका लागि शारीरिक सम्पर्क गर्ने गरेको पाइएको उनले बताए ।

परिवारलाई जानकारी छैन

अध्ययनअनुसार सवैजनाले परिवारमा आफ्नो पेसाबारे जानकारी नभएको बताएका थिए । परिवारिक मेलमिलाप तथा सामाजिक प्रतिष्ठामा असर पर्ने भएकाले यस्ता कुरा सुरक्षित राख्ने गरिएको छ ।

यौन व्यवसायमा लाग्ने धेरैजसोले आधारभूत शिक्षा लिएको पाइएको छ । छदेखि १० कक्षा पास गरेका धेरैजसो थिए भने १० कक्षामाथिका २७ दशमलव चार प्रतिशत थिए । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा.मेघराज धिमालले यौन व्यवसायमा लाग्ने महिलालाई आम्दानी हुने खालका सीपमूलक तालिम दिन सके यौन व्यवसायमा नलाग्ने भएकाले सरकारले सिपमुलक तालिम, मानसिक स्वास्थ्य र परामर्श सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्