काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटिड तथा ट्रंक लाइन महशुल नतिर्ने उद्योगहरुको आईपीओ निष्काशन प्रक्रियामाथि चासो देखाएको छ । प्राधिकरणले नेपाल धितोपत्र बोर्डलाई लिखित पत्र नै पठाएर विद्युत महशुल नतिर्ने कम्पनीहरुले आईपीओ निष्काशन गर्न लागेको भन्दै चासो देखाएको हो ।
प्राधिकरणले पुस २५ गते नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेर बक्यौता नतिर्ने कम्पनीहरुको नाम र बक्यौता रकमको विवरण नै बुझाएको हो । डेडिकेटिड र ट्रंक लाइन महशुल बक्यौता रहेका सोनापुर मिनरल्स एण्ड आयल, घोराही सिमेन्टले प्रिमियम दरमा आईपीओ निष्काशन गरिकसका छन् । सर्वाेत्तम सिमेन्ट र रिलायन्स स्पीनिङ मिल्सले भने बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्काशनको अनुमति पाएका थिए र अहिले सर्वसाधारणका लागि आईपीओ जारी गर्न बाँकी छ ।
जगदम्बा स्टिल्स लिमिटेडले भने आईपीओ जारी गर्न अनुमति पाउने अन्तिम चरणमा पुगेको छ । जगदम्बा स्टिल्स लिमिटेडले प्रतिकित्ता २ सय रुपैयाँ प्रिमियम थपेर ३ सय रुपैयाँमा आईपीओ निष्काशनका लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्रति कित्ता ३ सय रुपैयाँका दरले २ करोड ७० हजार कित्ता आईपीओ जारी गरेर बजारबाट ६ अर्ब २ करोड १० लाख रुपैयाँ पुँजी जुटाउन खोजेको छ ।
विद्युत बक्यौता तिर्न बाँकी उद्योगहरुका बिषयमा नेपाल विद्युत प्राधिकरणले के भनेर पत्र लेखेको हो ? भन्ने प्रश्नको जवाफमा धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले भने–नेपाल विद्युत प्राधिकरणले यति यति बाँकी छ भनेर रकम खुलाएर पत्र पठाएको छ, पहिले नै निष्काशनको अनुमति पाईसकेका कम्पनीहरुको हकमा हामीले केहि भन्नै मिलेन्, तर अब आउने कम्पनीहरुका हकमा भने आयोगको डिसिजन कुर्ने वा कम्पनीले म तिर्छु भन्ने डिस्क्लोज गर्छ ? त्यस्तो कुर्छौ ।’
प्रवक्ता श्रेष्ठले निष्काशनको प्रक्रियामा रहेका कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ ल्याउन पाउने सम्भावना अहिलेका लागि भने कठिन बनेको पनि बताए । ‘कम्पनीले म बक्यौता रकम तिर्छु भन्यो भने अंकित मूल्यमा आईपीओ निष्काशन गर्न सक्ला तर प्रिमियममा जान त अलि समस्या नै हुने देखियो । अंकित मूल्यमा आईपीओ जारी गर्नका लागि बक्यौता तिर्ने प्रतिवद्धता व्यक्त गर्दा हुन्छ तर अब प्रिमियममा आईपीओ ल्याउन न गाह्रो हुने भयो ।’ बोर्डका प्रवक्ता श्रेष्ठले सिंहदरबारसँग भने ।
प्राधिकरणको पत्रले फास्ट ट्रयाकमा प्रिमियम आईपीओ जारी गर्न लागेको जगदम्बा स्टिल्स लिमिटेडलाई भने मुस्किल हुने भएको छ । कम्पनीले ४ अर्ब १४ करोड रुपैयाँ भन्दा बढी प्रिमियम तिर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्