काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले पछिल्लो केहि महिनादेखि अर्थतन्त्रमा व्यापक सुधार आईरहेको दावी गरिरहेका छन् । बैशाख १६ र १७ गते लगानी सम्मेलनको तयारीमा जुटेको सरकारले यहि अवधीमा देशको रेटिङ पनि गराउँदैछ । एकपछि अर्काे गर्दै निजी क्षेत्रलाई निरास बनाईरहेको सरकार र त्यसका अर्थमन्त्रीले विदेशी मुद्रा सञ्चितिको तथ्यांक र बैंकहरुमा थुप्रिएको निक्षेपलाई देखाएर अर्थतन्त्र सुधार भैरहेको अलाप गरिरहेका छन् ।
विकास खर्च, निर्माण व्यवसायीलाई भुक्तानी, राजश्व संकलन, आयात र निर्यातको तथ्यांक हेर्ने भने अर्थमन्त्रीका दावीहरु स्वतः खारेज योग्य छन् । अझै निजी क्षेत्रको मनोविज्ञानको अडिट गर्ने हो भने वर्तमान सरकार र अर्थमन्त्रीको कद माइनसमै झर्नेछ । तर पनि पछिल्लो समय स्वयं प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्रमा सुधार भैरहेको तर्क गर्न भने छाडेका छैनन् ।
देशको अर्थतन्त्र ठिक ठाक अवस्थामा छैन् भन्ने तथ्य भने स्वयं अर्थमन्त्री डा. महतले बजेटको अर्धबाषिक समिक्षा मार्फत उजागर गरिदिएका छन् । तर उनको अभिव्यक्ति भने अर्थतन्त्र सुधार भैरहेको रटान लगाउन मै केन्द्रित छ ।
हेरौं अर्थतन्त्रका केहि स्वयंसिद्ध तथ्यहरु
–६.५ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य तर पहिलो त्रैमासिकमा जम्मा ३.२ प्रतिशत मात्रै वृद्धि हुने अनुमान देखिई सकेको छ ।
– ६ महिनामा मुद्रा स्फिति ६.४७ प्रतिशत पुगेको छ ।
–आयात ३.१ प्रतिशतले घेटर ७ खर्ब ६८ अर्बमा खुम्चिएको छ ।
–निर्यात ७.२ प्रतिशतले घटेर जम्मा ७४ अर्ब ९७ करोडमै रोकिएको छ ।
–सोधनान्तर स्थिति भने बढेर १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । जसले १४.५ महिनाको बस्तु आयात तथा १२.१ म्हिनाको बस्तु र सेवा आयात धान्न सक्नेछ ।
–अर्थमन्त्रीले आफ्नो अक्षमता स्विकार गर्दै बजेटको आकार साइज नै घटाएका छन् । चालु आर्थिक बर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लख रुपैयाँको बजेट ल्याएका मन्त्रीले त्यसलाई घटाएर १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ बनाएका छन् ।
बजेटको आकार २ खर्ब २१ अर्ब ४ करोड ५९ लाख रुपैयाँ अर्थात १२.६२ प्रतिशतले घटाईएको हो ।
–अब चालु आवको बजेटमा चालु खर्च तर्फ १० खर्ब ७ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ छुट्याईएको छ, जुन पुरानो बिनियोजनको ८८.२४ प्रतिशत मात्रै हो ।
–पुँजीगत तर्फ २ खर्ब ५४ अर्ब १३ करोड १९ लाख रुपैयाँ बजेट छुट्याएको छ, जुन अघिल्लो विनियोजनको ८४.१४ प्रतिशत हो ।
–वित्तिय व्यवस्थापनका लागि २ खर्ब ६८ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ छुट्याईएको छ । यो रकम जेठ १५ गते विनियोजन गरिएको रकमको ८७.३९ प्रतिशत हो ।
–राजश्व संकलनको लक्ष्य भने घटाईएको छ । अब सरकारले चालु आवमा १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य तय गरेको छ । –वैदेशिक अनुदान ४० अर्ब १२ करोड ९ लाख र वैदेशिक ऋण तर्फ एक खर्ब ८० अर्ब ८३ करोड ६७ लाख मात्रै प्राप्त हुने संसोधित अनुमान छ ।
–पुस मसान्तसम्ममा जम्मा ५ खर्ब ७३ अर्ब ६३ करोड २९ लाख रुपैयाँ बजेट खर्च भएको छ, जुन कुल विनियोजनको ३२.७५ प्रतिशत मात्रै हो ।
–६ महिनामा राजश्व संकलन पनि लक्ष्यको ७७.१४ प्रतिशत मात्रै प्राप्त भएको देखिन्छ । सरकारले पुस मसान्तसम्ममा ६ खर्ब ६८ अर्ब १६ करोड ८९ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो तर जम्मा ५ खर्ब १५ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ मात्रै राजश्व संकलन भएको छ ।
– २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भनेकोमा ६ महिनामै एक खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ उठाईसकेको छ ।
– ५ खर्ब १३ अर्ब ३७ करोड ५ लाख लाख रुपैयाँ बराबरको चालु खर्च गरेको सरकारले जम्मा ६३ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ मात्रै पुँजीगत खर्च गरेको छ । उता वित्तिय व्यवस्थापन तर्फ भने एक खब १४ अर्ब १३ करोड २६ लाख रुपैयाँ खर्च गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्