खोटाङ । बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्ती भएको पाइएको छ । गत वैशाख ६ गते निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीले कामको जिम्मा लिएको थियो । विसं २०७८ कात्तिक ७ गते सम्झौता गरिएको उक्त प्रशासनिक भवनको काम हालसम्म ५५ प्रतिशतमात्र सम्पन्न भएको जनाइएको छ । निर्माण कम्पनीले मूल्य अभिवृद्धि करसहित ५ करोड ६९ लाख ७० हजार ३ सय ९२ लागतमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्का लिएको हो ।
ठेकेदार कम्पनीले प्रशासनिक भवन निर्माणमा ढिलासुस्ती गरेपछि पटक–पटक पत्राचार गरेर तोकिएको समयमा सम्पन्न गर्न ताकेता गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताएको छ । “सम्झौता गरिएको मितिमा भवन निर्माण गर्न नसकेको ठेकेदार कम्पनीले प्रथमपटक थप गरिएको नौ महिनाको म्याद गुजारिसकेको छ । प्रथमपटक थप भएको म्याद गत माघ ६ गते सकिएको हो”, उनले भने, “प्रथमपटक थप भएको म्याद गुज्रेपछि पुनः आगामी वैशाख ५ गतेसम्मका लागि तीन महिनाको दोस्रो म्याद थप गरिएको छ । निर्माणको काममा ढिलासुस्सती गर्ने ठेकेदार कम्पनीलाई पटक–पटक पत्राचार गरेर तोकिएको मितिमा काम सम्पन्न गर्न गुणस्तर निर्धारण गर्न ताकेता गरेका छौँ ।”
गाउँपालिकाको प्रशासनिक भवन वडा नं ४ फाक्टाङस्थित बाघखोर भञ्ज्याङमा निर्माण सुस्तगतिमा भइरहेको छ । निर्माणको काममा खटिएका कामदारको सङ्ख्या तथा गति हेर्दा दोस्रोपटक थपिएको म्यादभित्र पनि निर्माणाधीन प्रशासनिक भवन निर्माण सम्पन्न हुने सम्भावना छैन । निर्माणाधीन प्रशासनिक भवनको तीनतला ढलान गरेर पर्खाल हाल्ने, प्लाष्टर गर्नेलगायतका काम भइरहेको देखिन्छ । निर्माणको काममा ढिलासुस्ती गरेपछि ४५ प्रतिशतमात्रै भुक्तानी दिइएको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिए ।
स्थानीय तह कार्यान्वयनमा आएको तीन वर्षपछि ९८ लाख खर्च गरेर गाउँपालिकाले प्रि–फ्याव भवन निर्माण गरेको थियो । प्रि–फ्याव भवनमा कार्यालय सञ्चालन गर्दै आएको बराहपोखरी गाउँपालिकाले सोही भवनको पछाडिपट्टि खाली रहेको आफ्नै जग्गामा पक्की भवन निर्माण सुरु गरेको हो । बाघखोर भञ्ज्याङमा निर्माणाधीन तीनतले पक्की प्रशासनिक भवनमा ३५ कोठा हुने जनाइएको छ । लिफ्टसहितको प्रशासनिक भवनको प्रत्येक तलामा महिला–पुरुष छुट्टाछुट्टै शौचालय हुने गाउँपालिकाले जनाएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहका प्रशासनिक भवन निर्माणको कममा समेत ठेकेदार कम्पनीको लापरवाही देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा रावाबेँसी गाउँपालिकाले भने यही माघ २२ गते औपचारिकरूपमा शिलान्यास गरेर निर्माणको काम सुरु गरिएको छ । ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई एक वर्षका लागि कुनै पनि काम गर्न नपाउनेगरी कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचीमा राखेपछि उक्त गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको छ ।
विसं २०७६ जेठ १४ गते सम्झौता गरिएको प्रशासनिक भवनको काम करिब ३० प्रतिशतमात्र सम्पन्न भएको जनाइएको छ । दुई वर्षअघि अर्थात विसं २०७८ चैत ३० गते सम्पन्न गरेर सञ्चालनमा ल्याउनुपर्ने प्रशासनिक भवन ठेकेदार कम्पनीले २ करोड ६८ लाख ४३ हजार तीन सय ४६ मा भवन निर्माण गर्ने ठेक्का पारेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपलिकाले भने यसअघि नै प्रशासनिक भवन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइसकेको छ । जिल्लाका अन्य स्थानीय तहमा सुविधासम्पन्न प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्