Shikhar Insurance
National Life

बस सेवा सञ्चालन गर्न भविष्य निर्माण माविको अक्षयकोषमा ५४ लाख सङ्कलन

सिंहदरबार संवाददाता
२०८० माघ २६, शुक्रबार १६:५६
Hyundai
NCELL
NIMB
गण्डकी । विद्यालयको बस सेवालाई व्यवस्थित गर्न यहाँको एक सामुदायिक विद्यालयले सुरु गरेको अक्षयकोषमा ५४ लाख चार हजार आठ सय ४५ सङ्कलन भएको छ । पोखरा महानगरपालिका–२१ कृष्तिनाच्नेचौरस्थित भविष्य निर्माण माविले बस सेवा सञ्चालनलाई दिगो बनाउने लक्ष्यका साथ दुई वर्ष अघि सुरु गरेको कोषमा उक्त रकम सङ्कलन भएको हो ।
१ करोड सङ्कलन गरी त्यसैको ब्याजबाट बस सेवा सञ्चालन गर्ने लक्ष्यका साथ सुरु गरिएको कोषमा रोजगारीका लागि विदेशमा रहेका यस क्षेत्रका युवा एवं विभिन्न पेशा व्यबसायमा आबद्ध स्थानीय सामाजिक व्यक्तित्वबाट स्वस्फुर्त रकम सङ्कलन भएको अक्षयकोष वृद्धि समिति संयोजक झपिन्द्रराज रेग्मीले जानकारी दिए । विद्यार्थी सुविधाका लागि अहिले एउटा बस सञ्चालन हुँदै आएको छ निकट भविष्यमा अर्को थप गर्ने सोच रहेको बताउँदै उनले समाजका विपन्न एव असहाय वर्गको शिक्षा आजर्नको थलो बनेको यस विद्यालयको अक्षयकोषमा सक्दो सहयोग गरेर पुण्यको काममा सहभागी बन्न सबैमा अनुरोध गरे ।
बसाइँसराइको कारण गाउँ रित्तिदै जानु र निजी विद्यालयका बस घरघर पुग्ने गरेको कारण विद्यार्थीको अभाव भएपछि विद्यालयले एक वर्षदेखि भाडामा लिएर एउटा बस सञ्चालन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले जानकारी दिए । “पोखराको दक्षिणी भेगमा अवस्थित सो विद्यालयसम्म आउनका लागि पक्कि बाटोको पहँुच पुगेको छ”, उनले थने, “यतिखेर बक्रेक, निर्मलपोखरी र वयली लगायतका क्षेत्रमा विद्यार्थीलाई बिहान र बेलुका बस सेवा पुगेको छ ।” विसं २००९ सालमा पुर्खाले स्थापना गरेको विद्यालयलाई दिगोरुप दिनका लागि सुरु गरेको अक्षयकोष वृद्धि कार्यक्रममा शिक्षाप्रेमीबाट भएको सहयोगले उत्साह थपेको उनको भनाइ छ ।
“गुणस्तरीय शिक्षामा जोड दिँदै बस सेवा सुरु भएपछि विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढेको छ”, उनले भने, “व्यवस्थापन विषयमा दशजोड दुईको पढाइ भइरहेको विद्यालयमा हाल चार सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।” “विभिन्न चारवटा पक्की भवनमा २४ कोठा छन्, कक्षा दशसम्म अङ्ग्रेजी माध्यममा पढाइ भइरहेका छन्”, उनले भने, “चालु आवमा भारतीय राजदूतावासबाट एउटा बस प्राप्त गर्ने सहमति भइसकेको छ ।” प्रत्येक कक्षाकोठा निगरानी लागि सिसीक्यामेरासहित प्रोजेक्टरको व्यवस्था गरिएको बताउँदै अध्यक्ष भुजेलले भने, “आइसिटी प्रविधिमा पठनपाठन भइरहेको छ । विदेशी तथा रोजगारीका लागि विदेशमा रहेको सहयोगदाताबाट उक्त रकम सङ्कलन भएको हो ।”

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्