जानकी । बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि ‘टुर द ठाकुरद्वारा’ सुरु भएको छ । बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रामार्फत ‘टुर द ठाकुरद्वारा’ सुरु भएको हो ।
कार्यक्रममा दुई सयभन्दा बढी साइकलयात्री सहभागी रहेको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ । कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार बाँकेको वागेश्वरी मन्दिर हुँदै बर्दियाको ठाकुरद्वारासम्म सञ्चालन हुने यात्रा एक सय चार किलोमिटर लामो छ । वागेश्वरी मन्दिरबाट सुरु भएको साइकलयात्रा कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुग्ने उनले जानकारी दिए ।
साइकलयात्राका लागि टिसर्ट सार्वजनिक गर्दै चीन र भारतबाटसमेत साइकलयात्रीको सहभागिता रहेको संयोजक निरौलाले बताए । टुर द ठाकुरद्वारा सम्पन्न गर्न करिब २७ लाख खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए । उक्त यात्रामा सहभागी हुने साइकलयात्रीमार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय चलायमान बनाउन सहयोग पुग्दै आएको आयोजक क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए ।
उक्त साइकलयात्रामा झापा, विराटनगर, धरान, बारा, पोखरा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, नवलपरासी, धनगढी, महेन्द्रनगर, दाङलगायत जिल्लाबाट दुई सय पाँच जना साइकलयात्री सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्