पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा भएको सुधारलाई देखाएर अर्थतन्त्रमा सुधार आयो भन्न नसकिने बताउनुभएको छ । मंगलवार नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको मुलुकको वर्तमान आर्थिक परिसूचकमा विदेशी मुद्रा सञ्चिति र विप्रेशण (रेमिट्यान्स) मा वृद्धि भएको तथ्याङ्कलाई देखाएर अर्थतन्त्र लयमा आयो भन्न नमिल्ने बताएका हुन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्वअर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र र वाह्य क्षेत्र मध्ये अहिले राम्रो भएको वाह्य क्षेत्र मात्रै भएको दाबी गरे । उनले वाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक रुपमा अर्थतन्त्रमा सुधार नआएको भन्दै सरकारले अर्थतन्त्र लयमा आयो भनेर भन्नु धर्म निर्वाह गर्नु मात्रै भएको टिप्पणी गरे । उनले सरकारको आन्तरिक खर्च, वित्तीय प्रणालीमा हुने खर्च र उत्पादन वृद्धि नहुँदा वाह्य क्षेत्रबाट हुने मागमा कमी हुँदा विदेशी मुद्राको सञ्चितिमा वृद्धि भएको बताए ।
उनले उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र गरी तीनवटा क्षेत्रमा आएको मन्दी र समस्याको परिणाम स्वरुप चौथो वाह्य क्षेत्रमा विदेशी मुद्राको सञ्चिति बढेको देखिएको दाबी गर्नुभयो । पूर्वअर्थमन्त्री खतिवडाले दुई वर्षको बीचमा निर्यात ४० प्रतिशतले घटेको भन्दै चालु आर्थिक वर्ष सकिँदा अढाई वर्ष अगाडिको भन्दा निर्यात आधा हुने अवस्था देखिएको बताए ।
उनले वैदेशिक रोजगारीमा हरेक वर्ष ८ लाख नेपाली युवाहरु जाने र पछिल्लो दुई वर्षमा १५ लाख युवाहरु विदेश गएकोले उनीहरुले पठाएको रेमिट्यान्सको कारण विदेशी मुद्राको सञ्चिति बढेको बताए । उनले पर्यटकको आगमन वृद्धि भयो भन्दैमा पनि सरकारले सन्तुष्टि लिन नमिल्ने पनि बताए । पर्यटकहरुले खर्च गर्ने र लगानीको भएको लाभलाई हिसाव नगरी आम्दानीको कुरा गर्नुको अर्थ नहुने तर्क खतिवडाले गरे ।
खतिवडाले निर्माण क्षेत्र नकारात्मक रुपमा प्रभावित भएको र आयात कम भएपछि ढुवानी तथा यातायात व्यवसाय अवरुद्ध रहेको बताए । चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धि हुन नसक्ने अघिल्लो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भएको भए अहिले ४ प्रतिशतको वृद्धि ठिक मान्न सकिने उल्लेख गरे ।
खतिवडाले सरकारको राजश्व चालु आर्थिक वर्षमा ३ देखि ४ खर्बले कम हुने संकेत रहेकोले पनि देश गहिरो आर्थिक मन्दिमा जाने बताए । उनले १४ खर्ब २२ अर्ब राजश्व संकलन गर्ने सरकारको लक्ष्य भएपनि ११ खर्ब पनि राजश्व उठाउन मुस्किल रहेको बताए । उनले वित्तीय प्रणालीमा खराब कर्जा बढ्दै जाँदा बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा रहेको दाबी गरे ।
उनले राष्ट्र बैंकले पुनःतालिकिकरण गर्न दिएको म्याद थपि नरहने हो भने असार मसान्तसम्ममा धेरै बैंकहरुको वित्तीय अवस्था कमजोर बन्ने निश्चित रहेको बताए । उनले यस्तो अवस्थामा पनि मुलुक आर्थिक संकटकै अवस्थामा नपुगे पनि चरम आर्थिक मन्दीमा पुग्ने दाबी गरे ।
प्रश्तुत छ पूर्वअर्थमन्त्री डा. खतिवडाको भनाई
मुलुकको अर्थतन्त्र राम्रो छ भन्नु सरकारको धर्म हो । त्यो सरकारले पालना गर्छ । अहिले अर्थतन्त्रमा राम्रो देखिएको भनेको, वाह्य क्षेत्रमा विदेशी मुद्राको सञ्चिति बढेको छ । राम्रो भनेको त्यही मात्रै हो । अर्थतन्त्रमा उत्पादन, सरकारी वित्त क्षेत्र, समग्र वित्तीय क्षेत्र र वाह्य क्षेत्र गरी चार वटा मुख्य पक्ष हुन्छन् । सरकारको बजेट आन्तरिक रुपमा खर्च हुन सकेन,वित्तीय प्रणालीबाट खर्च हुन सकेन,उत्पादन हुन सकेन भने यसको असर वाह्य क्षेत्रबाट हुने मागमा कम हुन्छ । वस्तु र सेवाको आयात घट्छ । यसरी विदेशी मुद्राको सञ्चिति बढ्छ । तीनवटा क्षेत्रमा आएको मन्दी र समस्याको परिणाम स्वरुप चौथो क्षेत्रमा विदेशी मुद्राको सञ्चिति बढेको देखिएको छ । कसरी बढ्यो त्यसको विश्लेषण गर्नुपर्छ । दुई वर्षको बीचमा अहिलेसम्म निर्यात ४० प्रतिशतले घट्यो । चालु आर्थिक वर्ष सकिँदा अढाई वर्ष अगाडिको भन्दा निर्यात आधा हुने अवस्था देखिएको छ ।
दुई खर्ब भन्दा बढीको निर्यात हुने थियो जसमा १ खर्बको वरिपरी निर्यात हुनु राम्रो हो । नेपालको आयातमा औद्योगिक कच्चा पदार्थ,मेसिनरी,कृषि सामाग्री र पर्यटकले उपभोग गर्ने वस्तु समेत आयात गर्ने गरेका छौं । नेपालका उत्पादनका सबै व्यवसायहरु आयातमा पनि निर्भर छन् । त्यो आयात दुई वर्ष यता निरन्तर खुम्चिएर २५ प्रतिशतको हाराहारीमा आयात कम भयो । समग्र व्यापार करिव एक चौथाईले खुम्चिँदा नेपाल जस्तो सानो खुलाअर्थतन्त्र वाह्य क्षेत्रसँग कारोबार गरी व्यापार गरेर अर्थतन्त्र बढाउने व्यापार एक चौथाईले खुम्चिँदा देश राम्रो भयो भन्न अर्थशास्त्रीले भन्नसक्छ । आयात कम भएपछि विदेशी मुद्राको माग कम हुन्छ । आयात कम हुन्छ देशमा विदेशी मुद्राको सञ्चिति बढ्ने गर्छ । यो आयातसँग जोडिएको हुन्छ । वैदेशिक रोजगारीमा हरेक वर्ष ८ लाख नेपाली युवाहरु गरी दुई वर्षमा १५ लाख युवाहरु विदेश पठाइसक्यौं । १५ लाख युवाहरु वैदेशिक रोजगारीमा भएपछि नेपालमा कृषि उत्पादन घट्यो,निर्माणको काम भएन र नेपालीहरुले रेमिट्यान्स पठाएको कारणले विदेशी मुद्राको सञ्चिति बढ्यो ।
त्यसमा सरकारले धेरै सुखी मान्नुपर्ने हो र रु नेपालमा १० लाख पर्यटन आए । यो भन्दा अघि सन् २०१९ मा १२ लाख पर्यटक आएका थिए । तर नेपालमा आएका पर्यटकले खर्च केमा गर्छन् । उनीहरु कसरी आउँछन् । हवाई टिकट कहाँ किन्छन् । होटल बुकिङ कहाँ गर्छन् । बुकिङ अनुसार विदेशी मुद्रा खर्च गर्छन् की गर्दैनन् । लगानीको सम्पूर्ण लाभ कसले उठाउँछ । त्यसको हिसाब नगरी त्यसको आम्दानीको कुरा गरेर मात्रै केही अर्थ रहँदैन । त्यसमा पनि पर्यटकले जति रकम देशभित्र लिएर आएको रकम खर्च गरे त्यसको दोब्बर नेपालीहरु बाहिर जानेले सकिसक्यौं । ४० अर्ब पर्यटनबाट आयो भने ८० अर्ब जति विदेश जानमा खर्च गर्ने भयौं । ठूलो अंश विद्यार्थीमा खर्च गर्ने भयौं । महिनाको १० अर्ब विदेशमा अध्ययन गर्न जाने विद्यार्थीमा खर्च गरिरहेका छौं ।
त्यो राम्रो होर रु वाह्य क्षेत्रका कुनैपनि परिसूचक विदेशी विनिमय सञ्चिति र रेमिट्यान्स बढ्ने बाहेक अरु सूचकको अर्थ छैन । नेपालमा उत्पादन क्षेत्रमा हेर्दा केहीको उत्पादन बढेको छैन । निर्माणसँग सम्बन्धि उद्योगहरु एकतिहाई क्षमतामा चलिरहेका छन् । आयातित कच्चा पदार्थमा आयात प्रतिस्थापन हुने उद्योगले कच्चा पदार्थ र मेसिनरी माटपुर्जा आयात गर्ने एलसी नै खुलेको छैन । त्यो सबै भएको भए बैंकको कर्जा बढ्ने थियो । बैंकको कर्जा ४ प्रतिशतले बढेको छ । मूल्य वृद्धि भएको छ, ६ प्रतिशतको वरिपरी छ । बैंकको कर्जा ४ प्रतिशतले बढेको छ भने मूल्यवृद्धि जति पनि बैंकको कर्जा नबढ्नु भनेको आर्थिक संकुचन भएको हो । त्यसैले अहिले वित्तीय क्षेत्र संकुचनमा छ । निजी क्षेत्रको कर्जा प्रवाह,आयातित मेसिनगरी कच्चा पदार्थ पुँजीगत सामानको आयात घटेको छ । निर्माणसँग सम्बन्धित मात्रै नभएर अन्य व्यवसाय पनि प्रभावित भएका छन् । निर्माण सम्बन्धि काम नभएपछि ढुवानीको व्यवसाय समस्यामा प¥यो । आयात कम भएपछि ढुवानीको व्यवसाय हुने भएन ।
व्यवासायीहरुको व्यवसायमा नोक्शानी भएको छ । कसैको पैसा घरजग्गा र शेयरमा फसेको छ । कसैको पैसा अनाधाकृत रुपमा बाहिर लगेर क्रिप्टोमा फसेको होला । यसरी विभिन्ने तरिकाबाट पैसा फसेको कारण आन्तरिक माग छैन । त्यसको कारण मानिसहरुको सेवा लिने क्षमता पनि छैन । यसरी हेर्दा अहिले यातायात र ढुवानी सेवा दुबै अवरुद्ध भएका छन् । धेरै पानी परेकाले धान धेरै फल्यो । तर समयमा सरकारले मल दिएकाले भने होइन । समयमा मल ल्याएपनि कति केजी किसानलाई पु¥याउनुभएको छ भन्ने त्यो हिसाव सरकारलाई राम्रोसँग थाहा छ । त्यसबाट कति उत्पादन वृद्धि भयो । भएको भए त्यो जस सरकारलाई दिनुपर्छ । औद्योगिक उत्पादन घट्दै सेवा क्षेत्रको उत्पादन घट्दै कृषिको मात्रै सामान्य वृद्धि दुँदा आर्थिक वृद्धि कति हुन्छ ।
चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धि भयो भने ठूलो कुरा हो । दुई प्रतिशतको बेसमा ४ प्रतिशत आर्थिक वृद्धि हुनु ठूलो कुरा होइन । अघिल्लो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भएको भए अहिले ४ प्रतिशत राम्रो नै हुने थियो । उत्पादन ठिक छैन । रोजगारीको अवसर देशभित्रै भएको भए सबै युवाहरु विदेश जाने थिएनन् । नेपालमा भविष्य देखेका भए लाखौं युवाहरु विदेश जाने थिएनन् । शिक्षामा वार्षिक १० अर्ब खर्च गरेको छ । सरकारले एउटा विषयलाई राम्रो देखेर अरु राम्रो काम गर्ने अवसर पाएको छ । त्यसको सदुपयोग गरोस् । राम्रो छ भनेर सरकार ढुक्क बस्ने अवस्था छैन । अर्थतन्त्रमा सुधार केही भएको छैन । देश आर्थिक रुपमा चल्न सकेको छैन । जस्तो सरकारले आफ्नो दायित्व पूरा गर्न सकेको छैन । सम्पन्न भएका आयोजनाहरुको भुक्तानी दिन सकेको छैन ।
कृषिका अनुदानहरुको भुक्तानी दिन सकेको छैन । बीमाको प्रिमियमको भुक्तानी दिन सकेको छैन । ब्याज अनुदान दिन नसक्दा कार्यक्रम नै स्थगित गरेको छ । रोजगारका कार्यक्रमहरु स्थगित गरिएको छ । स्थानीय तहलाई भुक्तानी दिनुपर्ने रकम पनि दिन सकेको छैन । सरकारले नयाँ आयोजनाहरु कुनै सञ्चालन गर्न सकेको छैन । सरकारको राजश्व यो वर्ष ३ देखि ४ खर्बले कम हुँदैछ । १४ खर्ब २२ अर्ब राजश्व संकलन गर्ने सरकारको लक्ष्य छ । सरकार ११ खर्ब राजश्व उठाउन सके ठूलो कुरा हुन्छ ।
३ खर्बका आयोजनाहरु अगाडि बढेका छैनन् । वित्तीय प्रणालीमा खराब कर्जा बढ्दै छ । बैंकहरु कर्जा दिन हिच्किचाइरहेको छन् । ब्याजदर घटाए पनि व्यवसायीहरुले कर्जा लिइरहेका छैनन् । बैंकका पैसा थुप्रिएको छ । बैंकहरुमा १५ प्रतिशत निक्षेप वृद्धि हुन्छ तर ४ प्रतिशतले कर्जा बढ्छ । यस्तो अवस्थामा बैंकहरुले कर्जा असुलि गर्न सकिरहेका छैनन् । ऋण असुली नहुँदा नयाँ लगानी गर्न हिच्किचाई रहनुभएको छ । राष्ट्र बैंकले पुनःतालिकिकरण गर्न दिएको म्याद थपि नरहने हो भने असार मसान्तसम्ममा धेरै बैंकहरुको वित्तीय अवस्था कमजोर बन्ने निश्चित छ ।
यस्तो अवस्थमा पनि मुलुक आर्थिक संकटमा पुग्दैनौं । आर्थिक मन्दीमा पुग्छौं । अर्थतन्त्रमा उथलपुथल हुन्छ भन्ने होइन तर गहिरो आर्थिक मन्दीमा जानसक्छौं । त्यो भनेको सबै वस्तुहरुको मूल्य घट्दै जान्छ । वस्तु र सेवाको माग घटेपछि बैंकहरुको ब्याजदर घट्छ । रोजगारीका अवसरहरु कम हुँदै जान्छन् । यो संकेत देखिँदैछ । घटेकोलाई सरकारले राम्रो मानेको छ तर यो आर्थिक मन्दीको संकेत हो । मुलुक चालु आर्थिक वर्ष अझ गहिरो आर्थिक मन्दीमा जान्छौं । मुलुकलाई आवश्यक विदेशी वस्तुको आयात गर्न विदेशी मुद्राको अभाव हुँदैन । सरकारले आयात खुकुलो गरेर विदेशी मुद्रा सञ्चिति खर्च गरेर राजश्व बढाउन चाहे सक्छ ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्