काठमाडौँ । नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । मुलुकको पर्यटन प्रवर्द्धनमा सशक्त उपस्थिति देखाई विदेशी पर्यटकलाई समेत सेवा दिने उद्देश्यले दुईवटा न्यारोवडी जहाज भाडामा लिने निर्णयअनुसार बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ ।
“निगमको कार्ययोजना अनुरुप हाल निगमसँग रहेका दुई वटा वाइडबडी जहाज जापान, सिड्नी र दक्षिण कोरिया उडानमा प्रयोग भएका छन् । अन्य गन्तव्यको उडान चाप मौजुदा जहाजले धान्न नसक्ने भएकाले जहाज भाडामा लिन लागिएको हो । यसबाट दिल्ली, दुबई, दोहा, मलेसियालगायतका गन्तव्यको उडान चाप व्यवस्थापन गर्न सकिन्छ”, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जहाज थप भएसँगै निगमको आय बढ्ने र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत अन्य गन्तव्यमा उडान भर्ने निगमको योजना छ ।
नेपाल सरकारबाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरुले समेत निगमको सम्भावित व्यापारलाई विस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव दिएकाले जहाज भाडामा लिन लागिएको निगमको भनाइ छ ।
“संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको विशेष पहलमा निगमको १० वर्षे व्यवसायिक योजना अनुरुप बजार बिस्तारका लागि जहाज थप गर्न लागिएको हो । उक्त जहाजहरु आगामी जुलाईसम्ममा निगमको उडानमा आइसक्ने अपेक्षा गरिएको छ”, निगमले भनेको छ ।
निगमले यस अघि पहाडी क्षेत्रमा उडान भर्नका लागि भन्दै तीन वटा साना जहाज किन्ने योजना बनाएको थियो । ३६ करोड रुपैयाँ कमिसनका लागि साना जहाज खरिद योजना बनाएको निगम नेतृत्वको योजनामा अर्थमन्त्रालय बाधक बनेको थियो । निगम सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने अर्थमन्त्रालयका सह सचिव धनीराम शर्माले नयाँ जहाज किन्ने सम्बन्धी माइन्युटमा नोट अफ डिसेन्ट लेखेका थिए ।
ग्लोबल टेण्डर निकालेर पनि थप प्रक्रिया अघि बढाउन नसकेको निगम नेतृत्व अहिले भने जहाज भाडामा ल्याउने योजनामा लागेको हो । भएका जहाजहरु उडाउन समेत नसकिरहेको निगम नेतृत्वले भाडामा थप जहाज ल्याउन खोज्नु कमिसनको नयाँ अध्याय मात्रै भएको निगम स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस्