काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको हाे ।
गत असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो । योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ ।
वार्षिक बिन्दुगत आधारमा मुद्रास्फीति ५.२६ प्रतिशत रहेको, आयात ३.१ प्रतिशत, निर्यात ७.२ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेकोछ । त्यस्तै रेमिट्यान्स आप्रवाह नेपाली मुद्रामा २५.३ प्रतिशतले बढेको तथा र अमेरिकी डलरमा २२.६ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड बचतमा रहेको छ ।
नेपाल सरकारको खर्च ५ खर्ब ६६ अर्ब ६२ करोड र राजस्व परिचालन ४ खर्ब ९६ अर्ब ५० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको तथा वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.६ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेकोछ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर भने ४.९ प्रतिशत रहेको छ ।
पूर्णपाठ
प्रतिक्रिया दिनुहोस्