Shikhar Insurance
National Life

पर्यटन प्रवर्द्धन गर्न रोटरी क्लबद्धारा ‘मिनी म्याराथन’ आयोजना

सिंहदरबार संवाददाता
२०८० माघ २२, सोमबार १४:१०
Hyundai
NCELL
NIMB

चितवन । रोटरी क्लब अफ रत्ननगरले  पर्यटन प्रवर्द्धन गर्न ‘मिनी म्याराथन’ आयोजना गर्ने भएको छ । महिला र पुरुष दुई समूहमा म्याराथन गर्न लागिएको हो ।

आयोजक संस्थाले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका बारेमा जानकारी दिएको छ । आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथन दौड आयोजना गर्न लागिएको हो । कार्यक्रम संयोजक विपीन पोखरेलले प्रतियोगितामा दुई किसिमबाट खेलाडी (धावक) ले प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने बताए । उनका अनुसार १४ दशमलव ५ किमीको खुला प्रतियोगिता र ५ किमी दूरीको महिला लक्षित प्रतियोगिता हुनेछन् । १४.५ किमीको खुला प्रतियोगिता नारायणी नदी किनारबाट सुरु भई हरिहर मन्दिर रत्ननगरमा समापन हुनेछ भने पाँच किमी दूरीको महिला लक्षित प्रतियोगिता भरतपुर महानगरपालिकाको जङ्गल सीमाबाट प्रारम्भ भई सोही ठाउँमा समापन हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो प्रतियोगितामा राष्ट्रिय धावक (खेलाडी) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकसमेतको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । साथै सिमान्तकृत चेपाङ समुदायका धावकलाई विशेष प्रोत्साहन गरिने उनको भनाइ छ । प्रतियोगितामा चार सय हाराहारी सहभागी हुने अपेक्षा गरिएको छ । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार राष्ट्रिय प्रतिभाको पहिचान एवं प्रवद्र्धन गर्ने उद्देश्यबाट यो मिनी म्याराथन आयोजना गर्न लागिएको हो ।

रोटरी डिस्ट्रिक तीन हजार २ सय ९२ जोन ३७ का एसिस्टेन्ट गभर्नर सुरेन्द्र रेग्मीका अनुसार १५ दशमलव पाँच किमीतर्फको प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी दोस्रो हुनेलाई रु ५० हजार, तेस्रो हुनेलाई रु २५ हजार, चौथो हुनेलाई रु १० हजार, पाँचौँ हुनेलाई रु पाँच हजार र छैटौँदेखि १०औँ सम्मलाई रु तीन हजारसहित प्रमाणपत्र वितरण गरिनेछ ।

दूरी पूरा गर्ने सबै चेपाङलाई रु दुई हजार पुरस्कारको व्यवस्था रहेको छ । यसैगरी पाँच किमी महिला लक्षित प्रतियोगितातर्फ प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १० हजार रुपैयाँ, तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ , चौथो हुनेलाई तीन हजार रुपैयाँ, पाँचौँ हुनेलाई दुई हजार पाँच सय रुपैयाँ, छैटौँदेखि १०औँलाई एक हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ । दूरी पूरा गर्ने महिला चेपाङलाई रु एक हजार प्रदान गरिने उनले जानकारी दिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्