काठमाडौं । बैंकहरुले नराम्रो नमान्नु होला । मिटर ब्याजी त बैंकहरु पनि मिटर ब्याजी नै हुन् नी । बैंक मिटर ब्याजी होइन र ? तीन महिनामा साँवामा गाभ्ने ? अनि त्यहि त हो नी मिटर ब्याजी भनेको । त्यसकारण अहिले बैंक पनि मिटर ब्याजी भएका छन् । तीन तीन महिनामा साँवामा गाभ्ने ? तिर्नेले तिर्नु पनि त पर्छ होला नी । तिर्नेले त्यसबाट प्रतिफल लिएर तिर्ने होला नी । ऋणीले लगानी गरेर त्यसको प्रतिफल आउनु पनि त पर्ला नी ।
प्रतिफल आउनै नसक्ने गरि असुल्ने ? किन केहि बर्षभित्र डबल कसरी हुन्छ ? अनि अरुले नकमााउने, बैंकले कमाउने, यसरी नी कमाउने उसरी नै बैंकले नै कमाउने ? यो तरिका अलिकति बैंकहरुको पनि भएन् । मिटर ब्याजी बिरुद्धको पैदल यात्रा इटहरी की कहाँ आईपुग्यो भन्ने सुन्दै छु, मेचि किनारबाट हिडेकाहरु । बैंकिङ क्षेत्रका विरुद्ध मान्छे यत्तिकै धतङगाएर कुदेका छैनन्, ब्याज तिर्नु पर्दैन भनेर । त्यो बेठिक कुरा हो । त्यो गलत कुरा हो । तर त्यसका निम्ति आधार पनि बैंकहरुले नै तयार पारिदिएका हुन् ।
हुने खानेलाई, जसलाई ऋण चाहिएको छैन्, उसलाई बिना धितो पनि ऋण दिएको छ । जसलाई साच्चै ऋण चाहिएको छ, सानो पुँजीबाट स्टार्ट अप गरौं भनेर इमानदार प्रयास गर्न खोज्छ । उसलाई चाँही बैंकले पनि के गर्छ भने जमिनको पनि मुटु कलेजो, मुटु कलेजो छानेर धेरै दाममा बिक्ने खालको धितो लिन्छ । अनि तिर्छ की तिर्दैन् ? आफुले दिएको ऋणको सदुपयोग भैरहेको छ की छैन् ? भैसी पाल्ने भनेर पहिले नै तरल पदार्थमा सिध्यायो की ? त्यो केहि हेर्दैन् । किन भने धितो छदैँछ । ऋण असुल गर्नु र धितो लिलाम गर्नु मात्रै बैंकको काम होइन् । बैंकले लगानी गरेपछि त्यसको अनुगमन पनि गर्नुपर्छ । सदुपयोग भएको छ की छैन् भन्ने पनि हेर्नुपर्छ ।
अनि त्यत्रो बिधि ब्याज किन राख्या त ? बैंकले पैसा त सस्तो ब्याजमै पाएको हुन्छ । राष्ट्र बैंक र अरुले पनि सस्तो ब्याज मै पैसा दिन्छ । हामीले राख्यौं भने पनि त सस्तो मै लिन्छ ।
अर्काे कुरा बैंकले गरेको के ठिक देखिँदैन भने, ‘मैले लोन लिएँ । ऋण लिएँ मैले । अनि त्यहाँ घटाउन बढाउन सकिने छ ब्याज भनेर लेख्या हुन्छ । घटाउने त कहिल्यै कुरा हुँदैन् । अनि एक तर्फी ऋणको ब्याज बढाईरहन्छ । दुई तर्फी सहमति बिना ब्याज घटबढ गर्न पाइँदैन् भन्ने व्यवस्था अब गर्नुपर्छ ।
मैले ९ प्रतिशतमा ऋण लिएँ, बैंकले एक तर्फीरुपमा अलिपछि १२ प्रतिशत पुग्यो, अलिपछि १४ प्रतिशत पुग्यो । मलाई थाहा छैन, ऋण यति लिएको थिएँ, यति पुग्यो होला भनेर तिर्न जाँदा बैंकको हिसाब त मैले खल्तिमा बोकेको पैसा त के झोलामा बोकेको पैसाले नपुग्ने गरि हिसाब बनाईराख्या हुन्छ त्यहाँ । के भयो भनेर सोध्दा त अस्तिनै देखि यति ब्याज बढ्यो, यस्तो भयो रे ।
मैले त लिने गरेको छैन्, ऋण कसैको खाने गरेको छैन् तर खानेहरुको सुन्छु क्या म, यस्तो छ भनेर ।
एग्रिमेन्ट जुन समयमा भयो, त्यो समयको एग्रिमेन्ट यदि बदल्नुपर्छ भने ऋण दिने र लिनेको बीचमा सहमतिमा हुनुपर्छ । होइन भने मान्छेले ऋण तिर्न नसक्न सक्छ । किन भने ९ प्रतिशत पो तिर्न सक्छु भनेको हो त । १२/१४ प्रतिशत कहाँबाट तिर्ने ? त्यसको प्रतिफल आउँछ र तिर्ने ? प्रतिफल आउनै नसक्ने गरि बैंकले हामीलाई मर्का पर्यो त्यसैले बढायौं भन्ने होइन् । ऋणीलाई परेको मर्का पनि त छ नी । त्यसकारण आफ्नो मात्रै मर्का हेरेर बैंक चल्ने होइन् ।
अनि यस बर्ष बैंकको यति अर्ब मुनाफा भनेर क्या बात भन्दै आफैंलाई धाप लगायो । अनि ऋणीहरु ? बैंकले के बुझ्नुपर्छ भने निक्षेपकर्ताहरु र ऋण लिनेहरु नै बैंकका जीवन हुन् । कसैले डिपोजिट गरिदिएन भने बैंक कसरी बन्छ ? डिपोजिट कर्ताहरुलाई पनि बैंकले हेप्छ । बैंकको जीवन भनेकै ऋणीहरु हुन्, उनीहरुलाई पनि बैंकले हेप्छ । बैंकलाई जसले जीवनदान दिएका छन्, उनीहरु नै हेपिएका छन् । हामीले बैंकको न्यायोचित हितमा बोल्नुपर्छ ।
नाफाखोर निर्मम साहुजी होइनन् बैंक । बैंकहरु विकासका सहयोगी हुन् । जनताका विकास प्रयासका सहयोगी हुन् । घर घरमा विकासमा समर्थन, सहयोग र टेवा दिने भूमिकामा बैंकहरुले आफुलाई प्रस्तुत गर्नुपर्छ । (नेकपा(एमाले) निकट बैंक, बीमा र वित्तिय क्षेत्र कर्मचारी संघको महाधिवेशनमा केपी ओलीले व्यक्त गरेको धारणाको सम्पादित अंश)
प्रतिक्रिया दिनुहोस्