हेटौँडा । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले विगत ६ महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ४ अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा २ अर्ब ९३ करोड ११ लाख ७६ हजार राजस्व सङ्कलन भएको हो ।
उक्त कार्यालयले चालु आर्थिक वर्षमा ८ अर्ब ८० करोड ४५ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयबाट प्राप्त विवरणअनुसार विगत ६ महिनामा आयकरतर्फ ४८ करोड छयासी लाख ६७ हजार, घरभाडा करतर्फ रु ७८ लाख ९२ हजार, ब्याज करतर्फ ४ करोड पाँचलाख ८१ हजार, आन्तरिक करतर्फ ४९ करोड ९० लाख ६८ हजार रुपैयाँ, अन्तःशुल्क करतर्फ एक अर्ब ६१ करोड ४८ लाख २७ हजार तथा स्वास्थ्यसेवा करतर्फ २८ करोड १ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जनाएको छ ।
विगत ६ महिनामा ३२ हजार १ सय ८६ करदातामध्ये १२ हजार ७ सय २१ करदाताले आयकर तिरेका थिए भने १९ हजार चार सय ६५ जनाले तिर्न बाँकी रहेको छ । आयकर नतिर्नेमा ठूला करदाता नै दुई हजार सात सय पाँचजना रहेका बताइएको छ । बागमती प्रदेशको राजधानी हेटौँडा भए पनि ठूला उद्योग तथा व्यापार÷व्यवसाय बन्द भएको र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायको अवस्था नाजुक भएकाले राजस्व सङ्कलनमा समस्या भएको सो कार्यालयका कर्मचारीले जनाएका छन् ।
प्रमुख करअधिकृत तुलसीप्रसाद भट्टराई बढी कर आउने उद्योग केही समयदेखि बन्द रहेका कारण राजस्व सङ्कलन लक्ष्यको तुलनामा कम भएको बताउनुहुन्छ । कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा रु सात अर्ब ५० करोड ३९ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार सङ्कलन गरेको थियो । गत आर्थिक वर्ष पनि लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्