Shikhar Insurance
National Life

‘स्टार्टअप कर्जा कार्यविधि’ स्वीकृत, १० लाख भन्दा कम चुक्ता पुँजी हुनेले ऋण पाउँने

सिंहदरबार संवाददाता
२०८० माघ १५, सोमबार १६:१२
Hyundai
NCELL
NIMB

काठमाडौंं । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सहूलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी भएको छ । स्टार्टअप उद्यमलाई प्रवाह गरिने कर्जा प्रक्रियालाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले माघ ११ गते कार्यविधि स्वीकृत गरेको हो ।

कम्पनी दर्ता भएको ७ वर्ष भन्दा बढी समय नभएका स्टार्टअप उद्यम कर्जा पाउनका लागि योग्य हुने कार्यविधिमा उल्लेख छ । कुल चुक्ता पुँजी २ लाखदेखि १० लाख रुपैयाँ सम्म भएको, उद्यमको कुल कारोबार वार्षिक २ करोडभन्दा बढी नरहेको र स्थिर पुँजी (घरजग्गाको बाहेक) २ करोड भन्दा बढी नभएको हुनुपर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कानुन बमोजिम दर्ता नभएको, विदेशबाट वस्तु तथा सेवा आयात गरी बिक्री वितरण गर्ने, कालोसूचीमा परेको र होल्डिङ तथा लगानी कम्पनीको रुपमा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम दर्ता भएको कम्पनीलाई स्टार्टअप उद्यमी कर्जा उपलब्ध गराउन नसकिने कार्यविधिमा जनाइएको छ । स्टार्टअप उद्यम कार्यक्रमको कार्यान्वयन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्नेछ । कर्जा लिनका लागि प्रस्ताव आह्वान गर्ने, पेश भएका प्रस्ताव मूल्याङ्कन गर्ने तथा सिफारिस गर्ने काम प्रतिष्ठानले गर्नेछ ।

कार्यविधिअनुसार सरकारी स्वामित्वको वाणिज्य बैंकलाई मात्रै कर्जा प्रवाह गर्ने बैंकको रुपमा तोक्नुपर्नेछ । बैंकले कर्जा प्रवाह गर्ने तरिका, कर्जाको सीमा, किस्ता बुझाउनुपर्ने अवधि, साँवा फिर्ता र ब्याज भुक्तानीको अवधि तथा प्रक्रिया तोकेर प्रतिष्ठानसँग सम्झौता गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

“कर्जाको अवधि अधिकतम पाँच वर्षमा नबढाइ ढिलोमा कर्जा लिएको दोस्रो वर्षबाट साँवा र ब्याजबापतको रकम फिर्ता गर्न सुरु गर्नुपर्नेछ । बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजनालाई धितोको रुपमा राख्नुपर्नेछ । त्यस्तो व्यवसाय वा परियोजनाको बीमा भने उद्यमी आफैँले गर्नुपर्नेछ”, कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यविधिअनुसार स्टार्टअप उद्यमका लागि विभिन्न १६ वटा क्षेत्र तोकिएका छन् । जसमा कृषि तथा पशुपक्षी, वन पैदावार, पर्यटन प्रवर्द्धन मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, सूचना प्रविधि तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइलगायत क्षेत्र छन् । सहज र सुरक्षित यातायात एवं पारवहन, अटोमोवाइल्स, परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधार, खानी तथा खनिज अनुसन्धान, घरायसी वा दैनिक जीवनयापनसँग जोडिएका क्षेत्रमा पनि स्टार्टअप कर्जा उपलब्ध गराइनेछ । खाद्य उत्पादन तथा प्रशोधन, फोहरमैला व्यवस्थापन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित क्षेत्रमा उद्यमशीलता कर्जा पाइनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्