Shikhar Insurance
National Life

विदेशबाट फर्केर कुखुरापालनमा रमाउँदै भोजबहादुर

सिंहदरबार संवाददाता
२०८० माघ १५, सोमबार १३:४१
Hyundai
NCELL
NIMB

बलेवा । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहरा ५ वर्ष विदेशमा बसेर स्वदेश फर्केपछि गाउँमा नमुना किसानका रुपमा परिचय बनाउँदै छन् । उनले गाईभैँसी, बाख्रा, कुखुरापालन गर्नुका साथै व्यावसायिक तरकारीखेती पनि गरिरहेका छन् ।

बोहरा दम्पतीले दुधालु भैँसी तीन, एउटा गाई, माउबाख्रा ५ र कुखुरा १४ वटा पालेका छन् । बाह्रै महिना दूध बिक्री गर्ने योजनाका साथ पालेका गाईभैँसीले अहिले प्रशस्त आम्दानी दिइरहेका भोजबहादुरले बताए । दूधका साथै गोबरलाई मलका रुपमा बेचेर थप आम्दानी गरिरहेका उनको भनाइ थियो । बिहान उज्यालो नहुँदै बोहरा दम्पती गोठमा पुग्छन् । गोठभरिका गाईभैँसी र बाख्रालाई दानापानी दिने, दूध दुहुने, दूध बिक्रीका लागि बजार लैजाने, बारीमा खनजोत गर्नेलगायत कामले दैनिकी बित्ने गरेको बोहरा दम्पती बताउछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भोजबहादुरले तरकारीखेतीका लागि छ वटा प्लाष्टिकका घर निर्माण गरेका छन् । प्लाष्टिकका घरमा फल्ने तरकारीका लागि आवश्यक मल गोठमा बाँधेका पशुचौपायाबाट आउने गरेको भन्दै बारीमा गोलभेँडा, बन्दा, काउली, घिरौँला, करेलालगायत तरकारी फलिरहेका उनले जानकारी दिए । ४ वर्ष माल्दिभ्स र १ वर्ष साउदी अरेबियामा काम गरेर स्वदेश फर्किकेका भोजबहादुरले तरकारी खेती गर्न थालेको १० वर्ष भयो । मासिक ५० हजारदेखि ७० हजार आम्दानी हुने उनले जानकारी दिए । उनका अनुसार मासु, दूध, मल तथा तरकारी मुख्य आम्दानीको स्रोत भएको छन् ।

“विदेशमा १४ घण्टा खटेर मुस्किलले ४० हजार कमाइ हुन्थ्यो । अहिले परिवारसँगै बसेर, दैनिक १० घण्टा काम गर्दा विदेशमाभन्दा बढी आम्दानी भइरहेको छ”, भोजबहादुरले भने, “छोराहरुको पढाइ खर्च, जीविकोपार्जन यही पेसाबाट भइरहेको छ । स्वदेशमा काम गर्ने योजना हुनुपर्छ, विदेशमाभन्दा बढी आम्दानी गर्न सकिन्छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्