काठमाडौं । मेलम्चीमा गएको बाढी र पहिरोले करिब एक घरधुरी बराबर ७० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच तथ्यांक सार्वजनिक गरिएको हो ।
अनुसन्धानमा क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरुले जीविकोपार्जनका लागि लिएको बैंकको ऋणलाई पनि समावेश गरिएको थियो । मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकाले दिएको तथ्यांक र पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले प्रतिघरधुरी करिव ७० लाख बराबरको आर्थिक हानि, नोक्शानी भएको देखाएको अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले जानकारी दिएका छन् । बाढीले प्रत्यक्ष हानी नोक्शानी भन्दा बढी गैर आर्थिक हानी नोक्सानी गरेको अध्ययन देखाएको छ । गैर आर्थिक हानी नोक्सानी तथ्यांक यसमा समेटिएको छैन । अध्ययनले समुदायमा मनोसामाजिक समस्या पनि देखाएको छ । प्रभावित भएका ८५ प्रतिशत घरधुरीमा समस्या देखिएको अनुसन्धानकर्ता पराजुलीले बताए ।
वातावरणविद् प्रविणमान सिंहले यो अनुसन्धान जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको बताए । उनले नेपाल सरकारले उपलब्ध गराएको तथ्यांक र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा अध्ययन गरिएको पनि बताएका छन् । मेलम्ची नगरपालिकाले सो क्षेत्रमा करिव ६५ अर्ब बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक गरेको थियो । त्यसैको आधारमा आफूहरुले आर्थिक र गैरआर्थिक दुवै क्षेत्रको क्षतिको विवरण संकलन गरेको वातावरणविद् सिंहले बताए । उनले भने, ‘नेपाल सरकारले दिएको क्षति तथा नोक्शानका तथ्यांकमा टेकेर यो प्रतिवेदन ल्याएका छौं । र अन्तर्राष्ट्रिय प्राक्टिसहरुमा भएका कुराहरुलाई हामीले यहाँ समेटेका छौं । जति पनि हरितगृह ग्याँस उत्सर्जन भएका छन् । त्यो मानव सिर्जित क्रियाकलापहरुले गर्दाखेरी त्यो ग्यास उत्सर्जन भएको हो । त्यसको कारणले गर्दा तापक्रम बढेको र त्यसले विपद्का घटना घटेको र त्यसले क्षति तथा नोक्शानी गरेको भनेर जलवायु परिवर्तनको भाषामा यसरी बुझ्न आवश्यक हुन्छ ।’
कार्यक्रममा मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले मेलम्चीमा बाढी आएलगत्तै आफूहरुले घरधुरीको आधारमा राहत दिएको र पुनर्निर्माणको कामलाई तिब्रता दिएको बताउनु भयो । उनले नेपाल सरकारको नीतिमै नभएको कृषकलाई प्रतिघरधुरी लालपूर्जाको आधारमा १० हजारका दरले राहत उपलब्ध गराएको पनि बताए । मेलम्ची नगरपालिकाले हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लागतमा २४४ वटा घर पुनर्निर्माणको काम गरिरहेको वातावरण अधिकृत दुलालले जानकारी दिएका छन् ।
मेलम्चीमा गएको बाढीबाट भएको हानी नोक्शानी बारे पहिलो पटक वृहत अध्ययन सार्वजनिक भएको हो । यसमा आर्थिक तथा गैरआर्थिक पक्षलाई पनि समेटिएको छ । जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको अध्ययनले आर्थिक र गैरआर्थिक क्षति तथा नोक्शानीको तथ्यांक संकलन गरेको हो । यसअघि मेलम्चीको आर्थिक र गैरआर्थिक क्षति तथा नोक्शानीको अध्ययन गरिएको थिएन । सांस्कृतिक र धार्मिक क्षेत्रमा परेको असरबारे पनि अध्ययन गरिएको छ । गैर–आर्थिक हानि र नोक्शानीले मौद्रिक हिसावले सजिलै मापन वा क्षतिपूर्ति गर्न नसकिने प्रतिकुल प्रभावहरूलाई बुझाउँछ । यसले समुदाय र मानव जीवनको क्षति, सांस्कृतिक र सामाजिक प्रभावहरू, जैविक विविधताको हानि, सेवाहरूको अवरोध लगायतलाई समेटेको हुन्छ । अध्ययन प्रतिवेदनले क्षति कम गर्नका लागि अन्तर्राष्ट्रिय वित्तको आवश्यकतालाई पनि औंल्याएको छ । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्