Shikhar Insurance
National Life

मकवानपुरगढीमा वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण

सिंहदरबार संवाददाता
२०८० माघ ५, शुक्रबार १६:२६
Hyundai
NCELL
NIMB

मनहरी । मकवानपुरगढी गाउँपालिकाले वडास्तरबाट नै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । बैंकमार्फत वितरण गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता अब विकट क्षेत्रका वडामा भने वडा तहबाटै वितरण सुरु गरिएको हो ।

मकवानपुरगढी गाउँपालिकामा आठ वडा छन् । जसमध्ये वडा नम्बर ८ मा वडास्तरबाट बिहीबार पहिलो चरणको भत्ता वितरण सुरु गरेको हो । यातायात र बैंकसँगको पहुँच नभएका, वृद्धवृद्धा, अशक्त अपाङ्गता भएका नागरिकलाई समस्या भएपछि वडा तहबाटै भत्ता वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए। गाउँपालिकाको केन्द्र मक्रान्चुलीमा नबिल बैंक छ । विभिन्न वडाका नागरिकलाई यहाँ आउन समस्या भएपछि वडाबाटै भत्ता वितरण गरेको अध्यक्ष स्याङ्तानले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वडा ८ बूढीचौरमा ६७ जना लाभग्राहीलाई बिहीबार सामाजिक सुरक्षा भत्ता रकम प्रदान गरिएको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख रघुनाथ हुमागाईंले जानकारी गरे । प्रदेश राजधानी हेटौँडासँग जोडिएको पालिका भए पनि यस गाउँपालिकाका केही वडा विकट र दुर्गममा रहेकाले वडाबाटै भत्ता वितरणको सुरुआत गरिएको हुमागाईंले बताए । अहिले दोस्रो किस्ताअन्तर्गत वडा नम्बर ८ र वडा नम्बर १ लाई विशेष प्राथमिकतामा राखेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको उनले सुनाए ।

बूढीचौरमा १६९ जना लाभग्राही छन् । पहिलो दिन ६७ जनालाई भत्ता दिइएको छ । भत्ता वितरण कार्यक्रममा वडा सदस्य गोकुल देवकोटा, बैंक तथा पालिकाका कर्मचारी, इलाका प्रहरी कार्यालय मकवानपुरगढीका सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

बूढीचौरका नागरिक गाउँपालिकाको कार्यालय जान भीमफेदी गाउँपालिकाको बाटो हुँदै हेटौँडा बजारबाट मक्रान्चुली पुग्न बाध्य छन् । हिउँदको समयमा सुकौरा हुँदै आवतजावत गरे तापनि बर्खाको समयमा भने भीमफेदीतर्फको सडक प्रयोग गर्नुपर्ने बाध्यता छ । बूढीचौर पृथ्वीनारायण शाह भीमफेदीको चिसापानीगढीबाट मकवानपुरगढी दरबार आउने जाने पैदलमार्गको रुपमा खुडेधार पैदलमार्ग पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ ।
–––

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्