काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गर्दै प्राधिकरणमा नयाँ अध्यक्ष छनौटका लागि समिति गठन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत संयोजकत्वमा छनौट समिति गठन गरेको हो । सरकारले दुर सञ्चार प्राधिकरणका अध्यक्षले मंगलबार नै दिएको राजीनामा स्वीकृत गरेर सोही दिन नयाँ अध्यक्ष छान्न समिति गठन गर्दा पनि नेपाल धितोपत्र बोर्डको नेतृत्व चयनले भने कुनै महत्व पाएन् । यतिसम्मका धितोपत्र बोर्डमा दैनिक कार्य सञ्चालनका लागि प्रतिनिधी समेत तोकिएन् । जबकी प्राधिकरणमा सञ्चालक समिति सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको छ, र उनले अर्काे व्यवस्था नभएसम्म सो जिम्मेवारी बहन गर्नेछन् ।
२२ महिने कार्यकाल सकेर बाहिरिए हमाल, नयाँ अध्यक्षका लागि दौडधुप तिब्र, नयाँ स्टक कसलाई ?
उता, नेपाल धितोपत्र बोर्डमा भने पुस २० गतेदेखि नै अध्यक्ष पद खाली छ । बोर्डका तत्कालिन अध्यक्ष रमेश हमालले आफ्नो २२ महिने(भिष्म ढुंगाना निलम्बनमा परेपछिको बाँकी अवधी) कार्यकाल पुरा गरेर पुस २० गते घर फर्किएका थिए । पुस २० गतेदेखि रिक्त रहेको बोर्ड अध्यक्षमा न सरकारले कार्यवाहक अध्यक्ष तोकेको छ न त दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि बोर्ड व्यवस्थापनका कुनै कर्मचारीलाई जिम्मेवारी नै दिएको छ । अर्थात यतिबेला धितोपत्र बोर्डको नयाँ नेतृत्व सरकारको प्राथमिकतामै देखिएन् ।
स्रोतका अनुसार धितोपत्र बोर्डले तत्कालै नयाँ नेतृत्व पाउने सम्भावना न्युन छ । त्यसको कारण हो, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि भैरहेको ‘कर्पाेरेट वार’ ।
नयाँ स्टकको एक्सचेञ्जका लागि हिमालयन स्टक, नेशनल स्टक र अन्नपूर्ण स्टक नामका तीन वटा आवेदन परेका छन् । यीमध्ये हिमालयन स्टक र नेशनल स्टकका लगानीकर्ताहरुका बीचमा ठूलो कर्पाेरेट वार छ । उनीहरु कुनै हालतमा नयाँ स्टकको लाइसेन्स आफुले पाउनुपर्ने अभियानमा छन् ।
नेपालको सिंगो बिजनेश कम्युनीटी दुई कित्तामा उभिएर लाइसेन्सका लागि भिडिरहेको र एकले अर्काेलाई देख्नै नसक्ने अवस्था निर्माण भएकाले नयाँ स्टकको लाइसेन्स पेचिलो बनेको हो ।
नयाँ स्टकको लाइसेन्सले सत्ता गठबन्धनमा खटपट, बालुवाटार बैठकमा के के भयो ?
त्यहि नयाँ स्टकको लाइसेन्स दौडका कारण धितोपत्र बोर्डमा आफु अनुकुलको पात्रलाई अध्यक्ष बनाउने लबिङमा दुबै समुह लागिपरेका छन् । त्यसका लागि आफु अनुकुलका पात्रहरुको धमाधम खोजी जारी छ । सरकारमाथि पनि बोर्ड अध्यक्ष र स्टकको लाइसेन्सका लागि व्यवसायीक समुहहरुले निरन्तर दबाव बढाईरहेका छन् ।
केहि दिन अघि बसेको सत्तारुढ गठबन्धनको बैठकमा समेत नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सबारे कुरा उठेको थियो । काँग्रेस सभापति शेर बहादुर देउवाले तत्कालै नयाँ स्टकलाई लाइसेन्स दिनुपर्ने धारणा राखेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले ‘माहोल ठिक नभएको’ तर्क गरेका थिए ।
एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका कारण गठबन्धन नै बदनाम बन्ने अवस्था रहेको टिप्पणी गरेका थिए । सोही बैठकमा सत्तारुढ गठबन्धनबीच तत्काल नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि नबढाउने समझदारी बनेको स्रोत बताउँछ ।
उनीहरुले अहिले नै धितोपत्र बोर्डमा नयाँ अध्यक्ष चयनको प्रक्रिया अघि बढाउँदा नयाँ स्टकको लाइसेन्ससँग जोडेर नकारात्मक सन्देश जाने निष्कर्ष निकालेका थिए ।
तर सत्तारुढ गठबन्धनले तत्काल नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि नबढाउने समझदारी गरेको भए पनि बोर्डमा कामु अध्यक्ष पनि नतोकिँदा गठबन्धन नै पुँजी बजार प्रति सम्वेदनशिल नभएको सन्देश स्थापित भएको छ । छिन छिनमै चलखेल हुने पुँजी बजारको नियामक निकायमा कामु नेतृत्व समेत नतोक्दा बजारको चलखेल झनै बढ्ने देखिन्छ ।
स्रोतका अनुसार नयाँ स्टक एक्सचेञ्जको लाइसेन्समा अरबौंको आर्थिक चलखेल हुने सूचना शिर्ष नेताहरुसम्म पुगेको थियो । त्यहि चलखेलका नाममा गठबन्धन नै बदनाम हुने भन्दै एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले बैठकमा सचेत हुन भनेका थिए ।
को को छन् दौडमा ?
स्रोतका अनुसार अब अध्यक्ष बन्ने दौडमा बोर्डकै कार्यकारीहरु डा. नबराज अधिकारी, कृष्ण पोखरेल र मुक्ति श्रेष्ठको नाम उच्च प्रतिष्पर्धामा छ । बाहिरबाट भने बोर्डका पूर्व कार्यकारी अधिकृत निरज गिरी, नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर शिबराज श्रेष्ठ र चिन्तामणी शिवाकोटीले पनि बोर्ड अध्यक्ष बन्नका लागि शक्ति केन्द्र रिझाउने प्रयास गरिरहेका छन् ।
त्यस बाहेक तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ, नेप्सेका पूर्व जीएम चन्द्रसिंह साउँद, नेप्सेको अहिलेका जीएम कृष्ण कार्कीको नाम पनि चर्चामा छ । हिमालयन स्टक एक्सचेञ्जका लागि आवेदन दिएको समुहले मुक्ति श्रेष्ठ, निरज गिरी र चिन्तामणी शिवाकोटीमध्ये एक जनालाई अध्यक्ष बनाउने गरि प्रयास गरिरहेको स्रोत बताउँछ ।
नेशनल स्टक एक्सचेञ्जको लाइसेन्सका लागि प्रयास गरिरहेको समुहले भने चिरञ्जीवी चापागाईँ वा डा. नबराज अधिकारीको नाम अघि सारेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्