बिष्णु प्रसाद न्यौपाने, सुलभ अग्रवाल र मैले मिलेर एउटा उद्योग खोलेका थियौं । त्यसमा बिष्णु न्यौपानेको र सुलभ अग्रवालको ३७.५/३७.५ प्रतिशत र मेरो २५ प्रतिशत सेयर लगानी थियो ।
नेपालमा रहेका चाउ, बिस्कुट उद्योगहरुका लागि प्याकिङका समान उत्पादन गर्ने भन्ने थियो । त्यतिञ्जेल यी उत्पादन विदेशबाट आउँथे । मेरै योजनामा हामीले उद्योग खोलेका थियौं । सुरुमा हाम्रो उद्योग काठमाडौंमा थियो र पछि त्यसलाई भैरहवामा सारियो । आर्थिक बर्ष २०६५।६६ देखि हामीले भैरहवाको उद्योगबाट उत्पादन थाल्यौं । कम्पनी राम्रोसँग चलिरहेकै थियो । लोडसेडिङको समय पनि थियो त्यो । मित्रहरुले उद्योगलाई अलग ढंगले चलाउनुपर्छ भन्नु भयो । पेपर मिलाएर भ्याट खाने भन्ने उहाँहरुको योजना रहेछ । मैले त्यस्तो हुँदै नहुने काम नगरौं भने । त्यसपछि उहाँहरुले मलाई ‘तपाईँ छाड्नुस’ भन्नुभयो ।
मैले ‘म किन छाड्छु ?’ भनिरहेँ ।
त्यसपछि उहाँहरुले दबाब दिएर कारखाना बन्द गराईदिए । ७५ प्रतिशत सेयर हाम्रो छ, हामीले जे चाह्यो त्यहि हुन्छ भन्नुहुन्थाे उहाँहरु । काठमाडौंमा कार्यालय राख्ने, उद्योग राम्रोसँग चलाउने भन्ने थियो । स्युचाटारमा पाँच रोपनी जमिन पनि किनिएको थियो । अलिपछि बिष्णु न्यौपानेले सुलभसँग कुरा पनि मिलेन, यो कम्पनी तपाई नै चलाउनुस् भनेका थिए । हामीले कम्पनीमा पैसा चाहिएको समयममा डारेक्टर्स लोन भनेर जसको जति सेयर छ, त्यति नै पैसा हाल्ने गरेका थियौं । एक करोड रुपैयाँ हाल्नु पर्दा २५ लाख रुपैयाँ मैले हाल्ने, ३७ लाख ५० हजारका दरले उहाँहरुले हाल्ने गरेका थियौं । यी कुराहरु कम्पनीको वित्तिय विवरणमा पनि आईरहेको थियो ।
यत्तिकैमा २०६७।६८ मा आएर कारखाना बन्द गर्ने भनेपछि उहाँहरुले कम्पनीमा एकलौटी गर्न थाल्नु भयो । त्यतिञ्जेल चेकमा पनि मेरो हस्ताक्षर चल्थ्यो । उहाँहरुले चेक पनि आफैं चलाउन थाल्नुु भयो, आफैं मिटिङ राख्नु भयो, साधारण सभा पनि गर्नु भयो । कम्पनीको प्रबन्धपत्र नियमावलीमा तीन जना सेयर धनीको सञ्चालक समिति रहने भनिएको थियो र त्यसको कार्यकाल चार बर्षको हुनेछ भन्ने थियो । उहाँहरुले मलाई फोन, एसएमएस गरेर कहिल्यै पनि बैठकमा बोलाउनु भएन् । त्यतिबेला कम्पनीको अफिस अहिलेको न्यौपोन टावर(त्यतिबेलाको जगदम्बा टावर)मा थियो । म पनि त्यहिँ बस्थे । त्यसपछि उहाँहरुले कार्यालयमा पनि बस्न दिनु भएन् । गार्डलाई भनेर पार्किङ गर्न दिनै छाडे । अलि पहिलेसम्म सलाम गर्ने गार्डहरुले मलाई पार्किङमै गाडी राख्न नदिने काम भयो । उहाँहरुले मेरो फोन पनि उठाएनन् ।
त्यो भन्दा अघि उनीहरुले कारखाना तपाईँ नै चलाउनु होला भनेका थिए । मैले पैसा पनि हालेको थिएँ । पछि मैले उद्योग चलाउँछु भन्दा उहाँहरुले जेनेरेटर चाँही अर्कै उद्योगमा सारिसक्नु भएको रहेछ । लोडसेडिङको समयमा जेनेरेटर लगेपछि के हुन्छ होला ? मलाई पैसा हाल भनेर जेनरेरट चाँही किन लानु भएको भनेर सोँधे मैले । कर्मचारीहरु पनि बोलाएँ भनेको थिएँ । उहाँहरुले चलाउन सके चलाउनुस् नत्र जे सुकै गर्नुस, हामी जगदम्बा रेटो प्याकिङका नाममा चाँही चलाउन सकिँदैन भने ।
म अर्काे नामबाट भए पनि कारखाना चलाउन परो भन्दै गएको थिएँ । तर लुम्बिनी रोडको एक किलोमिटर भित्र नयाँ उद्योग दर्ता हुँदैन भनेपछि म पछि हटेँ ।
उहाँहरुले पछि मलाई थाहै नदिई साधारण सभा गर्नु भएछ । पत्रिकामा सूचना पनि निकाल्नु भएछ । तीन जना सञ्चालक समिति भएको कम्पनीको साधारण सभाका लागि पत्रिकामा किन छपाउनुपर्थ्यो र ? एउटा फोन वा एसएमएस गरेको भए हुन्थ्यो । अर्कै ठेगानामा चिठ्ठि पनि पठाउनु भएको रहेछ ।
उहाँहरुले हाम्रो कम्पनीको सबै सम्पति क्वालीटी रोटो प्याकेजिङ नामको कम्पनीलाई ६ करोड रुपैयाँमा बेच्नु भएछ । १० करोड ७० लाख रुपैयाँ मूल्यांकन गरिएको कम्पनी उहाँहरुले ६ करोडमै बेचिदिनुभयो । त्यो कम्पनी म आफैं ६ करोड रुपैयाँमा किन्न तयार हुन्थे तर उहाँहरुले सुटुक्क कम्पनी बेचिदिनु भयो ।
मैले थाहा पाएपछि बुटवल उच्च अदालत र पाटन उच्च अदालतमा मुद्धा हालेँ । उद्योग बुटवलमा भएकाले त्यहाँ पनि मुद्धा हालेको थिएँ । बुटवलले मलाई मुद्धा हराईदियो ।
उच्च अदालत पाटनले भने मैले डाइरेक्टर्स लोन पनि हालेको हो, एक पटक हालेको देखियो, त्यसकारण यसमा बदनियत देखियो भन्यो । मलाई कम्पनीको सञ्चालक समितिमा राखेर कम्पनी चलाउनु भनेको थियो । मैले मेरो लगानी फिर्ता गर्न पाउनु पर्यो फेरि मुद्धा हालेँ । पछि सर्वाेच्च अदालतले अहिले मलाई पूर्ण न्याय दिएको छ ।
अहिले सर्वाेच्च अदालतले भने प्राइभेट लिमिटेड कम्पनीमा अल्पमत सेयरधनीको पनि उत्तिकै हक हुन्छ । उसलाई नसोधी कम्पनी बेचबिखन गर्न पाइन्न भन्ने फैसला गरेको छ । फैसलाले अल्पमतको हक र हित दुबैको राम्रोसँग ब्याख्या गरिदिएको छ । अब यसले भविष्यमा पनि प्राली कम्पनीका अल्पमत सेयरधनीहरुको हितमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
हामी सबैलाई थाहा छ की सुलभ अग्रवाल र बिष्णु न्यौपानेको कति पहुँच छ ? उहाँहरुसँग सहसचिव र सचिव पनि डराउँछन् । उहाँहरुले कतिखेर हाम्रो सरुवा गरिदिन्छन् भनेर डराईरहेका हुन्छन् । मलाई त उनीहरुले केहि पनि सोचेका थिएनन् ।
तर अदालतले भने ममाथि न्याय गरेको छ । मेरो लगानीको सुरक्षा नभएपछि मैले नेपाल उद्योग बाणिज्य महासंघका तत्कालिन अध्यक्ष प्रदिपजंग पाण्डे, पूर्व उपाध्यक्ष प्रदिपमान वैद्यसँग छलफल भएको थियो । उहाँहरुले अदालत जाने भन्दा पनि बसेर मिल्नुपर्छ भन्नु भएको थियो । तर पछि न्यौपाने र अग्रवालजीहरु सम्पर्कमै आउनु भएन् । त्यतिबेला प्रदिपजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्ष हुनुन्थ्यो, प्रदिपमान वैद्य चाँही सेञ्चुरी बैंकको अध्यक्ष हुनुहुन्थ्यो र बिष्णु न्यौपाने कमर्ज एण्ड ट्रष्टको अध्यक्ष हुनुहुन्थ्यो ।
उहाँहरुसँग बसेर अन्नपूर्ण होटलमा वार्ता भएको थियो, पछि बिष्णु न्यौपानेले फोन उठाउनै छाड्नु भयो ।
क्वालीटी रोटो प्याकेजिङ भनेको सौरभ ग्रुपको एउटा लगानी भएको कम्पनी हो भनेर वेभसाइटमा राखिएको छ । अदालतले मेरो लगानीको साँवा तथा ब्याज जोडेर सुलभ अग्रवाल र बिष्णु न्यौपानेसँग असुल्न भनेको हो । अब म फैसला कार्यान्वयनका लागि अघि बढ्नेछु (आफ्नै लगानीको सुरक्षाका लागि अदालत धाएका व्यवसायी दाहालसँग गरिएको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस्