काठमाडौं । धुम्बाराहीले नातेदार च्याप्दा सीटीईभीटीको सदस्य सचिव छनौटमा ढिलाई भएको छ । राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्यको नेतृत्वमा छनौट समिति गठन भएर तीन जनाको नाम सिफारिस भएको चार हप्ता पुगिसक्दा पनि सीटीईभीटीले नयाँ सदस्य सचिव प्राप्त सकिरहेको छैन् । सीटीईभीटीमा नयाँ सदस्य सचिव नियुक्ती प्रक्रियामा ‘धुम्बाराही’ले अतिरिक्त सक्रियता देखाउँदा फाइल नै मन्त्रिपरिषद जान नसकेको हो ।
सीटीईभीटीमा शिक्षा मन्त्री अध्यक्ष रहने व्यवस्था छ भने मन्त्रिपरिषद बैठकले उपाध्यक्षको नियुक्ती गर्नेछ । त्यस्तै, प्रशासकिय नेतृत्वका लागि भने सदस्य सचिव नियुक्त गर्नुपर्ने व्यवस्था छ । करिब सात महिनादेखि सदस्य सचिव बिहिन रहेको सीटीईभीटीमा नयाँ सदस्य सचिव छान्न राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य डा. रमेश पौडेलको नेतृत्वमा छनौट समिति गठन भएको थियो । छनौट समितिमा शिक्षा सचिव सुरेश अधिकारी र विज्ञ सदस्यमा पूर्व सचिव केशब भट्टराई रहेका थिए ।
सीटीईभीटीमा सदस्य सचिव बन्नका लागि ८ जनाले आवेदन दिएका थिए । छनौट समितिले तिनै आठमध्येबाट महेश भट्टराई, टेक बहादुर मल्ल र बिनोद बडालको नाम सिफारिस गरेको थियो । अन्तिम सिफारिसमा परेका तीनै जना सीटीईभीटीकै उच्च तहमा कार्यरत कर्मचारी हुन् । एक नम्बरमा नाम सिफारिस भएका महेश भट्टराई निमित्त सदस्य सचिवको जिम्मेवारीमा छन् भने टेक बहादुर मल्ल नेशनल स्किल टेस्टिङ बोर्डमा छन् । त्यस्तै, बिनोद बडाल भने क्वालीटी प्रोजेक्टमा प्रोजेक्ट डाइरेक्टरका रुपमा कार्यरत छन् ।
डेढ बर्ष भन्दा कम समय मात्रै कार्यकाल बाँकी रहेका टेक बहादुर मल्ललाई सदस्य सचिव नियुक्ती गर्न धुम्बाराहीले दबाव दिँदा प्रधानमन्त्री अलमलमा परेको स्रोत बताउँछ । सिफारिसमा परेका तिनै जना काँग्रेस निकटका कर्मचारी हुन् । काँग्रेस सभापति शेर बहादुर देउवा र सांसद आरजु राणाले आफ्ना आफन्त समेत पर्ने डढेलधुराका मल्ललाई च्याप्दा प्रधानमन्त्री दबावमा परेका हुन् । ‘मल्ल जीको कार्यकाल जम्मा डेढ बर्ष जति मात्रै बाँकी छ, तर उहाँलाई नियुक्त गर्न निकै ठूलो दबाव छ, उहाँ त देउवा जीको नातेदार पनि हो रे’ उच्च स्रोतले सिंहदरबारसँग भन्यो ।
केहि दिन अघि नेपाल बैंकको सीईओमा पनि धुम्बाराही ग्रुपकै दबावमा तिलकराज पाण्डेले बाजी मारेका थिए । हरेक जसो नियुक्ती तथा सरुवा बढुवामा धुम्बाराही हावी हुन थालेपछि पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अतिरिक्त दबाव महशुस गरिरहेको स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस्