Shikhar Insurance
National Life

बासी तथ्यांकमा अर्थमन्त्रीको पट्यार लाग्दो ब्रिफिङ, मौद्रिक नीतिको ‘जस’ लिन खोज्दा फेरि चिप्लिए

सिंहदरबार संवाददाता
२०८० मंसिर २७, बुधबार १७:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत लचकता अपनाएको केहि दिनपछि अर्थमन्त्री डा. प्रकाशशरण महत अर्थमन्त्रालयमै प्रेस ब्रिफिङमा झुल्किए । बिहान ११ बजेका लागि डाकिएको पत्रकार सम्मेलन ११ः१५ बजे सुरु भएको थियो । जसमा अर्थमन्त्रीले करिब चार पृष्ठ लामो चार बुँदे विज्ञप्ति वाचन गरेर सुनाए ।

‘अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशा’ शिर्षकको लिखित दस्तावेजलाई अनौपचारिक रुपले वाचन गरेका डा. महतले तथ्यांक भने दुई महिना पुराना सुनाए । उनले अघि सारेका अधिकांश तथ्यांक असोज मसान्तका थिए । अर्थतन्त्रको अवस्थाबारे जानकारी दिने भनिएको सम्मेलनमा मुलतः मौद्रिक नीतिको समिक्षापछि सेयर बजारमा देखिएको सकारात्मक प्रभावको ‘जस’ लिने प्रयासमै केन्द्रित थियो । ‘घर जग्गा र सेयर कारोबार बढ्न सुरु भएको छ । हालै सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ ।’ अर्थमन्त्रीले भनेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आफ्नो अथक मेहनतपछि मात्रै मौद्रिक नीतिको समिक्षा मार्फत खुकुलो नीति आएको दावी गर्दै त्यसको श्रेय लिने थप प्रयास पनि गरे । ‘त्यसै गरि अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक बीचको उच्चस्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमशः खुकुलो बनाउँदै लगिएको छ ।’, अर्थमन्त्री डा. महतले भनेका छन् ।

तर दुर्भाग्य आफ्नो प्रयासबाट खुकुलो बनेको मौद्रिक नीतिको समिक्षा के हो ? भन्ने भेउ भने न अर्थमन्त्रीले पाए न त उनको टिमले नै । अर्थमन्त्रीले आफ्नो लिखित दस्तावेजमै मौद्रिक नीतिको चौमासिक समिक्षा लेखिदिएका छन् । हालै मौद्रिक नीतिको चौमासिक समिक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको छ ।’, मन्त्री डा. महतले भनेका छन् । जबकी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको चौमासिक होइन, त्रैमासिक समिक्षा गर्दै आईरहेको छ ।

दुई महिना पुराना तथ्यांकमा सुधारको जिकिर
अर्थमन्त्रीको दस्तावेजमा लेखिएको छ–‘अर्थतन्त्रको बाह्य क्षेत्रका परिसूचकहरु अनुकूल बनेका छन् । २०८० असोज मसान्तसम्म चालु खाता रु ५९ अर्बले बचत रहेको, रु ९९ अर्ब शोधनान्तर बचत रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनियम सञ्चित रहेको छ । विप्रषणको आप्रवाह २०८० असोजसम्ममा ३० प्रतिशतले बढेकोले बाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो छ ।’

राष्ट्र बैंक, सेबोन र बीमा प्राधिकरणमाथि सुक्ष्म निगरानी जारी छ
अर्थमन्त्री डा. महतले वित्तिय क्षेत्र, बीमा र पुँजी बजारका नियामक निकायहरुमाथि मन्त्रालयले सुक्ष्म निगरानी गरिरहेको दावी पनि गरे । ‘राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डका गतिबिधी माथि सुक्ष्म निगरानी गरिरहेका छौं । उनीहरु पनि कानुन भन्दा माथि छैनन्, उनीहरुलाई पनि जथाभावी गर्न दिँदैनौं ।’, मन्त्री डा. महतले भने ।

कोरोना बीमाको पैसा दिन्छौं तर छानविन हुनुपर्छ
उनले कोरोना बीमाको दावी वापतको दायित्व सरकारले स्वीकार गरिसकेकाले आवश्यक रकम उपलब्ध गराउने बताए । तर बीमा कम्पनीहरुले पेश गरेको तथ्यांकमाथि छानविन भने आवश्यक रहेको उनले बताए । ‘कोरोना बीमाका सवालमा त्यसको दायित्व सरकारले स्वीकार गरिसकेको अवस्था हो, हामी क्रमशः दिँदै जान्छौं तर त्यसको तथ्यांकमा जे गडबढी छ, त्यो भने छानविन हुनुपर्छ, सहि तथ्यांक उपलब्ध हुनुपर्छ, त्यतिकै पैसा दिने कुरा भने हुन्न ।’, मन्त्री डा. महतले भने ।

सेयर बजार र घरजग्गामा पैसा पार्क भयो
उनले सेयर बजार र घरजग्गामा धेरै पैसा पार्क भएर बसेको बिषय भने पुनः महत्वका साथ उठाए । नेपाल राष्ट्र बैंकले समयमै नियमन नगर्दा सेयर बजार र घरजग्गामा धेरै ऋण गएर अर्थतन्त्रमै समस्या आएको आरोप पनि लगाए । ‘धेरै पैसा सेयर बजार र घरजग्गामा पार्क भयो, माग भन्दा धेरै पैसा त्यता गायो । लगानी गर्ने ठाउँ नै नहुँदा पनि सबै भन्दा धेरै ऋण त्यहिँ गएको छ, नियामक र बैंकहरुले पनि ऋणीहरुलाई जथभावी कर्जा दिए, अहिले त्यसकै प्रभाव देखिएको हो ।’, डा. महतले भने ।

डेढ घण्टाको पट्यार लाग्दो ब्रिफिङ
११ः१५ बजेतिर सुरु भएको अर्थमन्त्रीको ब्रिफिङ करिब डेढ घण्टा चलेको थियो । सुरुमा आफ्नो दस्तावेजलाई अनौपचारिक रुपले वाचन गरेका अर्थमन्त्रीले त्यसपछि पत्रकारहरुसँग प्रश्न लिएका थिए । तर अन्तिममा यस्तो अवस्था आयो कि पत्रकारहरु दिक्क मानेर आफैं हलबाट निस्केर हिड्न थालेपछि मन्त्रीले हतार हतार आफ्ना कुरा टुङग्याउनु परेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्