गलकोट । धेरै कथा सुनिन्छन् तर लिपिबद्ध छैनन् । पछिल्लो समय पुस्तान्तरणको अभावमा धेरै लोक कथा तथा किम्वदन्ती भइसके । पछिल्लो समय सुन्दै आएका कथा हराउने खतराबढेपछि बागलुङका लोक कथालाई पढ्न मिल्लेगरी लिपिबद्ध गरिएको हो । बागलुङ जिल्लामा सुन्दै आएका लोक तथा दन्त्य कथा हराउने जोखिम बढेपछि लिपिबद्ध गर्ने अभियान अन्तर्गत पहिलो चरणमा बागलुङ जिल्लामा सुनिँदै आएका नौ वटा लोक तथा दन्त्य कथा लिपिबद्ध गरिएको हो । लिपिबद्ध गरिएका अधिकांश कथा ठाउँको नामाकरण र सत्यतासँग जोडिएकासमेत छन् । बढ्दो प्रविधिको प्रयोगले पुराना लोक तथा दन्त्यकथा अभिभावकबाट सुनिन छोडेपछि पुस्तान्तरण नहुने खतरा छ । बाजेबज्यैको मृत्युपछि पुस्तान्तरण अभावमा लोक कथा तथा किम्मदन्ती हराउँदै जाने जनाउँदै जिल्लामा पहिलो पटक बागलुङ जिल्लाभित्र रहेका लोक कथा, दन्त्य कथा र किम्मदन्ती संरक्षणका लागि सङ्कलन गरेर लिपिबद्ध गरिएको हो ।
यहाँको राणाकालीन पुस्तकालय विद्यामन्दिर पुस्तकालयको पहल तथा रिड नेपालको आर्थिक सहयोगमा बागलुङका ९ वटा लोक तथा दन्त्य कथा लिपिबद्ध गरिएको हो । सुन्दै आएका कथा पछिल्लो पुस्तामा नपाइने भएकाले उक्त कथाहरुलाई लिपिबद्ध गरेर “बागलुङको कथा” नामक पुस्तक निकालिएको विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाले बताए । “पहिलो चरणमा बागलुङ जिल्लाको नामाकरण, कालिका मन्दिरको महिमा, सत्यवती, ओदानेडाँडा लगायतका धेरै चर्चामा आएका कथालाई लिपिबद्ध गरेर पुस्तक निकालिएको छ” थापाले भने “बागलुङका कथा जिल्लाको पहिचानसँग र स्थानसँग जोडिएका छन्, अब बागलुङका कथा पाका पुरानाको मुखबाट मात्रै होइन बालबालिकाको मुखबाटसमेत सुन्न पाइन्छ ।”
पुस्तकमा कथासंग सम्बन्धित चित्रसमेत राखिएको छ जस्ले कथालाई थप पुष्टाइ गर्दै आएको छ । अभिलेखिकरण गरिएका कथा पाका पुराना व्यक्तिबाट सुनेर उक्त कथालाई पुष्टाइने स्थानमा पुगेरै तयार गरिएको हो । इतिहास र प्रमाणका आधारमा भनिएको किम्मदन्ती कथालाई बालबालिकाले पुर्नलेखनसँगै सम्बन्धित रहेर चित्रसमेत कोरेका थिए । सुनाइएका र सुन्दै आएका धेरै कथाबाट पहिलो चरणमा नौ वटा कथा छनोट गरेर प्रकाशित गरिएको छ । जुनकथा अब पुस्तकमार्फत पढ्न पाइन्छ भने पछिल्लो पुस्ताका लागि सन्र्दभ सामग्रीसमेत बन्नसक्ने थापाको भनाइ छ ।
लोक कथाका चार विधामध्येको दन्त्यकथा सत्यतामा आधारित कथालाई बागलुङको परिवेशसँग जोडेर लोककथा संरक्षणसँगै लिपिबद्ध गर्न गरिएको वरिष्ठ बाल साहित्यकार प्राध्यापक डा धु्रव घिमिरेले जानकारी दिए । घिमिरेले बागलुङसँग धेरै कथा जोडिएका थाहा पाएपछि कथा खोज्न केही महिनाअघि बागलुङ आएको बताउँदै बागलुङको कथाले भावी पुस्ताका लागि ऐतिहासिक दस्तावेजको काम गर्ने छ भने लोप भएका लोक कथा जोगाउने बताए ।
पछिल्लो समय बालबालिका इन्टरनेट र विदेशी संस्कृतिसँग अग्रसर हुँदा आफ्नो क्षेत्रको कला तथा संस्कृति विर्सने प्रवृति हाबी भइरहेकाले सुन्दै आएका कथालाई लिपिबद्ध गरिएको बताउँदै रिड नेपालका वरिष्ठ फिल्ड संयोजक बिना गोलेले १० वर्षदेखि लोक कथाको संरक्षण र दस्तावेजीकरण गर्दै आएको जानकारी दिए ।
भावी पुस्ताले उक्त कथा सुन्नै नपाउने खतरा बढेपछि हालसम्म १४ जिल्लाका लोक कथा सङ्ग्रह गरेर लिपिबद्ध गरिएको उनको भनाइ छ । पढाइ, जागिर र अन्य बाध्यताले बाजेबजै र नातिनातिनी एकै स्थानमा बस्ने अवसर नहुँदा पुस्तान्तरण हुनुपर्ने धेरै विषय रोकिएका कारण बाजेबज्यैको कथालाई पुस्तान्तरणको प्रयासस्वरुप यस्तो लोक कथालाई सङ्ग्रह गरिएको हो । एकल परिवारको रुपमा बस्न थालेपछि कथा र कहानी सुन्ने अवसर बालबालिकाले पाउन छाडेपछि पुस्तकमार्फत भए पनि बालबालिकाले कथा पढ्न पाउनेगरी व्यवस्था मिलाइएको हो ।
प्रतिक्रिया दिनुहोस्