चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै कर्जा जग्गा तथा सेयरबजारमा भित्रीरूपमा गएकोले अर्थतन्त्रमा समस्या आएको तर अर्थतन्त्र अहिले विस्तारै सकारात्मक दिशामा गइरहेको बताएका छन् । आज चितवनका पत्रकारसँग कुराकानी गर्दै उनले समस्यामा रहेको अर्थतन्त्रले लय समाउन थालेको तर अर्थतन्त्रमा सुधार आउन भने अझै केही समय लाग्ने बताएका हुन् ।
उनले भने ‘भएका निर्णयका आधारमा सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्रीरूपमा गएकोले अर्थतन्त्रमा समस्या आयो’ डा. महतले भने । उनले ‘घरजग्गाको कारोबारमा सुधार हुन लागेको छ, ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि परिणाम पाउन नसकेकाहरूको हकमा ब्याज, समय थपलगायतका विषयमा सरकारले राहतका लागि कोसिस गरिरहेको छ’ डा. महतले भने ।
अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै उनले ‘नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएकाे बताएका छन् ।’
प्रतिक्रिया दिनुहोस्