Shikhar Insurance
National Life

जाग्दै सत्ती भन्सार : नौ महिनामा लक्ष्यभन्दा दोब्बर राजस्व

सिंहदरबार संवाददाता
२०७८ बैशाख १०, शुक्रबार १०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महिनामै भन्सार राजश्व लक्ष्यभन्दा दोब्बर सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ ।

कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा रु छ करोड सात लाख राजश्व उठाउने वार्षिक लक्ष्य दिएको थियो । त्यो लक्ष्य पहिलो चौमासिकमै पूरा भएपछि थप रु आठ करोड बढाएर रु १४ करोड राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चैत मसान्तसम्म रु नौ करोड ७१ लाख राजश्व उठाउने लक्ष्य दिएकामा रु १३ करोड १६ लाख राजश्व सङ्कलन भएको भन्सार प्रमुख विमलकुमार शाहले बताए । “पहिलो चार महिनामै लक्ष्य पूरा गरेपछि सरकारले पछिल्लोपटक थप लक्ष्य लिएको छ । त्यो पनि पूरा भएको छ । वैशाख महिनामै वार्षिक लक्ष्य पूरा हुनेछ”, भन्सार प्रमुख शाहले भने, “कोरोना सङ्क्रमणपछि सीमा नाका खुला नहुँदा मानिस खुलारूपमा सीमापारि आउजाउ गर्न नसक्दा पनि सबै सामान भन्सारमार्फत आउँदा सहज भएको हो । यसले राजश्व सङ्कलनमा सघाएको छ ।”

पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको प्रमुख शाहको भनाइ छ । “खक्रौला भन्सारबाट कपडा, मोटर पार्ट्स र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन्”, उनले भने, “यससँगै भारततर्फको सडक राम्रो भएको भए अझ सामान आयात बढ्ने थियो । नेपाल सरकारले पशु, वनस्पति र खाद्य क्वारेन्टिन स्थापना गरी पशु, वनस्पति र खाद्य सामग्रीको आयातनिर्यातको व्यवस्था गरे अझै राजश्व बढ्ने देखिन्छ ।”

उता धनगढीस्थित कैलाली भन्सार कार्यालयले पनि नौ महिनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म रु पाँच अर्ब ९७ करोड राजश्व उठाउने लक्ष्य लिएकामा रु छ अर्ब ९२ करोड राजश्व उठेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिए ।

“कैलाली भन्सार कार्यालयबाट यस अवधिमा पेट्रोलियम पदार्थ, चामल, गहुँ, पापड भुजिया, दालमोठ बिस्कुट, आलुजस्ता खाद्यवस्तुको आयात धेरै भएको छ”, भन्सार अधिकृत खतिवडाले भने, “यहाँबाट बढी खाद्यान्न आउने गर्दछ । खाद्यान्नसँगै अन्य सामानसमेत आयात हुन्छ ।”

सरकारले सीमा नाकामा रहेका राजश्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजश्व सङ्कलनमा अझै वृद्धि हुने स्थानीयवासीको भनाइ छ । कैलालीमा सीमा नाका सुरक्षित छैनन्, तस्करहरूले चोरी बाटोबाट सामान आयात गर्ने कारणले राजश्वमा असर पार्छ । सीमामा कडाइ गर्न सकिए र आवश्यक कार्यालय र पूर्वाधारको व्यवस्था गरेमा राजश्व सङ्कलन बढ्छ ।

कैलालीको टीकापुरमा सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको पशु क्वारेन्टिन अहिलेसम्म पुनःस्थापना हुनसकेको छैन । पशु क्वारेन्टिन नभएकै कारण यहाँबाट मासु तथा मासुजन्य सामान आयात हुनसकेको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्