Shikhar Insurance
National Life

म्याग्दे गाउँपालिकाद्धारा लम्पी स्किनबाट पीडित किसानलाई राहत

सिंहदरबार संवाददाता
२०८० मंसिर १२, मंगलवार १४:२४
Hyundai
NCELL
NIMB

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ ।

गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति पशु रु दश हजारका दरले राहत वितरण गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

व्यवसाय पुनःस्थापन सहयोग कार्यक्रमअन्तर्गत ३१ जना किसानलाई ३५ पशुको प्रति पशु रु दश हजारका दरले सहयोग प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सातवटै वडाका किसानलाई गरी कूल रु तीन लाख ५० हजार राहत प्रदान गरिएको छ ।

लम्पी स्किन रोगबाट ४० चौपायाको मृत्यु भएकामा बीमा नगरिएका ३५ पशुको राहत रकम प्रदान गरिएको अधिकारीले बताए । उनले भने, “गतवर्ष महामारीका रुपमा फैलिएको लम्पी रोगका कारण सात वटै वडाका किसान प्रभावित भएका थिए । गाउँपालिकाभर ४० गाई, गोरु, भैँसी, राँगा मरेका थिए । त्यसमध्ये पाँच वटा पशुको बीमा गरिएको थियो । बीमा नगरेकालाई गाउँपालिकाले राहतस्वरुप केही रकम सहयोग गरेको हो ।”

किसानलाई सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा राहत रकम हस्तान्तरण गर्दै अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने, “लम्पी स्किनबाट देशभर पशु सङ्क्रमित भई मृत्युसमेत भयो । हाम्रो पालिकामा पनि उक्त रोगको सङ्क्रमण फैलियो । पशु मरेका किसानलाई केही राहत होस् भनेर व्यवसाय पुनःस्थापन कार्यक्रम ल्याएका हौं।”

गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहका अनुसार गाउँपालिकाका सातवटै वडामा लम्पी स्किनको सङ्क्रमण फैलिएको थियो । सङ्क्रमितमध्ये एक दशमलव ०९ प्रतिशत पशु मरेका थिए । उनका अनुसार गाउँपालिकाले लम्पी स्किनविरुद्ध दुई हजार गाईभैँसीलाई  खोप लगाइसकेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्