काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंककाे संयुक्त लगानी रहेकाे डिजिटल वालेट सेवा नमस्ते पे ले आइबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३ को चौथो संस्करणमा ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’ को अवार्ड प्राप्त गरेकाे छ ।
सन् १९९१ मा बेलायतमा स्थापना भएको कम्पनी इन्टरनेशनल बैंकिङ सिस्टम्स इन्टेलिजेन्स आईबीएसआई ले भारतकाे मुम्बईमा आयोजित कार्यक्रममा नमस्ते पे लाई उक्त अवार्ड प्रदान गरिएकाे हाे ।
नमस्ते पे ले Request Money” सुविधा मार्फत P2P उधारो सेवा उपलब्ध गराएर उपभोक्ताहरूलाई नवीन सुविधाहरू प्रदान गरेकाे र उपभोक्ताहरूलाई समूहको बिल भुक्तानी गर्न सजिलो बनाउन Split Bill” जस्ता सुविधाहरू पनि संचालनमा ल्याएको जनाएकाे छ ।
नमस्ते पे ले निरन्तर प्रयास बाट वालेटमा अफलाइनमा समेत प्रयाेग गर्न सकीने बनाएकाे छ । जसले उपभोक्ताहरूका लागि डिजिटल वित्तमा खुला पहुँच प्रदान गरेको सेवा प्रदायककाे भनाइ रहेकाे छ ।
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत विनय बिजुक्छेले नोभेम्बर २४-२०२३ मा भारतको मुम्बईमा भएको समारोहमा उक्त अवार्ड ग्रहण गरेका छन् । नेपाल डिजिट पेमेन्ट्स कम्पनी लिमिटेड (NDPC) का प्रमुख कार्यकारी अधिकृत अधिकृत प्रविणराज पोखरेलले प्रतिष्ठित विश्वव्यापी अवार्ड प्राप्त गर्न पाउँदा खुसी व्यक्त समेत गरेका छन् ।
पोखरेलले भने ‘यस अवार्डसँगै बैंक तथा डिजिटल शिक्षा हासिल गरेका मानिसहरूलाई मात्र नभई बैंकविहीन जनतालाई पनि वास्तविक वित्तीय समावेशीकरणमा आधुनिक सेवा प्रदान गरेर नगदरहित समाज निर्माण गर्नेतर्फ हाम्रो दायित्व बढेको महसुस गरेको छु ।’
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूर्मका खेल्ने उद्देश्यले शुरु गररएको डिजिटल भुक्तानी सेवा हो ।
प्रतिक्रिया दिनुहोस्