काठमाडौं । भारतले जाजरकोट भूकम्प पीडितका लागि चौथो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ । काठमाडौंस्थित भारतीय दुताबासले भूकम्प पीडितहरुका लागि अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
नेपाल चिकित्सक संघको माग अनुरुप भारतले राहत सामग्री उपलब्ध गराएको हो । राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश छन् । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।
छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धता अनुसार जाजरकोट भूकम्पमा सहयोग गरेको भारतले जनाएको छ । नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने पनि भारतीय दुतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्