काठमाडौं । अमेरिकाले भारतीय मुद्रा (आईसी)लाई निगरानी सूचीमा राखेको छ । भारतले आफ्नो मुद्रालाई डलरको तुलनामा न्यून मूल्य कायम गराएर अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकालाई नोक्सानी पुर्याएको भन्दै भारुलाई निगरानी सूचीमा राखेको हो । कुनैपनि देशले आफ्नो देशको मुद्राको सटही दरलाई न्यून कायम गरेर निर्यात व्यापार प्रवर्द्धन गर्ने कामलाई करेन्सी मेनुपुलेटिङ भन्ने गरिन्छ । भारतका वाणिज्य सचिव अनुप वधावनले भारतीय मुद्रालाई निगरानीमा राख्ने अमेरिकी निर्णयको अर्थ आफूले नबुझेको बताएका छन् ।
१० देश परे निगरानी सूचीमा
रोयटर्सका अनुसार अमेरिकाको वित्त मन्त्रालयले भारत, सिंगापुर, थाइल्याण्ड र मेक्सिकोसहित १० देशका मुद्रालाई निगरानी सूचीमा समावेश गरेको छ । यी देशका मुद्राहरूको सञ्चिति र प्रयोगलाई उच्च निगरानीमा राख्न अमेरिकाले भनेको छ ।
भारतीय वाणिज्य सचिव बधानका अनुसार भारतले अमेरिकासँगको व्यापार सन् २०२०/२१ मा करिब पाँच अर्ब डलरले बढाएको थियो। अमेरिकी रिपोर्ट अनुसार अमेरिका र भारतको सन् २०२० काे द्विपक्षीय वस्तुकाे व्यापार २४ अर्ब डलरले बचतमा थियो । जसमा सेवा व्यापारको बचत ८ अर्ब डलरले थपियो । रिपोर्टमा भारतलाई अव्यवस्थित बजार र अधिक सञ्चितिबिना विदेशी मुद्रामाथिको हस्तक्षेप बन्द गर्न भनिएको छ । अमेरिकाले भारतलाई दोश्रो पटक निगरानी सूचीमा राखेको हो । यसअघि भारत सन् २०१८ मा यस्तो सूचीमा परेको थियो र सन् २०१९ मा सूचीबाट हटेको थियो । यस्तो सूचीमा पर्दा कुनै जरिवाना भने तिराइँदैन ।
रिजर्भ बैंक अफ इण्डियाको विदेशी मुद्रा बजारमा आक्रामक हस्तक्षेप गर्ने नीतिलाई रोक्न अमेरिकाको निगरानी सूचीमा राख्ने कदमले सघाउने विश्लेषकहरू बताउँछन् ।
करेन्सी मेनुपुलेटर्सको अर्थ ?
अमेरिकाले समय समयमा विभिन्न देशहरूलाई करेन्सी मेनुपुलेटर्सको सूचीमा राख्ने गरेको छ र यो सूचीमा अधिकांश समय चीनको नाम चढ्ने गर्छ । अमेरिकाले ती देशहरूलाई यो सूचीमा राख्छ जसले जानीबुझी डलरसँग आफ्नो मुद्राको अवमूल्यन गराउँछ र अन्तर्राष्ट्रिय व्यापारमा अनुचित लाभ लिने प्रयास गर्छन् । मुद्राको अवमूल्यनले सम्बन्धित देशको निर्यात व्यापारमा बढोत्तरी हुने गरेको छ । त्यस्ता देशहरुको निर्यात व्यापारमा लागत कम भएर व्यापार भने बढेको देखिन्छ ।
भारत किन पर्यो निगरानी सूचीमा
अमेरिकाले विभिन्न मापदण्डका आधारमा निगरानी सूची तयार पार्छ । पछिल्लो समयमा भारत र अमेरिकाको व्यापारमा भारत २० अर्ब डलर बचतमा रहेको छ । आरबीआईका अनुसार भारतले सन २०२० सम्म चौथो त्रैमासिकमा भारतले ६४ अर्ब डलर विदेशी मुद्रा खरिद गरेको थियो । जुन कुल गार्हस्थ उत्पादनको २.४ प्रतिशत थियो ।
नेपाललाई के पर्ला असर ?
भारतीय मुद्रा र नेपाली मुद्राबीच स्थिर सटही दर कायम छ । अमेरिकी डलरसँग नेपाली मुद्राको सम्बन्ध भनेकै भारतीय मुद्रामा निर्भर गर्छ । त्यसकारण भारतीय मुद्रा र अमेरिकी मुद्राका बीचमा देखिने टकरावले नेपाली अर्थतन्त्रलाई सिधै असर पर्ने विश्लेषकहरू बताउँछन्।
प्रतिक्रिया दिनुहोस्