काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका उपाय खोज्न भन्दै बालुवाटारमा बैठक डाकेका छन् । योजना आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, सचिवहरुसहितको बैठक डाकेका हुन् । अपरान्ह ४ बजेका लागि बोलाईएको बैठकले अर्थतन्त्र सुधारका लागि गर्नुपर्ने कामहरुको सूचि तयार पर्ने बताईएको छ ।
तर सो बैठकमा योजना आयोगका सदस्यहरुलाई भने अझै पनि जानकारी गराईएको छैन् । ‘प्रधानमन्त्रीज्यूले अर्थतन्त्र सुधारका लागि बैठक बोलाउनु भएको छ रे भन्ने पत्रपत्रिकाबाट जानकारी पाएको छु, सोमबार बिहान ९ः४५ बजेसम्म मलाई कुनै औपचारिक जानकारी आएको छैन्’, योजना आयोगका सदस्य डा. रमेश पौडेलले सिंहदरबारसँग भने ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने प्रधानमन्त्री नेतृत्वको बालुवाटार बैठकमा आफुलाई पनि बोलाईएको जानकारी दिए ।
सो बैठकमा आयोगका तर्फबाट प्रधानमन्त्रीले अध्यक्षता गर्ने र उपाध्यक्ष पनि रहने भनिएको छ । अर्थमन्त्री, गभर्नर समेत रहने बैठकले तय गरेका अर्थतन्त्र सुधारका एजेण्डाहरुलाई सरकारले कार्यान्वयनमा लैजाने बताईएको छ ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका समस्या समाधानका लागि उच्चस्तरिय अधिकार सम्पन्न संयन्त्र बनाउने बताउँदै आएका छन् । त्यस्तो संयन्त्रमा प्रधानमन्त्री, अर्थमन्त्री, योजना आयोग, नेपाल राष्ट्र बैंकका गभर्नर, निजी क्षेत्रका छाता संस्थाका प्रतिनिधी र विज्ञहरु संलग्न हुने प्रधानमन्त्री स्वयंले बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि गोलमेच सम्मेलन समेत आयोजना गर्ने बताउँदै आएका छन् । अर्थतन्त्र सुधारका लागि छुट्टै संयन्त्र बनाउने प्रधानमन्त्रीको घोषणापछि अर्थमन्त्री डा. प्रकाश शरण महतले भने आपक्ति जनाउँदै आएका छन् । अर्थमन्त्रीले कानुनले परिकल्पना गरेका संरचना र कर्मचारीतन्त्रलाई नै विश्वासमा लिएर आर्थिक समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै समानान्तर संयन्त्र बनाउन नहुने अडान राख्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्