Shikhar Insurance
National Life

यसरी गर्न सकिन्छ पुँजी बजारको दिगो विकास–कृष्ण गिरीको विचार

कृष्ण गिरी
२०८० कार्तिक २६, आईतवार ०८:४९
Hyundai
NCELL
NIMB

नेपालको शेयर बजार आधिकारिक रुपमा शुरु भएको ३० वर्ष बितिसकेको छ । तात्कालिन सेक्युरिटिज खरिदबिक्री केन्द्रबाट भए गरेका सबै कार्यहरुलाई नेपाल स्टक एक्सचेन्ज लिमिटेड नाममा हस्तान्तरण गरी नेपाल धितोपत्र बोर्डको नियमन अन्तरगत सञ्चालन हुने भनेर ३० वर्ष अघि नेपाल स्टक एक्सचेन्ज लिमिटेडको स्थापना गरी अगाडि बढाइएको परिप्रेक्ष्यमा गएका ३० वर्षको अवधिमा विश्वका समकालिन पुँजी बजारमा धेरै कुराहरु परिवर्तन भइसकेकाछन् ।

हाम्रो पुँजी बजारले पनि केही नगरेको होइन यद्यपि जुन किसिमको गुणात्मक विकास हुनुपर्दथ्यो त्यो हिसाबले अझै पनि हाम्रो पुँजी बजारको विकास र विस्तार भएको देखिँदैन । हामी सँगै आएका तथा हामी पछि आएको विभिन्न देशका पुँजी बजारहरु सूचीकृत कम्पनीहरुको संख्या, कम्पनीको विविधिकरण, पुँजी, कारोबार प्रविधि तथा पूर्वाधार, कारोबार गर्ने वित्तिय औजारहरु, संस्थागत बजार सहभागी, कानूनी ढाँचा, नियमनकारी निकायको क्षमता, बजार सञ्चालकको अनुभव आदिका आधारमा हामी भन्दा धेरै नै अगाडि बढि सकेको परिप्रेक्ष्यमा हामी अझै पनि हाम्रो पुँजी बजार शुरुवात भएको धेरै भएको छैन, हाम्रो पुँजी बजार शैशवकालमै छ, हामीले भर्खरै शुरुवात गर्दैछौं भन्दै चिन्तन मनन गर्न मै व्यवस्त रहेका छौं ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तसर्थ हाम्रो पुँजी बजारले समग्र देशको अर्थतन्त्रको ऐना बन्नको लागि जुन किसिमले कार्य गर्नुपर्ने हो सो अनुसारले पुँजी बजार प्रस्तुत हुन नसकिरहेको प्रष्टसँग देख्न र बुझ्न सकिन्छ । त्यस हिसाबले भन्ने हो भने हाम्रो पुँजी बजारमा धेरै नै चूनौतिहरु बढेर गएको देख्न सकिन्छ । अहिलेको लगानीकर्ताहरुको जमात भनेको विश्वको कुनै पनि कुनामा भइरखेको घटनाक्रमबाट अज्ञान नहुने जमात हो । हिजो विश्वको कुनै पनि कुनामा घटेको घटना तथा भएको विकासको जानकारी आज मानिसको हातहातमा पुगिसकेको छ । विश्वमा अहिले लगानीका क्षेत्रमा धेरै दु्रत गतिमा विकास तथा परिवर्तनहरु भइराखेकाछन् । त्यस अर्थमा हेर्ने हो भने हामीले हाम्रो पुँजी बजारमा हाम्रा लगानीकर्ताहरुलाई सोही किसिमले सोचेर त्यस अनुरुप कै वातावरण नबनाउने हो भने नियामक निकाय र सरकारले जति सुकै प्रयास गरे पनि पुँजी पलायन रोक्न सकिन्न र नव प्रवर्तनका कार्यहरुलाई सोचे जसरी अगाडि बढाउन सकिन्न । त्यस अर्थमा भन्ने हो भने हाम्रो पुँजी बजारले आगामी दिनहरुमा लगानीका दृष्टिकोणबाट निकै नै चुनौतिहरुको सामना गर्दै जानुपर्ने अनुमान गर्न सकिन्छ ।

पुँजी बजारका वर्तमान आवश्यकताहरु
हाम्रो पुँजी बजारका वर्तमान समयको आवश्यकताहरुको कुरा गर्नुपर्दा दुई हातका औंलाहरुमा गन्न थाल्ने हो भने यि दुई हातका औंलाहरुमा नअटाउने भइसकेका छन् । त्यसमध्ये केही मुख्य मुख्य आवश्यकताहरुलाई यस लेखमार्फत समेट्ने प्रयास गरिएको छ ।

क) धितोपत्र सम्बन्धी ऐन, नियम विनियम तथा कम्पनी सँग सम्बन्धित कानूनहरुमा सुधार

धितोपत्र ऐन आएको पनि १७ वर्ष भईसकेको छ । यो १७ वर्षको अवधिमा प्रविधिमा धेरै कुराहरु परिवर्तन भइसकेकाछन् । कारोबार गर्ने वित्तिय औजारहरुमा ठूलो विकास भएकाछन् । तर विश्वमा भएका यस्ता विकास र नवप्रवर्तनहरुलाई समेट्ने गरीको हाम्रो धितोपत्र ऐन संशोधन हुन सकेको छैन । धितोपत्र ऐन भनेको पुँजीबजारलाई नीति निर्देशन गर्ने, कार्यदिशा दिने प्रमुख नीति हो । यसमा उल्लेख भएका क्षेत्र र विषयहरुमा मात्रै नियामक तथा मातहतका सबै निकायहरुले कार्य गर्ने कानूनी अधिकार रहन्छ । तसर्थ पुँजी बजारको अग्रगामी विकासमा धितोपत्र ऐन यथास्थितिमै रहनु एउटा प्रमुख चुनौति हो ।

यसका साथै धितोपत्र बजारमा संलग्न हुने सूचीकृत कम्पनीहरुलाई कम्पनी संस्थापन देखि सूचीकरणको बखतसम्म नियमन गर्ने नियमित गर्ने कम्पनी ऐन पनि लामो समय देखि संशोधन हुन सकेको छैन । साथै कम्पनी दर्ता गर्ने निकाय एउटा मात्रै र त्यो पनि काठमाण्डौमा मात्रै रहेका कारण देशभरीबाट हुन सक्ने उद्यमशीलतामा यसले एउटा बेरियरका काम गरेको देखिन्छ ।

साथै कम्पनी खोल्नका लागि जुटाउनु पर्ने चुक्ता पुँजीको विषयमा समेत कम्पनी ऐनले लगानी गरिएको रकमलाई मात्रै पुँजी मान्ने गरीको जुन व्यवस्था छ यसले स्टार्टअप, नवप्रवर्तन तथा ज्ञान तथा सीपमा आधारित रहेर सिर्जना गरिएका विभिन्न इन्टेलेक्चुअल प्रोपर्टिजको आधारमा पुँजीकरण गर्न पाउने व्यवस्थालाई सहज ढंगबाट ग्रहण गर्न सकेको देखिँदैन । तसर्थ जुन ढंगबाट जसरी नवप्रवर्तनको कार्यले बढावा पाई उद्यमशीलता विकास हुन पर्ने हो सो अनुसारले उद्यमशीलताको विकास हुन सकेको छैन । यसका साथै कम्पनी सम्बन्धी अधिकांश कार्य गर्नको निमित्त अझै पनि कम्पनी रजिष्ट्रारको कार्यालयमा नै उपस्थिति हुनुपर्ने जुन किसिमको व्यवस्था छ यसले सूचीकरण हुनु अघिका कम्पनीमा लगानी गर्ने त्यस्ता लगानीबाट बहिर्गमन गर्ने कार्यमा ठूलो कठिनाई सिर्जना गरेको छ तसर्थ यस्ता कानूनी अड्चन तथा बाधाहरुलाई खुलाउँदै प्रविधिको सहयोगमा यस्ता कार्यहरुलाई सहजीकरण गर्नुपर्ने अहिलेको ठूलो चूनौति हो ।

यस बाहेक पनि धितोपत्र बजार सँग सम्बन्धित विभिन्न नियमावलीहरुलाई समयानुकूल बनाउनलाई अद्यावधिक गर्नुपर्ने, विभिन्न वित्तिय औजारहरुलाई धितोपत्र बजारमा प्रवेशका लागि नियमावली तथा विनियमावलीहरुको तर्जुमा गर्नुपर्ने लगायतका धेरै कार्यहरु गर्न अझै पनि बाँकी नै रहेको छ । उदाहरणका लागि सरकारी ऋणपत्र कारोबार सम्बन्धी नियमावली २०६२ अहिले पनि कार्यान्वयनमा रहेको छ । जबकि धितोपत्र ऐन २०६३ लागू भइसकेपछि नै यसलाई ऐन अनुकूल व्यवस्था गरी सरकारी ऋणपत्रका साथै विभिन्न मनिटरी औजारहरु जस्तै टिबिल्सहरु पुँजीबजार भित्रै सहजै कारोबार गर्न मिल्ने व्यवस्था मिलाउनु पर्नेमा अझै पनि हामी ती सबै कार्यहरु गर्नेतर्फ नभई कसरी ती व्यवस्थाहरुलाई कार्यान्वयन नगर्ने भन्नेतर्फ नै केन्द्रित रहेको अनुमान गर्न सकिन्छ । तसर्थ धितोपत्र बोर्डले नेतृत्व लिएर पुँजी बजारमा आवश्यक सबै नियम, विनियम तथा निर्देशनहरुलाई समयानुकूल बनाउन आवश्यक नेतृत्वदायी भूमिका खेल्नु आजको आवश्यकताका साथै यो कार्य अगाडिलाई तत्कालै अगाडि बढाउनु ठूलो चूनौति समेत हो ।

संस्थागत तथा नीतिगत सुधारका कार्यहरु गर्ने
हाल भइरहेका कतिपनि संस्थागत तथा नीतिगत व्यवस्थाहरुलाई सुधार गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो । विशेषगरी धितोपत्र बजार सञ्चालक नेप्से तथा केन्द्रिय निक्षेप निकायलाई डिम्युचुअलाइज्डको सिद्धान्तमा आधारित रहेर सरकारले विस्तारै आफ्नो नियन्त्रणबाट बजारको नियन्त्रणमा छाड्दै स्वतन्त्र ढंगबाट बजार सञ्चालित हुने व्यवस्था मिलाउन टड्कारो भइसकेको छ ।

सरकारी नियन्त्रणमा रहेका कारणबाट प्रविधिको परिवर्तन तथा नवप्रबर्तन लगायतका पुँजी बजारलाई दुरगामी असर पर्ने कतिपय कार्यहरु अहिले पनि अगाडि बढ्न सकिरहेका छैनन् । तसर्थ नेप्से तथा सिडिएससिमा रहेको सरकारी स्वामित्वलाई कम गर्दै स्वदेशी संस्थागत तथा विदेशी रणनीतिक साझेदार ल्याउनुपर्ने, अत्याधुनिक प्रविधिलाई अंगिकार गरी मल्टि एशेट्स कारोबार गर्न सक्षम कारोबार प्रणाली तथा त्यसका लागि आवश्यक हुने डाटा सेन्टरको व्यवस्था गर्नुपर्ने, कारोबारको राफसाफ प्रक्रियालाई थप विश्वासिलो बनाउनका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने, धितोपत्र बजारलाई तथा केन्द्रिय निक्षेप निकायलाई स्वतन्त्रतापूर्वक सञ्चालनका लागि आवश्यक नियमावली तथा विनियमावलीहरुको तर्जुमा गर्नुपर्ने, सूचीकरण सम्झौता अनुसारको कार्य नगर्ने सूचिकृत कम्पनीहरुलाई तत्कालै कारबाही गर्ने किसिमको व्यवस्थाहरु लागू गर्ने, धितोपत्र बजारको विस्तारका लागि ब्रोकरहरुलाई शाखा कार्यालयमात्र नभई त्यसका अतिरिक्त आधिकारिक प्रतिनिधि वा सब ब्रोकरको माध्यमबाट बजार विस्तार गर्न आवश्यक नीतिगत व्यवस्था गर्ने, भित्री सूचनाका आधारमा वा बजारमा गलत ढंगबाट कारोबार गर्ने कारोबारीहरुलाई उपर्युक्त हुने गरी कारबाही गर्ने किसिमको कानूनी व्यवस्था बनाई लागू गर्ने लगायतका तत्कालै गर्नुपर्ने कार्यहरुलाई सबै बजार साझेदारहरु मिलेर तुरुन्तै अगाडि बढाउनु पर्ने अहिलेको ठूलो आवश्यकता हो ।

उपरोक्त कुराहरुको अभावमा हाम्रो बजारले अझै पनि चाहेअनुसारको उचाई लिन सकेको छैन र हाम्रो बजार सञ्चालनको ३० वर्ष पुगेपनि विश्वका अन्य विकाशशील देशका एक्सचेन्जहरुको दाँजोमा पुग्न सकेको छैन । त्यही भएर पनि हामीले विश्वका कुनै पनि आर्थिक समाचार प्रदान गर्ने विदेशी समाचार एजेन्सिमा नेपालको पुँजी बजार सम्बन्धी केही पनि जानकारीहरु हेर्न, सुन्न वा पढ्न पाउँदैनौ । यसको प्रमुख कारण भनेको नै हाम्रो बजारमा तुरुन्तै हुनुपर्ने नीतिगत व्यवस्थाहरुमा भइरहेको ढिलाई हो ।

अत्याधुनिक तथा विश्वासिलो मल्टि एशेट्स कारोबार प्रणाली तथा रियल टाइम सर्भेइलियन्स सहितको पूर्वाधारको विकास विश्वासिलो कारोबार प्रणाली र यसको लागि आवश्यक पूर्ण संरचना सहितको पूर्वाधार अहिलेको हाम्रो पुँजी बजारको प्रमुख आवश्यकता हो । अहिले एउटा सामान्य लगानीकर्ताले कारोबारका क्रममा निकाय पिच्छे नै अलग अलग प्रणालीहरुको प्रयोग गर्नुपर्ने हुन्छ । जसले गर्दा एकजना सामान्य लगानीकर्ताहरुलाई प्रणाली पिच्छेको युजरनेम र पासवर्ड जस्ता क्रेडिन्सियलहरु याद गर्नु एकदमै कठिन कार्य हो ।

अहिले कारोबारका क्रममा टिएमएसको छुट्टै, मेरो शेयरको छुट्टै युजरनेम पासवर्डहरु याद राख्नु पर्दछ । यसका अलावा कारोबारको लागि बैंक वा कनेक्ट आइपिएसको क्रेडिन्सियल अलग्गै याद राख्नु पर्दछ । यसलाई सहजीकरण गर्नको लागि सकेसम्म एकल युजर म्यानेजमेन्ट प्रणालीको प्रयोग गरी लगानीकर्ताहरुलाई कारोबारमा युजर फ्रेण्डली बनाउने तर्फ पहल गर्नुपर्ने हुन्छ । र यसको समाधानका लागि विकसित र आधुनिक कारोबार प्रणाली नै हो । यसका अलावा यसको सञ्चालनका लागि आवश्यक डाटा सेन्टर तथा डिजास्टर रिकभरी अर्थात सेकण्डरी सर्भर नै हो । जसको माध्यमबाट लगानीकर्ताहरुले सुरक्षित रुपमा कारोबार गर्न सक्दछन् भने नियामक निकाय तथा बजार सञ्चालकहरुले सहि ढंगबाट बजारको वास्तविक अनुगमन तथा निरीक्षण गर्न सक्दछन् ।

विश्वका सबैजसो देशहरुमा अहिले अनलाइनबाट कारोबार हुने गर्दछ । यसरी हुने कारोबारको निगरानी वास्तविक समयमा नै नियामक निकाय र बजार सञ्चालकहरुबाट हुने गर्दछ । यसबीच बजारमा कुनै पनि अवाञ्छित गतिविधि गरिरहेको पाइएमा तुरुन्तै नियामक निकाय तथा बजार सञ्चालकहरुले त्यसरी अवाञ्छित गतिविधि गर्नेहरु प्रति वास्तविक समयमा नै कडा एक्सन लिने गरिएको पाइन्छ । तर हाम्रो बजारमा अहिले वास्तविक समयमा परै छाडौं कसैले पनि बजारमा भइरहेको कुनै अवाञ्छित गतिविधिको विरुद्धमा कुनै लिखित उजुरी नगरेसम्म कुनै पनि निकायले त्यस गतिविधि प्रति चासो राख्ने, हेर्ने गरेको पाईंदैन । साथै कसैले उजुरी नै गरिहाले पनि नसिहत मात्रै दिएर वा चेतावनी मात्रै दिएर वा जरिवाना गरिएपनि केही रकमको मात्रै जरिवाना तिराएर छाड्ने गरिएको उदाहरणहरु छन् ।

यसरी बजारमा खुलेआम अवाञ्छित गतिविधिहरु हुने गर्नुमा सबैभन्दा ठूलो दोष हाल सञ्चालनमा रहेको कारोबार प्रणाली र यसको अपुरो पूर्वाधारलाई समेत जान्छ । अहिलेको कारोबार प्रणालीले वास्तविक समयमा नियामक निकायका साथै बजार सञ्चालकहरुलाई पर्याप्त सूचना दिने व्यवस्था गरेको छैन । साथै बजार सर्भेलियन्सको कार्य गर्दा के कस्तो स्क्रिन र त्यसमा के कस्ता सूचना तथा जानकारीहरु आवश्यक रहने गर्दछन् भनेर नियामकहरुले भन्ने गरेको पाईंदैन । यसबाहेक पनि कारोबार प्रणालीको सञ्चालनका क्रममा कतिपय कार्यहरु कि बजार सञ्चालक कि ब्रोकरहरुले मात्रै गर्नुपर्नेमा अधिकांश कार्यहरु अझै पनि सफ्टवेयर डेभलपरकै प्रत्यक्ष सहायतामा हुने गरेको पाइन्छ । यसबाट सूचनाको चुहावट हुनसक्ने ठूलो जोखिमहरु रहेको हुन्छ । बजार सञ्चालकले सञ्चालन गर्ने कारोबार प्रणालीको डाटा सेन्टर, डाटा रिकभरी तथा यसको एप्लिकेशन सर्भर तथा डाटा सर्भरका सम्पूर्ण जानकारीहरु एक्सचेन्जसँग मात्रै हुनुपर्दछ भने ब्रोकरहरुले सञ्चालन गर्ने कारोबार प्रणालीको पनि सोही अनुसारले सबै पहुँचहरु ब्रोकरसँग मात्रै रहनुपर्दछ र यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो । तर हाम्रो बजारमा अझै पनि कतिपय ब्रोकरहरुले आफ्नो कारोबार प्रणाली होस्टिङ भएको सर्भर एप्लिेकशनको तथा अन्य एप्लिेकसन उपरको एक्सेस पाएको देखिँदैन । तसर्थ धितोपत्र ब्रोकरहरुले समेत आफ्नो क्षमता अभिवृद्धि गर्दै प्रविधिमा तथा प्राविधिक जनशक्तिमा लगानी बढाउँदै स्वयंले नै कारोबार प्रणालीको सञ्चालन तथा मर्मत सम्भार गर्ने कार्यमा अग्रसर हुनुपर्ने देखिन्छ ।

यसका साथै बजारमा लगानीकर्ताहरुले बजार विश्लेषण लगायतका कार्यहरु गर्नको लागि धितोपत्र बोर्डबाट वा बजार सञ्चालकबाट तथ्यांक वितरण वा बजार विश्लेषणको कार्य गर्नको लागि अनुमति लिएका संस्थाहरुबाट मात्रै यस्तो तथ्यांकहरु उपलब्ध हुनुपर्नेमा यसउपर कुनै पनि नियमन तथा अनुगमन भएको देखिँदैन । जसले जस्तो तथ्यांकलाई जसरी प्रस्तुत गरेर दिएपनि सो तथ्यांक सहि हो वा होइन भन्ने कुराको यकिन स्वयं तथ्यांक प्रदायक संस्थाबाहेक अरुले गरेको पाईंदैन । बजारमा लगानी गर्नका लागि यस्ता तथ्यांकहरुको महत्वपूर्ण भूमिका रहने भएको हुँदा नियामक निकाय तथा बजार सञ्चालकले यस उपर पनि चनाखो हुनुपर्ने देखिन्छ ।

खासगरी सूचीकृत कम्पनीहरुसँग सम्बन्धित अधिकांश तथ्यांकहरु नेप्सेबाटै उत्पन्न हुने तथा कतिपय सूचनाहरु प्रत्यक्ष रुपमा नेप्समा आधिकारिक तवरबाट उपलब्ध हुने भएको हुँदा कारोबारबाट सिर्जित तथ्यांक, कर्पोरेट इभेन्टका तथ्यांक, साधारण सभा तथा लाभांश सम्बन्धी तथ्यांक, एउटा राफसाफ अवधिमा कारोबार गर्न योग्य शेयर संख्या तथा सूचिकृत
शेयरको संख्या सम्बन्धी तथ्यांक, सूचिकृत कम्पनीहरुको त्रैमासिक तथा वार्षिक वित्तिय विवरणहरुको तथ्यांक, कुनै कम्पनीमा कुनै प्रकृतिका शेयरधनीहरुलाई शेयर कारोबारमा लकइन लगाइएको सो सम्बन्धी तथ्यांक आदि सबै नेप्से स्वयंले नै आफ्नो वेवसाइटको माध्यमबाट प्रस्तुत गरिदिएको खण्डमा यसरी प्राप्त तथ्यांक सबैभन्दा बढि विश्वासिलो हुन सक्दथ्यो ।

हालको अवस्थामा नेप्सेले दिएको टिएमएस प्रणालीलाई विस्थापन गरेर ब्रोकर आफैले एक्लैले चाहे अनुसारको कारोबार प्रणाली ल्याउँभन्दा पनि हालको नीतिको कारण केही पनि गर्न नसक्ने अवस्था रहेको छ । यसमा सबैभन्दा ठूलो बाधक भनेको कुनै पनि देशमा १० वटा धितोपत्र ब्रोकरले चलाइरहेको कारोबार प्रणालीलाई मात्रै हामीले यहाँ ल्याउन पाउने व्यवस्था राखिएको छ र यसरी ल्याउँदा ब्रोकर कम्पनी आफैंले सिधै प्रणाली विकासकर्तासँग सम्झौता गरेर नभई विचमा स्थानीय प्राविधिक कम्पनी खोजी गरी उसको माध्यमबाट ल्याउनुपर्ने व्यवस्था राखिएका कारणबाट पनि ब्रोकरहरु स्वयंले यसरी आफूले चाहे अनुसारको कारोबार प्रणालीलाई ल्याउन सकिरहेकाछैनन ।

खासगरी यस सम्बन्धी नीतिमा सबैभन्दा पहिले यसरी प्रणाली बनाउने विकासकर्ता कम्पनीहरु एक्सचेन्ज समक्ष आफ्नो कम्पनीलाई भेण्डर लिष्टमा राखीपाउँ भन्दै निवेदन दिने र प्राप्त निवेदन उपर एक्सचेन्जले सम्पूर्ण सिस्टम अडिट लगायत मक ट्रेडिङ यस्ता प्रणाली विकासकर्ताको कम्पनीलाई भेण्डरमा सूचिकृत गरिदिने चलन विश्वभरी नै रहेको छ । यसरी सूचिकृत भएका मध्येबाट नै ब्रोकर कम्पनीहरुले आफूखुशी प्रणालीको छनौट गरी कारोबार सञ्चालन गर्ने व्यवस्था
अधिकांश देशका एक्सचेन्जहरुमा चलि आएको छ । तर हामीकहाँ भने चलनचल्तिको व्यवस्था भन्दा फरक ढंगबाट कारोबार प्रणाली भित्र्याउन खोजिएकाले पनि नीतिगत कठिनाईहरुको सामना गर्नुपरिरहेको देख्न सकिन्छ ।

तसर्थ नियामक निकाय तथा बजार सञ्चालकले यस उपर समेत आवश्यक नीतिगत परिमार्जन गरी नयाँ नयाँ कारोबार प्रणाली, अझ एउटा कारोबार प्रणाली माथि थप अर्को थर्ड पार्टि अर्डर म्यानेजमेन्ट प्रणाली राख्न पाउने, मोबाइलबाट कारोबार गर्न पाउने सुविधा थप्नुका साथै विस्तारै हाम्रा लगानीकर्ताहरुलाई पनि विश्वका अन्य लगानीकर्ताहरु सरह आधुनिक बनाउनका लागि हाइ फ्रिक्वेन्सि ट्रेडिङ, अल्गो ट्रेडिङ तथा अझ अगाडी बढेर एआई बेष्ड कारोबार सुविधा ल्याउन मिल्नेगरीको नीतिगत व्यवस्थाहरु अंगाल्दै अघि बढ्नुदेखिन्छ ।

तसर्थ कारोबार प्रणाली, यसको लागि आवश्यक सुरक्षित तथा विश्वासिलो डाटा सेन्टर तथा इन्टरनेटबाट पहुँच, कारोबार प्रणालीमा बैंकिंग प्रणालीलाई पहुँच लगायतका कार्यहरु अगाडि बढाएर बजार प्रतिको लगानीकर्ताहरुको विश्वासलाई थप अभिवृद्धि गर्दै जानु अहिलेको टड्कारो आवश्यकता हो ।

कारोबार उपकरणहरुको विकास
विगत ३० वर्षदेखि हामीले अहिलेसम्म मुख्य रुपमा एउटै मात्रै कारोबार औजारलाई प्रमुखताका साथ अगाडि बढाइरहेका छौं । अन्य केही कारोबार औजारहरु जस्तै कर्पोरेट डिबेन्चर तथा म्युचुअल फण्ड जस्ता औजारहरु पनि बजारमा छ ।

तर यिनीहरुको कारोबार एकदमै नगण्यमात्रै हुने गर्दछ । पुँजी बजारको पूर्णरुपमा विकास नहुनुमा र बजारले स्वतन्त्ररुपमा गति लिन नसक्नुमा कारोबार मल्टिपल कारोबार औजार नहुनु पनि एउटा कारण हो । जसबाट बजारमा पर्याप्त मात्रामा तरलता सिर्जना गर्न कठिनाई भइरहेको, बजार घटिरहेको बखतमा बजारको दिशालाई नियन्त्रण गर्न कठिनाई रहँदै आएको लगायतका समस्याहरु बजारले भोग्दै आइरहेको छ ।

तसर्थ हामीले पनि कहिँ न कहिँबाट चाँडै नै अहिलेको इक्विटि कारोबारमा पनि सकेसम्म इन्ट्रा डे कारोबार, सर्ट सेलिङ जस्ता सुविधाहरु थप गर्नु पर्ने हुन्छ । यसका साथै अक्सन बजार पनि अहिलेको टड्कारो आवश्यकता हो ।

यसबाहेक मार्जिन कारोबार प्रणाली वास्तविक रुपमै प्रयोग ल्याउने किसिमले नीतिगत निर्णय गर्नुपर्ने भएको देखिन्छ । किनकी २०७५ मा यस सम्बन्धी व्यवस्था गरेता पनि यस सम्बन्धी कुनै पनि कार्य अगाडि नबढ्नुमा कहिँ न कहिँ नीति दोषी छ या बजार सहभागी या नियामक दोषी छन । तसर्थ यसको यकिन गरी समस्याको चुरो फुकाई यसलाई तुरुन्तै कार्यान्वयनमा लैजानुपर्ने हुन्छ । यसका साथै आगामी दिनहरुमा इक्विटिको तथा कमोडिटिजको डेरिभेटिभ कारोबारलाई समेत स्थापित गरेर लैजानुपर्ने हुन्छ । हामी भन्दा पछि शुरु भएका अधिकांश बजारले यस औजारलाई प्रयोगमा ल्याएर जोखिम व्यवस्थापनका साथै बजार स्पेकुलेशनमा यो औजारको प्रयोग गरिरहेकाछन् । विशेष गरी इण्डेक्सको फ्युचर तथा अप्सनका साथै इण्डेक्सभित्र समावेश भएका कम्पनीहरुको समेत फ्युचर तथा अप्सन कारोबार गर्न मिल्ने गरी आवश्यक नीतिगत
व्यवस्था नियामकबाट तत्कालै गर्नु पर्ने देखिन्छ ।

बजारको विकासका लागि सम्पत्ति जत्ति धेरै तरल हुन्छ कारोबार त्यति नै सहज हुने गर्दछ । अहिलेको वर्तमान नीति अनुसार हाम्रो शेयरको सम्पत्ति बजार सञ्चालन हुने अवधि भित्र मात्रै चलायमान हुने गर्दछ । त्यसभन्दा अगाडि पछाडी भैपरी आएमा यो सम्पत्तीलाई कुनै पनि तरिकाले प्रयोग गर्न सकिन्न । तसर्थ शेयरलाई थप तरल तथा चलायमान बनाउनका आवश्यक नीतिगत व्यवस्था गरेर अफलाइन कारोबार सुविधा थप गर्नुका साथै फर्वाड डेरिभेटिभ कारोबार अगाडि बढाउने गरी नीति ल्याउन सकिन्छ ।

यसबाहेक हाम्रा लगानीकर्ताहरुले के कस्ता वित्तिय औजारहरु खोजी गरिरहेकाछन् । नयाँ नयाँ आधुनिक औजारहरु कहाँ कहाँ के कसरी कारोबारमा आइराखेको छ । यसले हाम्रा लगानीकर्ताहरुलाई के कस्तो असर पारिराखेको छ ? उनीहरु त्यसमा के कति रुची राखिराखेका छन् भनेर हेर्ने काम पनि हामीहरु कै हो । तसर्थ विशेषगरी राष्ट्र बैंकसँगको सहकार्यमा फरेन एक्स्चेन्ज बजार, सुन चाँदी लगायतका विभिन्न कमोडिटिको कारोबार हुने गरी कमोडिटि डेरिभेटिभ बजार, विभिन्न क्रिप्टो करेन्सि लगायतका औजारहरुको कारोबार गर्ने गरी त्यसलाई नियमित गर्ने गरी र यस्ता क्रिप्टो करेन्सिलाई मुद्रा भन्दा पनि डिजिटल सम्पत्तिको रुपमा कारोबार गर्ने गरी नीतिगत व्यवस्था नियामक निकायहरुबाट हुनुपर्दछ । यसले हाम्रो नयाँ युवापिढीलाई आफ्नै क्रिप्टो करेन्सि तथा एनएफटि जस्ता डिजिटल सम्पत्ति सिर्जना गर्न तथा त्यस सम्बन्धमा उद्यमशीलता गर्न अभिप्रेरित गर्दछ भने यसले अहिले भइराखेको युवा पलायन, पुँजी पलायन लगायतका कार्यलाई केही हदसम्म भएपनि न्यूनीकरण गर्न मद्दत गर्दछ ।

यसका साथै सरकारी ऋणपत्रको सहज कारोबार हुने व्यवस्था मिलाउन सकेमा यसले ठूलोमात्रामा सरकारलाई संस्थागत तथा व्यक्तिगत ऋण उपलब्ध गराउन सहयोग पु¥याउने देखिन्छ भने विभिन्न मुद्रा बजारका औजारहरुलाई समेत नेपाल राष्ट्र बैंक भित्रै मात्रै सीमित नराखी पुँजी बजार अन्तरगत कारोबार प्रणालीमा ल्याउन सकेमा यसबाट विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरुको पहुँच सहज ढंगले पुगी यसबाट मुद्रा बजारका सहभागीहरु समेत लाभान्वित हुन सक्ने
देखिन्छ ।

यसरी उपरोक्त आवश्यकतामा नेपाल सरकार, अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड, अन्य नियामक निकायहरु, बजार सञ्चालक तथा अन्य सम्बन्धित सरोकारवाला सबै निकायहरु एकसाथ भई तदारुकताका साथ उपरोक्त आवश्यकता अनुरुपका कार्यहरु अगाडि बढाएको खण्डमा पक्कै पनि हाम्रो पुँजी बजारले नयाँ गति प्राप्त गर्ने हुन सक्दछ । यसमा
नेपाल धितोपत्र बोर्डको नेतृत्व अपरिहार्य रहन्छ ।

अन्य विविध आवश्यकताहरु
उपरोक्त माथिका विषयहरु बाहेक पनि हाम्रो पुँजी बजारमा अहिले खड्किरहेको थप आवश्यकताहरुलाई निम्नानुसारले बुँदागत गर्ने प्रयास गरिएको छ ।
–पुँजी बजारमा लागू भएका विभिन्न करका सम्बन्धमा स्पष्ट भई पुँजी बजार अन्तरगत भएको लगानीबाट प्राप्त आयलाई आयकरमा समावेश गर्नुपर्ने व्यवस्थालाई संशोधन गरी व्यक्तिगत लगानीको हकमा पुँजीगत लाभकरलाई नै अन्तिम कर मानिने व्यवस्था लागू गर्न आवश्यक पहल गर्नुपर्ने । यसका साथै नेपाल धितोपत्र बोर्डले नेतृत्व लिई कर प्रशासन तथा सरकारसँग सहकार्य गरी पूँजी बजारमा प्रत्यक्ष रुपमा संलग्न निकायहरुलाई लागू हुने विभिन्न प्रकारका कर तथा करका दरमा सुधार गर्नुपर्ने देखिन्छ ।

–विशिष्टिकृत लगानी कोष अन्तर्गत Private Equity Fund, Venture Capital Fund, Hedge Fund,  Angel Fund, Crowd Fund जस्ता लगानी योजनाहरुलाई प्रोत्साहन गर्ने । यस्ता फण्डहरुमा स्वदेशीका साथै विदेशी संस्थागत लगानीकर्तालाई तथा एनआरएनहरुलाई लगानी गर्नको लागि सहज हुने गरी नीति निर्माण गरी लागू गर्नुपर्ने देखिन्छ ।

–सर्ट टर्म कारोबार गर्ने लगानीकर्ताहरुको कारोबार सहजीकरणका लागि u Broker Pool Account मार्फत नै शेयर किनबेच तथा  Settlementगर्न पाउने नीति लागू गर्नुपर्ने अथवा यस्तो गर्न तत्कालै सम्भव नभएको खण्डमा पनि त्यस्ता कारोबारीहरुको कारोबार तथा राफसाफ खाता तथा बैंक खाताको Power of Attorney ब्रोकरले लिन पाउने व्यवस्था गर्नुपर्ने देखिन्छ । यसबाट ब्रोकर कम्पनीहरुले कारोबारबाट सिर्जित जोखिमको व्यवस्थापन गर्न सजिलो हुन्छ ।
–पुँजी बजारमा कायम तरलतालाई व्यवस्थापन गर्नका लागि तथा तरलता अभिवृद्धिका लागि ब्रोकरहरुलाई प्रोपाइटरी ट्रेडिङ गर्न पाउने व्यवस्था गर्नुका साथै हकप्रदको निस्सा कारोबार गर्न पाउने व्यवस्था मिलाउने तथा बजार मूल्य शेयरको संख्या हेरी शेयरको खण्डीकरणलाई प्रोत्साहन गर्ने नीति लागू गर्नुपर्ने देखिन्छ ।
–Security Lending and Borrowing Mechanismको स्थापना गर्न आवश्यक नीति निर्माण गरी त्यसका लागि आवश्यक नयाँ संस्थाहरुको विकास गर्न आवश्यक तयारीका कार्यहरु गर्नुपर्ने देखिन्छ ।
–हालको OTC बजारलाई इलष्लिभ प्रणालीमा विकास गरी अनलाइनबाटै कारोबार गर्ने व्यवस्था मिलाई हाल पब्लिक लिमिटेडको रुपमा रहेका तर सूचीकरण नभएका सबै कम्पनीहरुलाई क्रमिक रुपमा ओटिसि बजारमा
आबद्ध भएर अनलाईनबाटै तिनीहरुको शेयर खरिदबिक्रीको व्यवस्था मिलाउनु पर्ने साथै त्यस्ता कम्पनीहरुलाई डिम्याटमा लिएर आउन आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।
–पोर्टफोलियो व्यवस्थापन गर्ने मर्चेन्ट बैंकलाई आफ्ना सयौं लगानीकर्ताहरुको कारोबार एकैपटकमा गर्न मिल्ने सुविधा सहितको Multi Account Manger को व्यवस्था गर्नुपर्ने देखिन्छ ।
–राफसाफ प्रत्याभूति कोषका लागि आवश्यक हुने रकमलाई तत्काल विभिन्न सरकारी निकायहरुसँगको समन्वयमा बढाएर यसलाई कारोबारको सेटलमेन्टमा तत्कालै लिएर आउने व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।
–दलाल कम्पनीलाई आफैंले TMS, Back Office र  RMS विकास गर्न दिने नीति लागू गर्नुपर्ने वा एक्सचेन्जमा प्रविधि निर्माता कम्पनी आफैं आएर भेण्डर लिष्टमा सूचिकृत हुन पाउने व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।
–गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्ताहरुलाई नेपालको पुँजी बजारमा निश्चित अवधिको Lock–in–Period को शर्तमा लगानी गर्न खुला गर्नेगरी आवश्यक नीतिगत व्यवस्था मिलाउनुपर्ने । यस्तो लगानीबाट सिर्जित लाभलाई नियमित रुपमा लगानीकर्ता आफूले लगानी ल्याएको विदेशी मुद्रामा सटही गरी लान पाउने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
–नेपाल धितोपत्र बोर्डले पुँजी बजार सम्बन्धी अध्ययन तथा तालिम प्रदान गर्ने पुँजी बजार तालिम केन्द्रको व्यवस्था गर्न आवश्यक नेतृत्व लिई पिपिपि मोडेलमा पूँजीबजार तालिम केन्द्र खडा गनुपर्ने । यस्तो इन्स्टिच्युटबाट पुँजी बजारका विभिन्न आयाम सम्बन्धी विश्वस्तरीय तालिम तथा सर्टिफिकेशन कोर्षहरु सञ्चालन गरी पुँजी बजारमा दक्ष जनशक्ति तयार गर्नको लागि आवश्यक वातावरण तयार गर्नुपर्ने । यसका साथै देशभरी छरिएर रहेका लगानीकर्ताहरुलाई विभिन्न माध्यमबाट शेयर कारोबार तथा पुँजी बजार सम्बन्धमा शेयर सचेतना अभिवृद्धि हुने
गरी तालिम तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।

र अन्त्यमा,
यसरी उपरोक्त ढंगबाट वर्तमान समयमा हाम्रो पुँजी बजारको विकास, विस्तार र सबलीकरणका लागि तथा अत्याधुनिक तथा विश्वासिलो कारोबार स्थलको रुपमा यसलाई सुरक्षित बजारको पहिचानका साथ अगाडि बढाउनका लागि नेपाल धितोपत्र बोर्डले तत्कालै नेतृत्वदायी भूमिका खेली मातहतका सबै निकायहरु नेपाल स्टक एक्स्चेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिंग लिमिटेड, धितोपत्र ब्रोकरहरु, मर्चेन्ट बैंकरहरु, लगानीकर्ताका प्रतिनिधि संघसंगठनहरु अन्य सहयोगी साझेदारहरु जस्तै नेपाल सरकार, अर्थमन्त्रालय, उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण तथा उद्योग वाणिज्य महासंघ लगायतका सबैसँगको सहकार्य तथा साझेदारी उपरोक्त आवश्यकताहरु परिपूर्ति हुने किसिमबाट कार्यहरु अगाडि बढाउनु अहिलेको आवश्यकता हो ।

यदि त्यसो हुन सकेको खण्डमा मात्रै हामीले खोजेको जस्तै साँच्चैको विश्वस्तरीय आधुनिक पुँजी बजारको संरचना तथा पूर्वाधार तथा दक्ष र अनुभवी बजार सहभागीहरु हामीले प्राप्त गर्न सक्नेछौं । साथै हामीले पनि विश्वका अन्य विकसित देशका पुँजी बजारमा झैं नयाँ नयाँ प्रविधिका साथ नयाँ नयाँ कारोबार औजारहरु प्राप्त गरी कारोबार गर्नुका साथै कारोबारमा देखिने जोखिमहरुलाई उच्चतम ढंगबाट व्यवस्थापन गर्दै जाने वातावरण सिर्जना हुने विश्वास गर्न सकिन्छ । तसर्थ उपरोक्त अनुसारको वर्तमान पुँजी बजारमा खड्किएको कमि कमजोरीहरुलाई सुधार गर्दै हामीले हाम्रो पुँजी बजारलाई सबैले मिलेर अगाडि बढाउनु पर्ने अहिलको आवश्यकता हो ।- सन सेक्युरीटिज(ब्रोकर न. ६४)का कार्यकारी अध्यक्ष गिरीको यो आलेख नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनको प्रकाशन ‘पुँजी बजार दिग्दर्शन–२०८०’ साभार गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्