भादगाउँ । भक्तपुर नगरपालिका–५ को चुपिङ्घाटस्थित काँल्हाचा पुखु: (पोखरी) मा नुहाए घाउ खटिरा निको हुने जनविश्वास छ ।
घरघरमा धारा नभएको समयमा गाहिटी, तमारी, खँला र आर्दशका स्थानीयहरु काँल्हाचा पुखु:मा स्नान गर्ने, मुख धुने, तर्पण दिने, देवीदेवतालाई जल चढाई चम्पकेश्वर महादेवको दर्शन गर्ने प्रचलन रहेको थियो ।
भक्तपुर औद्योगिक क्षेत्रको दक्षिणतर्फ इन्द्रायणी पीठ नजिक रहेको प्राचीन धल्चा पुखु: (कालदह पोखरी) मा स्नान गर्नाले गोसाईकुण्डमा स्नान गरे सरह पुण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ ।
गोसाईकुण्डको प्रतीक मानिने धल्चा पुखु: मा स्नान गरी त्यहाँको महादेवलाई जल चढाउनाले शिर कम्पन हुने र छालासम्बन्धी रोगको निवारण हुने धार्मिक मान्यता रहेको स्थानीय लक्ष्मीनारायण पक्काले बताए । यहाँ जनै पूर्णिमाको दिन ठूलो मेला लाग्छ ।
यसैगरी भक्तपुरको ख्वप लाय्कू दरबार (दरवार क्षेत्र) भित्र रहेको दुमाज पुखु:मा आइतबार र बिहीवार बच्चालाई नुहाई दिए, मुख धुवाई दिएमा रुन्चे लागेको, पेट दु:खेको निको हुने जनविश्वास छ । यो पुखु:को पानीले दुमाजु परिसर सरसफाईका लागि दैनिक प्रयोग गर्ने परम्परा रहेको स्थानीय ७४ वर्षीय बुद्धिलाल सुवाल बताउँछन् ।
पुखु:हरुको शहर भनेर परिचित भक्तपुर नगरका काँल्हाचा पुखु:, धल्चा पुखु: र दुमाजु पुखु: मात्र होइन, अधिकांश पुखु:हरु कुनै न कुनै धार्मिक–सांस्कृतिक एवं रोगको उपचारसँग सम्बन्धित रहेका छन् । नगरका चार दर्जन पुखु:मध्ये करिब दुई दर्जन पुखु:धार्मिक तथा सांस्कृतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिन्छन् ।
धार्मिक तथा सांस्कृतिक आस्था रहेका, इतिहास बोकेका, रोग निवारणका लागि बनाएका, शहरको शोभा एवं सुन्दरता बढाउन, कमलको फूल उत्पादन, मानवीय जीवनमा कठिन समयमा मनलाई शान्ति पार्नुका साथै विपद्लगायतका समयमा आकस्मिक प्रयोगका लागि विभिन्न कालखण्डमा निर्मित अति सुन्दर मनोमोहक पुखु:हरु छन् ।
धार्मिक तथा सांस्कृतिक महत्त्व झल्काउनुका साथै राष्ट्रहितको लागि भक्तपुरमा पुखु:हरु निर्माण गरेको पुरातत्वविद, इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।
विषेशगरी टाढाटाढाका तीर्थ यात्रामा गई स्नान गर्न जान नसक्ने असहाय अशक्तलाई आफ्नै ठाउँमा स्नान गराई दर्शन पुजा गर्न सजिलो लागि बनाएको उनले बताए ।
यस्तै पुखु:हरुमध्ये एक हो भक्तपुर नगरपालिका–१, दूधपाटीमा अवस्थित सिद्धपोखरी । स्थानीयमा त: पुखु:ले समेत परिचित सिद्धपोखरी दिउँसो आन्तरिक र बाह्य पर्यटकको आकर्षण गन्तव्य बनेको छ भने बिहान स्थानीय बासिन्दाको धार्मिक तीर्थस्थलको रूपमा रहेको छ ।
स्थानीय वृद्धवृद्धा बिहानै पोखरीमा आई मुखधुने र पोखरीको जल त्यहाँको महादेवलगयात देवीदेवतालाई चढाई दर्शन गर्ने परम्परा आजपर्यन्त कायमै रहेको स्थानीय ६५ वर्षीय विष्णुप्रसाद खत्रीले बताउँछन् ।
सिद्धपोखरी लौकिक वास्तुकलाको अनुपम उदाहरण बोकेको पुखु:को रूपमा परिचित छ । यो पुखु:को पूर्वपट्टि नेपालको सर्ब प्राचीन बराह र गणेशको मूर्ति रहेको छ ।
धार्मिक समन्वय र सद्भावको अनुपम उदाहरणस्वरूप शिवलिङ्ग र चैत्य त्यहाँ छ । यो चैत्य लिच्छवीकालीन मानिएको छ । प्राडा श्रेष्ठका अनुसार वास्तुतन्त्र विधिअनुरूप सिद्ध तान्त्रिक युगमा निर्माण गरेको विशाल पुखु:भएकाले यसलाई सिद्ध पुखु:भनी नामाकरण गरिएको हो ।
नेपाल सम्वत् २३८ तिर भक्तपुरलाई राजधानी नगरको रूपमा स्थापित गर्ने त्रिपुर राजदरबार राजधानीकै मध्यभागमा बनाउने, नगरलाई अनुपम कलाकृतिले सजाउने कार्य राजा आनन्ददेवको पालामा भएको थियो । सिद्धपोखरी त्योभन्दा केही समय पूर्व आनन्ददेवको दाजु युवराज इन्द्रदेवले निर्माण गर्न लगाएको इतिहासमा उल्लेख छ ।
लोकमान्यताअनुसार देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकको रूपमा लिने भएकाले यस दहलाई इन्द्रदह पनि भन्ने गरिन्छ । इन्द्रदह परिसरमा लिच्छवीकालीनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु रहेका छन् ।
त्यहाँ रहेको शिवलिङ्गमा जल चढाई पिएमा घाँटी दु:खेको रोग निको हुन्छ भन्ने जनविश्वास छ ।
इन्द्रजात्रामा यँेन्याँ पुन्हीको पूर्वसन्ध्यामा इन्द्रायणी देवीको खटजात्रा गरी इन्द्रदहको पश्चिमतिर देवीलाई विरामान गर्ने परम्परा छ । भोलिपल्ट पुन्हीको दिन दहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सु:ख समृद्धि मिल्ने जनविश्वास रहेको छ ।
इन्द्रदहमा वासुकी नागसमेतको बसोबास रहेको विश्वास गरिन्छ । त्यसैले पानी नपरेर रोपाई ढिला भएको बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा गई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गरी ‘हरहर महादेव पानी दे, अलिकति होइन धेरै दे’ भनेर पानी माग्ने प्रचलन अहिले पनि रहेको पाइन्छ ।
भक्तपुरमा इन्द्रजात्रामा निकाल्ने तीन दिने याँ मता ९आकाश दीप० नगर परिक्रमापछि पुखु:हरुमा परिक्रमा गराई जात्रा सम्पन्न गर्ने चलन अहिलेसम्म छ ।
पहिलो दिनको याँ:मता कमलविनायकको यातु बहारे (कमलपोखरी) मा परिक्रमा गरी सम्पन्न गर्छ । दोस्रो दिनको याँ:मता झौखेलको मुगथौ पुखु:मा परिक्रमा गरी सम्पन्न गर्छ । तस्रो दिनको याँ:मता सिद्धपोखरीमा परिक्रमा गराई सम्पन्न गर्छ ।
त्यसैगरी हरेक वर्ष माघ १ गते भक्तपुरमा मनाइने सम्यक महादानमा द्विपंकर बुद्धलाई चढाउने तिलभात इताछेंस्थित न:पुखुको पानीले पकाउने चलन छ ।
न:पुखु: परिसरमा नै सम्यक महादान पर्व मनाइन्छ । भक्तपुरमा मानव निर्मित विभिन्न सुन्दर पोखरीहरु मध्ये भाज्या पुखु:अति महत्त्वपूर्ण सुन्दर पुखु: हो । पुखु:को मध्यभागमा शिखर शैलीमा निर्माण गरिएको सुन्दर जलेश्वरको मन्दिर छ । यो पुखु: १२ औं शताब्दीको शक्तिशाली शासक वर्ग भाजु कस:को नाममा निर्माण गरेकाले यसलाई भाज्या पुखु: भनिएको प्राडा श्रेष्ठले बताए ।
भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित रानी पुखु:, कमलविनायस्थित यातु बहारे पुखु:, सिद्ध पुखु:, भाज्या पुखु:लगायतका पुखु:हरुको डिल वा परिसरमा भक्तपुरका स्थानीय नेवार समुदायको कुलदेवता स्थापित छन् ।
वर्षको एक दिन दिगु पूजा/देवाली पूजा (कुल पूजा) ती पोखरीहरुको डिलमा कुल पूजा गरी भोज गर्ने परम्परा आज पनि जीवित रहेको छ । पुखु:छेउमा कुल देवता स्थापित गर्नुको मुख्य उद्देश्य पुखु:मा रहेको पवित्र जलले कुलदेवताको स्नान गराई दर्शन पुजन गर्नु हो ।
पुखु:हरुको छेउमा कुलदेवता स्थापित गर्नुको अर्को कारण वर्षको एक पटक भएपनि शहरी सिमाना सुरक्षा के कस्तो छ हेरी देश रक्षाको भावना जगाउनु रहेको श्रेष्ठले बताए ।
प्राचीनकालदेखिका पुखु:हरु जनतालाई धार्मिक, सांस्कृतिक रूपमा मात्र नभएर मानसिक रूपमा पनि शान्ति, आनन्द प्रदान गर्न बनाएको हो । पर्यावरणले मानिसहरुमा कति रोगको निवारण गर्छ भन्ने भक्तपुरका पुखु:हरुले देखाएको छ ।
मानवीय जीवनमा कठिन परिस्थिति अनावृष्टि, अनिकाल जस्तो समयमा पानीको प्रयोग गर्न पाओस् भनी प्राकृतिक रूपमा जल भण्डारणको रूपमा पनि पुखु:हरु बनाएको हो । सिँचाइलगायत आगलागीजस्ता विपद्को समयमा आकस्मिक रूपमा ती पुखु:हरुको पानी प्रयोग हुँदैं आएका छन् ।
भक्तपुर नगर स्थापना गर्ने लिच्छवी राजा आन्नददेवले वास्तुमय बनाउने क्रममा विभिन्न पुखु:हरु निर्माण गरेका थिए । यससँगै मल्लकालमा पनि धेरै पुखु:हरु बनेको इतिहासमा उल्लेख छ ।
धर्म संस्कृतिले धनी भक्तपुरमा कति जात्रा पर्वका लागि नभई नहुने कमलको फुलको लागि समेत पुखु: बनाएको छ । नगरमा कमलविनायकको बाहारे पुखु:, तलेजु भवानीको पूजाको लागि ब्यासीस्थित नार्का बाहारे पुखु:, पलेश्वाँ बाहारे, याताको बाहारे पुखु:हरु कमलको फुलकै लागि निर्माण गरेको इतिहासमा उल्लेख छ ।
पानी जीवन भएकाले मानिसको दैनिकीसँग जोडेर नगरको प्रत्येक टोलटोलमा नुहाउन, लुगाकपडा धुन, तरकारी पखाल्न, गाईवस्तुलाई खुवाउन, हातखुट्टा धुन, भाँडा माझ्न, कृषि कर्म गरी घर फर्कने क्रममा औजार धुने कार्यमा पनि पुखु:को उपयोग हुँदै आएको छ ।
त्यसैगरी, माछापालन गरेर आर्थिक रूपमा सबल बन्नुका साथै बाह्य तथा आन्तरिक पर्यटकको गन्तब्यस्थलको रूपमा विकास गर्न पुखु: बनाएको हो । यहाँका पुखु: तत्कालीन समयको विज्ञान प्रविधि र इञ्जिनीयरिङको अनुपम सीपको नमूना पनि रहेको छ ।
भक्तपुर नगरपालिका–८ को खँचा पुखु:मा करिब एक किलोमिटर पश्चिममा रहेको प्रसिद्ध न्यातपोल (पाँच तल्ले) मन्दिरको छायाँ स्पष्ट देखिन्छ । यस्तो इञ्जिनीयरिङ प्रविधि प्रयोग भएको पुखु: वास्तवमै उत्कृष्ट नमूना मान्न सकिन्छ ।
पछिल्लो समय अधिकांश पुखु:हरुले भक्तपुर नगरपालिकाको सहयोग र स्थानीयको श्रमदानमा पुनर्जीवन पाएको छ । सिद्धपोखरी, रानी पोखरी, भाज्या पुखु:, कालदह, दुमाजु पुखु:, मंगल कुण्ड, कुमारी पुखु:, गरुडकुण्ड, सँला गणेश पुखु:, नाग पुखु:, न:पुखुको पुनर्निर्माण गरिएको छ ।
समयमै मर्मतसम्भार नहुँदा नगरभित्रका करिब ५० पुखु:मध्ये गलसी पुखु:, नार्का बाहारे, तिलांचा पुखु:, खोर्चा र खोहरे पुखु: मार्कण्डे पुखु:, अलिगचा पुखु:लगायत झण्डै एक दर्जन पुखु: भने लोप भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्