Skip to content
Shikhar Insurance
National Life

राजनीतिक हस्तक्षेपले नेपाल प्रहरीको ‘चेन अफ कमाण्ड’ प्रभावित: सांसद थानी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद हृदयराम थानीले नेपाल प्रहरीको आन्तरिक संरचना र नेतृत्व प्रणालीमा भइरहेका लगातारका राजनीतिक हस्तक्षेपप्रति चिन्ता व्यक्त गरेका छन् ।

बुधबार सिंहदरबारमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।

विगतमा प्रहरी नेतृत्वमा गरिएका विवादास्पद निर्णयहरूको उल्लेख गर्दै ती कदमले प्रहरी सङ्गठनको ‘चेन अफ कमाण्ड’लाई नै कमजोर बनाएको तर्क गरे । उनले ३२ वर्षे सेवा अवधिमा ३० वर्ष बनाएर आइजिपीलाई हटाउने काम गरेकोदेखि ३६ दिनमै प्रहरी महानिरीक्षकलाई अन्यत्र सरुवा गरी अदालतबाट जितेर आइ दुई पटक आइजिपी बनेको इतिहास समेत रहेको स्मरण गराए ।

उनले कनिष्ठलाई एक महिना अघि एआईजी बनाएर आइजिपी बनाएकोदेखि पहिलो नम्बरकोलाई छाडेर तेस्रो र दोस्रो नम्बरकोलाई आइजिपी बनाउँदै अदालतसम्म पुर्‍याएको इतिहास समेत रहेको जिकिर गरे । उनले राजनीतिक हस्तक्षेपका बिच कमाण्ड एन्ड कन्ट्रोलमा चल्ने प्रहरीले कसरी काम गरिरहेको होला भन्नेमा गृहमन्त्रीसहितको सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीले प्रहरीमाथि धेरै राजनीतिकरण गर्दै आइरहेका छौँ । यस कारण पनि नेपाल प्रहरीको पोजिशनलाई विभिन्न तरिकाले भत्काउने कामहरू हामी सबै लागेर बारम्बार गरिरहेको अवस्था पनि छ । ३२ वर्षे सेवा अवधिमा ३० वर्ष बनाएर आइजिपीलाई हटाउने काम गर्‍यौ कुनै बेलामा, कुनै बेलामा बनेको ३६ दिनमै प्रहरी महानिरीक्षकलाई अन्यत्र सरुवा गरेर पनि हामीले त्यो काम गर्‍यौ । फेरी आइजिपी नै अदालतबाट आएर जितेर दुई पटक आइजिपी बनेको अवस्था पनि हाम्रो इतिहासमा कायम छ ।’

‘कनिष्ठलाई एक महिना अघि एआईजी बनाएर आइजिपी बनाएको इतिहास पनि हामीसँग छ । कहिले हामी एक नम्बरलाई नबनाएर ३ र २ नम्बरको लाई बनाउँदै सम्मानित अदालतसम्म पुर्‍याएको इतिहास पनि छ । यस्तो परिस्थितिमा नेपाल प्रहरीले कसरी काम गरिरहेको होला भन्नेमा गृहमन्त्रीदेखि सबैको ध्यान चाहोस् । यसरी कमाण्ड एन्ड कन्ट्रोलमा चल्नुपर्ने सङ्गठनलाई राजनीतिभित्र राखेर हामीले काम गर्दा के अवस्था आउँला ? त्यसैले अहिलेको अवस्थामा चेन अफ कमाण्ड प्रभावित भएको अवस्था छ’ उनले उल्लेख गरे ।

उनले राजनीतिक हस्तक्षेप लगायतले नेपाल प्रहरीलाई कमजोर बनाइएको समेत बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE