काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा सरसफाईलाई अभियानको रुपमा अघि बढाउन जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सगरमाथामा फोहोरमैलाको धेरै समस्या रहेको उल्लेख गर्दै त्यसलाई सफा गर्नुपर्ने चुनौति रहेको बताए । उनले दुई चरणमा सरसफाई गरिसक्दा पनि अझै सफा भइ नसकेको बताउँदै सगरमाथा सफाईका लागि केही नियमहरु बनाउन जरुरी रहेको बताए ।
खानेकुराहरु लैजाने फर्किंदा त्यसको खोल बेस क्याम्पमा ल्याएर बुझाउनुपर्ने नियम राख्न जरुरी रहेको बताए । अहिले सरकार ऐनको संशोधन गरिरहेको भन्दै यसमा विभिन्न पक्षहरुले आफ्ना सुझावहरु दिनसक्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘मैले अहिले पनि सुने साथीहरुका छलफलहरु । त्यसमा म केही भन्न चाहन्न । धेरै केही भनिरहन आवश्यक पनि छैन । यस क्षेत्रमा अहिले खासगरी सगरमाथा क्षेत्रमा फोहोरमैलाको समस्या छ । त्यसलाई सफा गर्नुपर्ने समस्या छ । दुई राउण्ड हामीले त्यसको क्याम्पेन चलाइसक्यौँ तर पनि त्यो भइसकेको छैन । अझ पनि हामीले अभियानको रुपमा सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्नेछ । त्यसमा केही रुल्स, रेगुलेशन पनि बनाउनुपर्नेछ । जसले लिएर जान्छ, उसले कुनैपनि फोहोर त्यहाँ गर्न पाउँदैन ।’
‘जे लिएर गएको हुन्छ, त्यो चिज यदी बिस्कुट खायो भने खोल बुझाउन ल्याउनुपर्छ फेरि बेसक्याम्पमा । यस प्रकारका रुल नराख्ने हो भने अर्को आरोही त्यही फोहोर मात्रै सफा गर्न जानुपर्छ । एक जनाले फ्याँकेको फोहोर फेरि सफा गर्ने अर्को दुई जना चाहिन्छ । फोहोर सफाईको पनि बन्दोबस्त गर्नुपर्ने हो की ? अहिले हामी ऐनको संशोधन पनि गर्दैछौँ । नियमको संशोधन पनि गर्दैछौँ । यसमा विभिन्न पक्षहरुको बारेमा छलफल गर्नेछौँ । त्यहाँको भइरहेको क्लाउडको बारेमा’ उनले उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले सगरमाथा अहिले पहिलाको जस्तो नभएको बताउँदै सगरमाथा चढ्न अहिले धेरै सहज भइसकेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्