काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त प्रकरणबारे गहन अनुसन्धान आवश्यक रहेको बताएका हुन् । कानुनी उपचारमा जान कानुनविद्सँग परामर्श भइरहेको जानकारी दिँदै उनले भने, ँअख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अनुसन्धान हुँदै जाला । मैले अनुसन्धान हुनु हुँदैन भनेको छैन । म सुशासनको पक्षपाती हुँ । तर, मैमाथि यो किसिमको आरोप लागेको छ । यसको कानुनी उपचार हुन्छ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफ्ना कानुनविद्ले एक हजार पृष्ठको पुराना दस्तावेजहरु अनुसन्धान गरिरहेको जानकारी दिए ।
पार्टी उपाध्यक्ष गङ्गालाल तुलाधरले लोकतन्त्र र संविधानको रक्षा तथा देश र जनताको हितका पक्षमा स्थापना गरिएको पार्टी सुशासन कायम गर्न प्रतिबद्ध रहेको विचार व्यक्त गरे ।
बागमती प्रदेश कमिटी अध्यक्ष भीम दहालको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी सचिव सावित्रा भुसालले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा वकालत गर्दै आएको पार्टीको राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू पार्टीलाई कमजोर बनाउन लागेका आरोप लगाइन ।रासस
प्रतिक्रिया दिनुहोस्