काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल–भारत बीच व्यापार, पारवहन र लगानीलाई तिब्र बनाइ कनेक्टिभीटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्ने बताएकी छन् । नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौंमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा राणाले यस्तो बताएकी हुन् ।
नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताइन् । नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत समृद्धिमा रूपान्तरण गर्ने समय आएको उनले बताइन् ।
नेपाल–भारत सम्बन्ध सभ्यताको शुरुवातमा राखिएका जगहरूमा निर्मित रहेका प्रसंग उल्लेख गर्दै मन्त्री राणाले नागरिकको जीवन साझा मूल्यमान्यता, संस्कृति र भावनामा आधारित रहेकाले उनीहरुबीचको जनसम्पर्क, सहकार्य र कनेक्टिभीटीले नै दुवै देशको समृद्ध भविष्यको रेखा कोर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
नेपाल र भारतले सडक, रेल्वे, जलमार्ग, हवाई मार्ग, डिजिटल पूर्वाधार लगायतमा लगानी गरेर पारस्परिक सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिइन् ।
मन्त्री डा राणाले हाल विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको बताउँदै अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरुलाई साझा रुपमा केन्द्रित गर्नुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया दिनुहोस्