काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदभित्र राजतन्त्रको विषयमा छलफल गर्न नपाइने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान संविधानले गणतन्त्रलाई आत्मसाथ गरेकाले राजतन्त्र नचिन्ने बताउँदै समयको मागसँगै गणतन्त्रको स्थापना भइसकेकाले राजतन्त्रको विषय इतिहासमा सीमित भएको बताए । उनले समयको प्रवाहसँगै विश्वका राजतन्त्रहरु समाप्त भएर गणतन्त्र स्थापना भएको बताए ।
नेपालको इतिहासमा मल्ल, किरात, लिच्छवी वंशलगायतको राजतन्त्र भएको भन्दै अहिले पुन:स्थापनाका लागि किन शाह वंशको कुरा गरेको भन्दै प्रश्न गरे ।
उनले भने, ‘अहिलेको संविधानले राजतन्त्र चिन्दैन, त्यसैले त्यो विषमा संसदभित्र छलफल गर्न पाइँदैन, त्यसले गणतन्त्र मात्रै चिन्छ । राजतन्त्र इतिहासको विषय भइसक्यो । संसारमा धेरै राजतन्त्र इतिहासको विषय हुन्छन् किनभने राजतन्त्र भनेको विशेष अधिकार हो । त्यसैले संसाको राजनीतिको प्रवाह गणतन्त्र हो । नेपालमा गणतन्त्र आउनु पथ्र्यो आयो, अब पुन:स्थापना भन्नेहरुलाई सोधौ न, किन शाह वंशकै राजतन्त्र चाहियो ? यो भन्दा अघिको मल्ल वंश नल्याउने तिनको पनि हक लाग्ला । त्यो भन्दा अगाडिका लिच्छवी र किराँत किन नल्याउने ? त्यो भन्दा अघिका गोपालवंशी र महिशपाल वंशले किन पुन:स्थापनाको कुरा नगर्ने ? कुन राजतन्त्रको कुरा ? संसारको इतिहासमा थुप्रै राजतन्त्र आउँछन् जान्छन् यो समयको प्रवाह हो । गणतन्त्र आजको युगको सत्य हो ।’
सांसद पन्तले उनले जनभावना अनुसार अगाडि बढ्ने व्यवस्था नै लोकतन्त्र भएकाले सरकारले जनताको चासो र भावनालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्