काठमाडौं । पाकिस्तानी हबिब बैंक हिमालयन बैंकबाट बाहिरिने भएको छ । हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेको हो ।
हिमालयन बैंकले आज (शुक्रबार) एक सूचना जारी गर्दै बैंककै संस्थापक सेयरधनीहरुका लागि हबिब बैंकको स्वामित्वमा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता शेयर बिक्रीमा राखेको हो ।
बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११२.८० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा ३ अर्ब १५ करोड ९८ लाख ४ हजार ७२ रुपैयाँ बराबरको सेयर बिक्री गरेर हबिब बैंक बाहिरिने भएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्न सक्नेछन् । इच्छुक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको हेरिटज प्लाजामा रहेको कानुन विभागमा निवेदन दिन सकिने बैंकले जनाएको छ ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्